Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारको सूची आधिकारिक होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन्। उनले त्यस्ता सूचीलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान प्रक्रिया सुरु भएको उल्लेख गरेका छन्।

मतदान एक दिन ढिलो हुँदा महाधिवेशन प्रतिनिधिमा परेको असुविधाप्रति उनले क्षमासमेत मागेका छन्।

‘यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन,’ थापाले लेखेका छन्।

उनले आफ्नो नाम जोडेर प्रचार गरिएका कुनै पनि उम्मेदवारको सूचीका आधारमा भ्रममा नपर्न र अफवाहमा नलाग्न आग्रह गरेका छन्। प्रतिनिधिहरूले आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्नुपर्ने उनको भनाइ छ।

पार्टीको सर्वोपरि हितलाई ध्यानमा राखेर प्रतिनिधिहरूले गर्ने विवेकपूर्ण निर्णयले नेपाली कांग्रेसको संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत थापाले व्यक्त गरेका छन्।