Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज उपसभामुख छानिने

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखका लागि आज मतदान हुँदैछ। प्रतिनिधिसभाको दिउँसो १ बजे बस्ने बैठकमा उपसभामुख चयन गर्न मतदान हुन लागेको हो। बैठकमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव निणयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको उपसभामुखका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। सत्ता साझेदार दलहरूका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको उम्मेदवारी दर्ता भएको हो। सत्तारुढ दलको समर्थन रहेको रानामगरको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्गदेन छन्।
मुक्तालाई सरकार बाहिरका दलहरूको समर्थन छ। उनको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे र समर्थकहरूमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा प्रतिस्पर्धा गरेको छ। यसअघि कांग्रेसले सभामुखमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाएको थियो। तर, सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका थिए। प्रतिनिधिसभामा उपस्थित भएका २६८ मध्ये १६७ मत उनको पक्षमा, १०० मत विपक्षमा खसेको थियो भने एक जनाले तटस्थ बसेका थिए।
सत्ता साझेदार दलहरूबीच भएको भागबन्डामा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको थियो। सरकारमा सामेल दलहरूबीच भएको समझदारीअनुसार उपसभामुखमा रानामगर निर्वाचित हुने लगभग निश्चित छ।