Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज प्रदेश १ मा नयाँ सरकार गठन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिँदैछन् ।साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ । अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले गठबन्धन एक ढिक्का भए विश्वासको मत पाउदैनन् । ९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् ।
गत भदौं १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर काङ्ग्रेसभित्रको किचलोका कारण बैठक आजसम्मका लागि सरेको थियो । गठबन्धनले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले बताए । मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेकाले गठबन्धनले राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने आइतबार नै निर्णय गरिसकेको छ ।
आचार्यले विश्वासको मत नपाए वा राजीनामा दिएको अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गर्नेछन् । आहृवानपछि गठबन्धनले राईको नाम अघि सार्ने निर्णय गरेको थियो । नयाँ सरकार गठनका लागि दाबी गर्न आजै ५० जना सांसदको हस्ताक्षर संकलन गर्ने गठबन्धनको तयारी छ । नेकपा एसका नेता राईले संविधानको धारा १६८(२) अनुसार सरकारमा दाबी गर्न गठबन्धनका सांसदको हस्ताक्षर संकलन गरिने बताए ।
गठबन्धनले आचार्यको विपक्षमा मतदान गर्ने र मुख्यमन्त्रीको रुपमा राईलाई अघि सार्ने निर्णय गरे पनि सरकारमा सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा छलफल गरेको छैन । नयाँ सरकार गठनको प्रकृया सुरु भएपछि मन्त्रालय बाडफाडका विषयमा छलफल हुने नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
विश्वासको मत नपाउने अवस्था आएपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने सम्भावना छ । नेकपा एमालेका एक सांसदका अनुसार बैठकअघि वा बैठकबाटै राजीनामा दिने सम्भावना छ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पनि अन्तिम समयमा राजीनामा दिएपछि मत विभाजन भएको थिएन ।
प्रदेश १ मा पनि विश्वासको मत पाउने सम्भावना नरहेकाले राजीनामा आउने सम्भावना रहेको ती नेताको भनाइ छ । मुख्यमन्त्रीका निजी सचिव अनिल राज धामीले भने राजीनामा दिने विषयमा जानकारी नभएको बताए । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने बताए । मुख्यमन्त्रीले विश्वासको मत पाउने बताउँदै उनले नपाएको अवस्थामा राजीनामा विकल्प रहेको बताए ।