Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
० भीम मगर, बरिष्ठ संगीतकर्मी
गायक तथा संगीतकार भीम मगर नेपाली संगीतको त्यो सशक्त नाम हुन्, जसले केवल लोकप्रियता कमाएका छैनन्, बरु नेपाली संस्कृति, परम्परा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्वपूर्ण योगदान पनि पु¥याएका छन् । आत्मा स्पर्श गर्ने स्वरका धनी मगर विगत चार दशकभन्दा बढी समयदेखि नेपाली लोक–आधुनिक संगीतमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ । उहाँका गीतहरूमा नेपाली समाजको भाव, मायाको मिठास र परम्पराको सुगन्ध पाइन्छ । पुर्वी नेपालको झापा दुधे स्थाई घर भएका भीम मगरले नेपाली बाहेक नेवारी, मगर, खाम मगर, तामाङ, अंग्रेजि (अनुवाद) लगायतका भाषाका गीतमा संगीत सिर्जना गरिसक्नु भएको छ । २०५३ सालमा ‘मैना चरिलाई’ बोलको गीत रेडियो नेपालमा रेकर्ड गरानु भएका उहाँले जड्ज्मेन्ट भएर थाइल्याण्ड लगायतका देशको सांगीतिक भ्रमण गर्नुका साथै एकल शो कार्यक्रमहरु पनि गर्नु भएको छ । नेपाली संगीतको वर्तमान अवस्था, भावी दिशा र व्यक्तिगत सांगीतिक यात्राबारे ताजाखबर साप्ताहिकका लागि कुशल संगीतकर्मी भीम मगरसंग गरेको कुराकानीः
० तपाईंको सुरुवाती प्रेरणा के थियो नेपाली संगीतमा लाग्न ?
संगीत मेरो आत्मा हो । सानैदेखि स्कुलका कार्यक्रममा गीत गाउने गर्थें । गाउँले परिवेश, लोकधुन र नेपाली शब्दको सौन्दर्यले मलाई मोहित बनायो । म यही सौन्दर्यलाई जगेर्ना गर्दै अगाडि बढ्न चाहन्थें ।
० तपाईंको गीतले नेपाली पहिचान, संस्कृति र परम्परा कति प्रतिनिधित्व गर्छ ?
मेरो गीतहरू केवल प्रेमको कथा होइनन्, ती नेपाली भूगोल, भेष–भूषा, भाषा, रीतिरिवाज र चाडपर्वको प्रस्तुति हुन् । म गीतमार्फत नेपाली संस्कृति विश्वभर पु¥याउन चाहन्छु । जुन मेरा बिभिन्न भाषा भाषिकाका सिर्जनाहरुले प्रष्ट्याउछ ।
० तपाईंका लागि ‘नेपाली गीत’ को परिभाषा के हो ?
नेपाली गीत भनेको मेरो दृष्टिमा आत्माको स्वर हो । जुन केवल कानले सुन्ने कुरा होइन, आत्माले महसुस गर्ने अनुभूति हो । नेपाली गीतहरू हाम्रो भाषा, भेषभूषा, रीतिरिवाज र भावनाको दर्पण हुन् । वास्तवमा, नेपाली गीत भनेको हाम्रो इतिहास, संस्कृति र चेतनाको जीवित संग्रहालय हो । जसले हामीलाई आफूलाई चिनाउने माध्यम दिन्छ र विश्व सामु हाम्रो अस्तित्वको परिचय गराउँछ ।
० सुन्ने भन्दा पनि हेर्ने गीतको माग बढ्दो छ यसलाई कसरी लिनु हुन्छ ?
सुनिने गीत कहिल्यै मर्दैन । भिडियो त समयअनुसारको माध्यम हो । तर शब्द र धुनले जो भाव स्पर्श गर्छ, त्यो स्थायी हुन्छ । म विश्वास गर्छु – सुगन्धित फूल जस्तै, राम्रो संगीत सधैं फैलिन्छ । म आफै पनि संगीत प्रशिक्षकको रुपमा बिगत देखि नै क्रियाशिल भएको नाताले शब्द र संगीतको बारेमा धेरथोर जानकार हुनु स्वभाविक ठान्छु ।
० यो क्षेत्रमा आउन चाहने नयाँ पुस्ताका लागि के भन्न चाहनु हुन्छ ?
संगीतमा रहनु, रमाउनु, तर जरा नबिर्सनु । हामी आधुनिक हुनुपर्छ, तर मौलिकतालाई बिर्सनु हुँदैन । नयाँ पुस्ताले नेपाली गीतलाई मात्र गाउन होइन, बोक्न पनि सिक्नुपर्छ भन्ने लाग्छ।
० गीतमा नेपालीपन कत्तिको महत्वपूर्ण हुन्छ ?
नेपालीपन मेरो गीतको आत्मा हो । चाहे लय होस्, शब्द होस् वा दृश्य संयोजन । म सधैं प्रयास गर्छु कि प्रत्येक पंक्तिमा, प्रत्येक धुनमा र प्रत्येक भावमा नेपालको गन्ध बसोस् ।
० गीतसंगीतमा मौलिकता कत्तिको आवश्यक छ ?
नेपाली भेषभूषा, भाषा, संस्कृति र जीवनशैलीलाई समेट्नु मेरो प्राथमिकता हो, किनभने त्यही नै हाम्रो मौलिकता र पहिचान हो । नेपाली संगीतलाई अन्तर्राष्ट्रिय मञ्चमा पु¥याउँदा त्यसमा नेपालीपन नबसाल्ने हो भने त्यो केवल धुन मात्र हुन्छ, आत्मा रहित । त्यसैले, म गीतमार्फत नेपाल देखाउन चाहन्छु, केवल सुनाउन होइन ।
० तपाईंले पाउनु भएका प्रमुख सम्मान के–के हुन् ?
नेपाली संगीतमा समर्पित मेरो यात्रालाई विभिन्न सम्मानहरूले थप ऊर्जा र प्रेरणा प्रदान गरेका छन् । चार दशकको यात्रामा अवार्ड र सम्मान नपाउने कुरै भएन । यी सम्मानहरू मेरो मेहनत, समर्पण र नेपाली गीतसंगीतप्रतिको प्रेमको कदरका प्रतिक हुन् ।
० यो क्षेत्रमा लागेर के पाउनु भो ?
संगीतले मलाई नयाँ जीवन दियो । नयाँ पहिचान दियो । अन्य पेसामा लागेको भए यति खुसी नहुन पनि सक्थेँ । अहिले म आफ्नो पहिचानमा खुसी छु । संगीत क्षेत्रमा चुनौती नभएको हैन, तर धैर्य गर्न सक्ने र मेहनत गर्यो भने सफलता प्राप्त गर्न सकिन्छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल