Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आम दर्शक रुचिको सिनेमा बन्नु पर्छ

ध्रुब न्यौपाने, अभिनेता तथा निर्माता
धनराशी खर्चेरमात्र हुँदैन । निर्देशक, कलाकार प्राबिधिकको टिमवर्कको एकआपसको सहयोगले मात्र एउटा सफल चलचित्र बन्न सक्छ । युनिटलाई आफ्नो अण्डरमा राखेर काम गर्न सक्ने क्षमतावन निर्देशक र केमा कति खर्च गर्ने भन्ने बुझेका निर्माता भयो भने चलचित्रमा लगानी बालुवामा पानी हुदैन भन्ने बुझेका युवा निर्माता हुन् ध्रुब न्यौपाने । हुन त उनि कलाकारको रूपमा सिने क्षेत्रमा प्रवेश गरेका भएपनि पछिल्लो समय सिनेमा निर्माणमा सकृय छन् । उनको टिमले निर्माण गरेको सिनेमा ‘नरसिंहा अवतार’ जेठ ९ गतेबाट प्रदर्शनमा आउँदैछ । मान्छेका आ–आफ्नो सोच चिन्तन र कार्यशैली हुन्छन् । यस्तै फरक चिन्तन र कार्यशैलीका कारण नेपाली सिने क्षेत्रको उचाईलाई अझ समृद्ध बनाउन लागिपरेका निर्माता मध्यका ध्रुब न्यौपाने अन्तर्राष्ट्रिय लेवलको सिनेमा निर्माणको तयारीमा छन् । जसको लागि उनले एउटा व्यवस्थित प्रोडक्शन हाउस सञ्चालनमा ल्याउँदैछन् । तीन दर्जन भन्दा बढी म्युजिक भिडियो र आधा दर्जन फिर्चस फिल्ममा काम गरेका न्यौपानेले यो भन्दा पहिले चलचित्र ‘हिरो रिर्टन्स’ र ‘मायावी’ निर्माण, प्रदर्शन गरिसकेका छन् । सफल युवा व्यवसायी, कुशल अभिनेता तथा निर्माता ध्रुब न्यौपानेसंग ताजाखबर साप्ताहिकको लागि गरेको कुराकानीः

० यतिबेलाको समय केमा खर्चिरहनु भएको ?
आम शुभचिन्तक दर्शकहरूलाई ज्ञात भएकै कुरा हो आगामी जेठ ९ गतेबाट बहुप्रतिक्षित सिनेका ‘नरसिंहा अवतार’ प्रदर्शनमा आउँदैछ । यतिबेला ‘नरसिंह अवतार’ को प्रचार प्रसारमा समय खर्चिरहेको छु । बिहिवार काठमाडौंको सिभिल मलमा एक कार्यक्रमकाबिच सिनेमाको ट्रेलर सार्वजनिक गरौं । ट्रेलरमा एक्सन, थ्रिलर, प्रेम र सस्पेन्सलाई मिश्रित रूपमा प्रस्तुत गरिएको कारण २४ घण्टा पुग्नु भन्दा अगाडी नै सिनेमाको ट्रेलर ट्रेण्डिङको चौथो नम्बरमा पुगेको थियो, बढ्ने क्रम जारी छ ।

० मौसम तातियसंगै नेपाली चलचित्रको व्यापार चिसिएको छ नि ?
बैशाख दोश्रो साताबाट प्रदर्शनमा आएका दुई चलचित्र ‘भूठान’ र ‘खेल’ प्रति दर्शकले चासो देखाएनन् । त्यसपछिका ‘झिल्को’ पनि उस्तै भो । ‘ऊनको स्वीटर’ र ‘जार’ प्रतिस्पर्धामा उत्रियो, अब ‘नरसिंहा अवतार’ मैदानमा उत्रिदैछ । ‘नरसिंहा अवतार’बाट महानायक राजेश हमाल आठ वर्षपछि नेपाली चलचित्र क्षेत्रमा कमब्याक हुनुभएको कारणले पनि प्रतिफल सकारात्मक हुने अपेक्षा गरेका छौं ।

० चलचित्रमा लगानी बलुवामा पानी भन्छन् नि ?
कतिपयले वुझेर होस् या कतिपयले नवुझेरै होस्, यो क्षेत्रमा करोडौ लगानी गरिरहेका छन् । बर्षमा निर्माण हुने सय बढी चलचित्रमा सबै चलचित्र प्रदर्शनमा आउँदैनन भने कतिपय चलचित्र त हलमा लागेको दर्शकले पत्तो समेत पाउँदैनन् । एक वर्षमा मुश्किलले आधी दर्जन चलचित्रले आफ्नो लगानी सुरक्षित गर्दछन् । बालुवामा केको बिज रोप्दैछौं र कति पानी हाल्नु पर्ने हो भन्ने कुराको अनुभव हुनु जरुरी छ । भनाईको तात्पर्य कलाकारको चयन, बिषयवस्तु छनौट र लोकेशनको अवस्ता मुताबिक लगानी गर्नु पर्छ । यसो भयो भने थोरै लगानीमा धेरै मुनाफा लिन सकिन्छ भन्ने मेरो बुझाईछ ।

० चल्तिका कलाकारले आफुखुशी डिमाण्ड गर्दा सिनेमाको बजेट बढ्यो भन्छन् नि ?
चल्तिका कलाकार या स्टारडम् जे भने पनि सिमित कलाकारमा घेरिएको नेपाली चलचित्र उनीहरूकै वरिपरी घुमेको छ । नयाँ कलाकारमा निर्माताले लगानीको जोखिम उठाउन चाहँदैनन् । चलेका भनिएका कलाकारको मुल्य महंगो हुँदा निर्माण खर्च त बढ्ने नै भयो ।

० डिजिटल प्लेटफर्म सिनेमा हलको प्रतिस्पर्धी हो ?
डिजिटल प्लेटफर्म सिनेमा हलका प्रतिस्पर्धी होइन । सिनेमा हल र डिजिटल प्लेटफर्म फरकफरक कुरा हुन् । ठूलो मात्रामा डिजिटल प्लेटफर्म निर्माण भएपनि हलको विजनेसलाई त्यसले खासै असर गर्दैन । किनकी हलमा चलचित्र हेर्दा जुन आनन्द आउँछ त्यो डिजिटल एपमा हेर्दा नआउँने भएर सिनेपारखीहरू हलमा नै सिनेमा हेर्न रुचाउनुहुन्छ ।

० नेपाली सिनेमा आपसमा जुधाउनुलाई के भन्नु हुन्छ ?
बाहिरी सिनेमासँग प्रतिस्पर्धा गर्न डराउने नेपाली निर्माताहरू आपसमा भने सधैँ भिड्न तयार हुन्छन् । अझ लामो बिदा र चाडपर्व पर्नुपर्छ, दुई–तीन वटै नेपाली सिनेमा आपसमा भिड्ने गर्दछन् । यस्तो परिपाटीको अन्त्य हुनुपर्छ जस्तो लाग्छ ।

० चलचित्रले उठाउँने बिषयबस्तुमा तपाईको धारणा के छ ?
अहिले बिषयवस्तु छनौटमा भिन्नता आएको छ । एक्शन, व्दन्द, मायाँप्रेम र हाँस्य पक्षमात्र चलचित्रको सवल पक्ष होईन चलचित्रले समाजमा के सन्देश दिंदैछ भन्ने कुराले महत्व राख्छ । बिगतमा धनिगरिब बिचको अन्तरव्दन्दलाई लिएर चलचित्र बनाउँने परिपाटीको अन्त्य भएको छ । बिषयवस्तु छनौंटमा भिन्नता आएसंगै चलचित्र निर्माणका मानवीय वा प्राविधिक पक्ष जस्तै— निर्माता, निर्देशक, लेखक, पात्र, कथावस्तु, संवाद आदि सबै पक्ष सुष्मरूपले बुझेर काम हुन थालेको छ । लगानीकर्ता पनि बुझेरमात्र चलचित्रमा खर्च गर्न थालेका छन् । बिगतको तुलनामा अहिले राम्रै देख्छु म त ।

० प्रोडक्शन हाउस सञ्चालनमा ल्याउने कुरा थियो नि के हुँदैछ ?
सिनेमा निर्माणमा आवश्यक पर्ने सम्पूर्ण इकुमेन्ट एउटै प्रोडक्शन हाउसबाट उपलब्ध गराउने उव्देश्यले उच्चकोटिको प्रोडक्सन हाउस सञ्चालनमा ल्याउने अन्तिम तयारीमा छौं ।

० अन्त्यमा के भन्न चाहनु हुन्छ ?
आगामी जेठ ९ गतेबाट देशभर ‘नरसिंहा अवतार’ प्रदर्शनमा आउदैछ । आफुलाई सहज हुने सिनेमा हलमा गएर सपरिवार ‘नरसिंहा अवतार’ हेरिदिनु भई राम्रो नराम्रो जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनु होला भन्न चाहन्छु ।


सम्बन्धित समाचार