Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नो मौलिक कला–संस्कृतिलाई महत्व दिनुपर्छ

  • रुपक डोटेल, गायक

एकपछि अर्को स्रोता रुचिको गीतसङ्गीत पस्कदै आइरहेका गायक रुपक डोटेल केही नयाँ सांगीतिक कोशेली सार्वजनिक गर्ने तयारीमा छन् । जसमा हिन्दी भाषाको गीत पनि रहेको छ । पहिलो रियालिटी शो नेपाली ताराका सेकेण्ड रनअप रुपक डोटेलको ‘सपनी राम्रो देखिन’ बोलको पहिलो गीत नै अत्यधिक सफल मानिएको थियो । नेशनल अवार्ड २०७६ क्षेत्रीय प्रतिभा, कान्तिपुर नेशनल अवार्ड २०७६, कालिका म्युजिक अवार्ड २०६७, बिन्दवासीनी म्युजिक अवार्ड २०७६ बाट सम्मानित गायक रुपक डोटेलले त्रिभुवन विश्व विद्यालयबाट सङ्गीत विषयमा बिए सम्मको अध्यान गरेका छन् । चापाकोट स्याङ्जाका स्थानीय वासिन्दा डोटेलको सांगीतिक यात्रा भने ०६१,०६२ बाट सुरु भएको हो । मिठो स्वरका धनि साँगीतिक क्षेत्रका लागि आशा लाग्दो गायक रुपक डोटेलले ताजाखबर साप्ताहिकको लागि बद्री अधिकारीसँग गरेको कुराकानीः

० श्रोता, दर्शकहरूको लागि नयाँ केही ल्याउदै हुनुहुन्छ कि ?
– हजुर अब बिभिन्न सांगीतिक प्रस्तुतिहरू धमाधम रेकर्ड भइरहेका छन् र बजारमा ल्याउने कोशिस गर्दैछु । त्यसमा बिभिन्न कलेक्शन गीतहरू तथा शोलो एल्बमको पनि तयारी हुँदैछ जसमा बिवि थापा दाईको शब्द र मनोज चौलागाईंको सङ्गीत, एरेन्जर रहने छ । आलोकश्रीसँगको सहकार्यमा पनि केही प्रस्तुति आउदैछन् भने भर्खरै हिन्दी भाषाको पनि गीत रेकर्ड भएको छ । जसमा राजेन्द्र बजगाईको सङ्गीत, समिर खनालको शब्द रहेको छ । महेश ज्ञवाली तथा बरिष्ठ सङ्गीतकार शक्तिवल्लभ ज्युसंग पनि बिभिन्न सहकार्य भैरहेको छ ।

० अडियो क्यासेटको बिक्री नभएपनि गीत रेकर्डिङमा कमि नहुनुको कारण ?
– पक्कै पनि यो एउटा यस्तो बिषय हो जुन काम पैसा आर्जनमात्र नभई आत्मसन्तुष्टिको लागि पनि गरिन्छ । र, अर्को बुझ्नु पर्ने कुरा क्यासेटको प्रत्यक्ष बिक्री घटे पनि अन्य माध्यमको बिकाससँगै पोटलबाट आयआर्जन हुने क्रमले पनि क्यासेटको बिक्री बितरण पुरै ठप्प भएको अवस्था हो । यो नितान्त टेक्नोलोजिको विकाश क्रमको नतिजाले हो भन्नुपर्छ ।

० सुन्ने भन्दा पनि हेर्ने गीतको प्रचलनलाई कसरी लिनु भएको छ ?
– खास गीत त सुन्ने नै हो, सबैको आ–आफ्नो सोच हुन्छ र त्यही अनुसार गीतको आनन्द लिने हो । तर समयले बिभिन्न सुबिधाको बिकास गर्देको भएकोले आजकल सुन्ने र हेर्ने बराबर भएको छ । यो प्रचलन अनिवार्य जस्तो छ जसलाई नकार्न सक्ने अवस्था छैन ।

० अहिलेको पुस्ताले नेपाली गीतसङ्गीत भन्दा पनि आयातित गीतसङ्गीत रुचाउनुको कारण ?
– अहिले विश्व बजार प्रबिधिको बिकाससंगै साँघुरिदै गएको छ । यसले गर्दा जसले जुन देशको भाषाको सङ्गीत सरल तरिकाले सुन्न, हेर्न सक्छ भन्ने ब्यक्तिगत रुचि अनुसार मानिसले सङ्गीत बिभिन्न ठाउँको सुन्ने भयो । यो नराम्रो कुरा भने पक्कै होइन तर हामीले आफ्नो मौलिक संस्कृति, आफ्नो कला साहित्यलाई भने अग्रपंतिमा महत्व दिनुपर्छ । अनिमात्र यो समस्याको समाधान होला जस्तो लाग्छ ।

० रियालिटी शोबाट आउनु भएको गायक ति दिनलाई कसरी सम्झनु हुन्छ ?
– ति दिन भनेको मेरो लागि ठुलो अवसर हो । कसरी संगीतिक क्षेत्रमा प्रवेश गर्ने भनेर तरिका खोजिरहेको बेला थियो र नेपाली ताराले सांगीतिक क्षेत्रमा प्रवेश गर्ने ढोका खोलिदियो । खासमा रियालिटी शोको महत्व त्यति थाहा थिएन जब हामी वा प्रतिस्पर्धी छोटो समयमा नै धेरै उचाई दिने माध्यम बन्न पुग्यो अनिमात्र यसको महत्व थाहा भयो ।

० कोभिड कहर पछिको गीतसङ्गीतको अवस्था कस्तो छ ?
– केही समय अत्यन्त कष्टकर सबै क्षेत्रमा भयो नै तर बिस्तारै समयले फेरी पहिलाको गति समात्ने कोसिस गर्दैछ र सङ्गीत क्षेत्रमा पनि केही रेकर्डिङ र कन्सटहरू अब विस्तारै बढ्ने छ र काम गर्ने वातावरण राम्रो बन्दैछ भनेर बुझ्न सकिन्छ ।

० रोयल्टी लगायतका कुरा उठिरहँदा सर्जकले आफ्नो सिर्जनाको मुल्य पाउदैनन् भन्ने गुनासो प्रति तपाईको धारणा के छ ?
– एउटा कला, साहित्यमा लागेका स्रष्टा, सर्जजले पाउनु पर्ने अधिकार सिष्टमबाट पाउनु पर्ने हो । सम्बन्धित निकाय रोयल्टी समाज अब पहिला भन्दा अलि सचेत भने देखिदैगएको छ । निकट भविष्यमा रोयल्टीमा पारदर्शिता र स्रष्टा सर्जकको उचित सम्मान हुन्छ भन्ने कुरामा केही भरोसा राख्न सकिन्छ ।

० गायन बाहेक अरु के गर्नु हुन्छ ?
– गायन बाहेक अन्य कुरामा मेरो संलग्नता छैन । गायनले नै मेरो यो यात्रा सहजसरल छ र बाँकी जीवन पनि सङ्गीत, गायनमा नै बित्नेछ । मैले बुझेको जीवनको सबभन्दा महत्वपुर्ण पक्ष भनेको सन्तुष्टि हो र आफुलाई जेबाट प्राप्त हुन्छ त्यही आफ्नो तन,मन हुन्छ भन्ने मलाई बोध छ ।

० गीतसङ्गीतको पछिल्लो अवस्थाको बारेमा के भन्नुहुन्छ ?
– गीत, सङ्गीतको बजार राम्रै गतिमा अगाडि बढेको छ । यो खुशीको कुरा हो । गीत–सङ्गीतको बजार पनि ब्यवसायिकतामा बढ्दैछ । त्यसैले गर्दा क्वालिटी स्तरको गीत–सङ्गीत हामीले ग्रहण गरिरहेका छौ टेक्निकली रुपले पनि गीत–सङ्गीतको भविष्य राम्रो छ मिहेनती र लगनशील कलाकारको लागि ।