Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजदेखि निषेधाज्ञा थप कडा, एम्बुलेन्समा विरामी र कुरुवा मात्रै

काठमाण्डौ । निषेधाज्ञा गरेको हप्ता दिन बितिसक्दा पनि संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको बेला सरकारले आजदेखि निषेधाज्ञालाई थप कडा बनाउने भएको छ । प्रशासनले फेरी एक हप्ताका लागि थप गरेको छ । पहिलो हप्ताको तुलनामा थपिएको हप्तामा निषेधाज्ञा कडाईका साथ कार्यान्वयन गर्नुपर्ने छ । निषेधाज्ञा पालना प्रभावकारी नभए कफ्र्यूसमेत लगाउने चेतावनी दिइएको छ । पहिलो पटकको निषेधाज्ञामा खाद्यान्न लगायत अत्यावश्यक सामग्री खरीद बिक्रीका लागि बिहान र बेलुका समय तोकेर खुला गरिएको थियो । तर अब बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । फुटपाथ तथा खुला ठाउँमा तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार व्यवसाय एवं कवाडी सङ्कलनमा भने रोक लगाइएको छ । उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपमा १० दिनको क्वारेन्टिनमा राख्ने प्रतिबद्धता सहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिईने छ । सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकूद सञ्चालन गर्न पाइने छैन । यस्तै मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रमसमेत सञ्चालन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पराजुलीले बताए । त्यसै गरी यस अवधिभर सर्वसाधारणले औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन । अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने छ । अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्न जारी गरीएको आदेशमा भनिएको छ । सार्वजनिक एवं निजी सवारी साधन वैशाख २९ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन उपत्यका प्रवेशमा रोक लगाइएको छ । अवस्था बिकराल बन्दै जाँदा कफ्र्युसम्म लगाउनुपर्ने अवस्था आउन सक्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । विवाह व्रतबन्धका हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्नेगरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्रै आवतजावत गर्न पाइने छ । नित्य पूजाबाहेक सबै धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालन गर्न पाइने छैन । पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गरिने जनाइएको छ । सूचना विभागको प्रेस पास नभएका अवस्थामा सञ्चारगृहले न्यूनतम कर्मचारी मात्र खटाउने र सोको विवरण जिप्रकामा उपलब्ध गराउने गरी कडाइ गरिएको छ । अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, बीमालगायत कार्यालयले एक चौथाइ कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ । सरकारी कार्यालयका हकमा मन्त्रालयका सचिव वा विभागीय प्रमुखद्वारा जारी गरिएको पास र परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ । सार्वजनिक संस्थाका हकमा सम्बन्धित प्रमुखले जारी गरेको पास र परिचयपत्र अनिवार्य हुनुपर्ने छ । बैँक तथा वित्तीय संस्थाका हकमा काठमाडौँ उपत्यकामा २५ प्रतिशत शाखा कार्यालय मात्र खुला गर्ने र केन्द्रीय कार्यालयले २० प्रतिशतमात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने छ । अन्तराष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, राहदानी र प्रवेशाज्ञा हुनेलाई सीधै विमानस्थल जाने सवारी साधनका हकमा सहजीकरण गरिने छ । औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा सञ्चालन गर्न पाइने छ ।


सम्बन्धित समाचार