Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईजीपी ज्ञवालीले दिए सातै प्रदेश प्रहरी प्रमुखलाई निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट भिडियो कन्फ्रेन्सद्वारा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन, शान्ति सुरक्षाको वर्तमान अवस्था एवं समसामयिक विषयमा बुधबार निर्देशन दिनुभयो । साथै उहाँले सबै प्रदेशका प्रमुखहरुसँग उक्त विषय तथा आन्तरिक काम कारवाहीका सम्बन्धमा अन्तरक्रिया समेत गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस ९कोभिड(१९० को कारण सिर्जना भएको विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपङ्तिमा खटिएको प्रहरीको सक्रिय योगदानका कारण अदभूत साहस छ भन्ने सन्देश गएको चर्चा गर्दै त्यसको निरन्तरता हुनुपर्ने बताउनुभयो । यस्तो परिस्थितिमा खटिएका प्रहरी कर्मचारीहरुको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी नेतृत्व अझै संवेदनशील हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी कर्मचारीलाई आवश्यक मास्क र स्यानिटाइजर तथा अग्रपङ्तिमा खटिएका प्रहरीका लागि पिपिई समेतको आवश्यकता अनुसार थप व्यवस्था गरिने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक ज्ञवालीले सीमा क्षेत्रमा थप सक्रियता अपनाउनुपर्नेतर्फ जोड दिँदै जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायहरुसँग समन्वय र सम्बन्धको माध्यमबाट सीमा व्यवस्थापन गर्न प्रदेश प्रमुखहरुलाई निर्देशन दिनुभयो । सम्बन्धित प्रदेशको समस्या र आवतजावत उक्त प्रदेशभित्र नै समाधान गरी अन्तर प्रदेश र अन्तर जिल्लामा आवतजावत पूर्ण रुपमा बन्द गरी अति संवेदनशील एम्बुलेन्स लगायतलाई मात्रै अनुमति दिनतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक ज्ञवालीले समाजमा विभिन्न अपराधहरु घटन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै विषम परिस्थितिको कारण हुन सक्ने अपराध र साम्प्रदायिक दंगा लगायतका घटनाप्रति उच्च संवेनशील भई कार्य गर्न निर्देशन दिनुभयो । बाढी, पहिरो, हावाहुरी, खडेरी लगायतका प्राकृतिक प्रकोपहरु समेत आउन सक्ने मौसम भएकाले त्यसतर्फ समेत प्रहरी जनशक्तिको परिचालन गर्न तयारी अवस्थामा रहनुपर्ने उहाँले बताउनुभयो ।
अन्तरक्रियाको क्रममा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुले आ(आफ्नो प्रदेशको वर्तमान वस्तुस्थिति, शान्ति सुरक्षा एवं प्रहरीका काम कारबाहीका बारेमा जानकारी दिनुभएको थियो ।
भिडियो कन्फ्रेन्सका अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार