Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आयल निगमले आजदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने

काठमाडौं। नेपाल आयल निगमले आइतबारदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गर्ने भएको छ। निगमका एक कर्मचारीका अनुसार आज आइतबार भारतबाट आउने नयाँ मूल्यको आधारमा स्वचालित मूल्य लागु हुने जानकारी दिए।
‘हामीले त्यही अनुसार तयारी गरिरहेका छौं। भारतबाट आज नयाँ मूल्यसूची आउँदै छ। त्यसमा मूल्य घटेर आए मूल्य स्वत घट्छ भने बढेर आएको खण्डमा बढ्छ,’ ती कर्मचारीले भने।
उनका अनुसार पूर्ण स्वचालित मूल्य प्रणाली लागु गर्दा आयल निगमको प्रशासनिक खर्च, पूर्वाधारका लागि निश्चित प्रतिशत रकम राखेर भारतबाट मूल्य घटेर आउँदा त्यसको लाभ उपभोक्ताले नै पाउने गरी मूल्य घटाउने र मूल्य बढ्दा पनि त्यसको भार उपभोक्ताले नै बेहोर्नेगरी मूल्य बढाउने व्यवस्था हुन्छ।
यसमा निगमले आफ्नो ३० अर्ब बक्यौता उठाउन बाँकी रहेकाले ३ प्रतिशत नाफा राख्ने उनले जनाए । तर यो नाफा एलपी ग्यासमा भने नराखिने उनले जनाए।
पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०७९ अनुसार यसरी स्वचालित मूल्य लागु गर्न लागिएको हो। यस विषयमा कसरी गर्ने भन्ने लगायतका कुराहरुमा निगम संचालक र निगमका कार्यकारी निर्देशक उमेश थानी लगायत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधिहरुले प्रधानमन्त्रीसँग समेत छलफल गरेका थिए। त्यसपछि प्रधानमन्त्री प्रचण्डले लागु गर्न ग्रिन सिग्नल दिएपछि निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य आइतबारबाटै लागु गर्ने तयारीमा निगम पुगेको ती कर्मचारीले जनाएका छन् ।
बजार व्यवस्थापन विभागका नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइतले भारतबाट पेट्रोलियम पदार्थको मूल्यका आधारमा यहाँ निर्धारण हुने जनाए । उनले आइतबारबाटै स्वचालित मूल्य लागु हुने जनाए। ‘यसमा अबदेखि २० रुपैयाँ बढेर आउँछ भने २० रुपैयाँ नै बढ्छ। २० रुपैयाँ घटेर आउँछ भने २० रुपैयाँ नै घट्छ,’ उनले भने।
चौतर्फी रुपमा स्वचालित मूल्य कायम गर्न दबाब आएपछि यस्तो गर्न लागिएको उनी जनाउँछन्। अबदेखि निगमले मूल्य निर्धारण गर्ने भन्दा भारतबाट आउने नयाँ मूल्यसूचीले नेपालको पेट्रोलियम पदार्थमा मूल्य कायम गर्न निर्भर हुने उनले बताए। केहि महिना अगाडिको जस्तो अब भने निगमले घाटा खाएर पेट्रोलियम पदार्थको मूल्य निर्धारण नहुने उनको भनाइ छ।
यसैवीच, स्वचालित मूल्य कार्यान्वयनमा आएपछि निगमको नाफा घट्नेछ। निगमले केही दिन अगाडि मूल्य घटाउँदा १५ दिनमा १ अर्ब १० करोड रुपैयाँ नाफा थियो।
तर, स्वचालित मूल्य कार्यान्वयनमा आउनेवित्तिकै यो नाफा आधा घट्ने निगमका एक कर्मचारीले जनाए । निगमले ढुवानी भाडाका आधारमा पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो। उक्त समय निगमले तीन वर्गमा विभाजन गरेर मूल्य घटाएको थियो।
उक्त वर्ग अनुसार पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँदेखि ७ रुपैयाँसम्म घटाएको थियो। त्यही अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ठाउँअनुसार प्रतिलिटर १ सय ६७ रूपैयाँ ५० पैसादेखि १ सय ७०, डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ सय ४७ रूपैयाँ ५० पैसादेखि १ सय ५० रूपैयाँसम्म कायम गरिएको थियो।
त्यसैगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ३६ रूपैयाँ, अन्तर्राष्ट्रियतर्फ १.०३५ डलर मूल्य कायम गरिएको छ। खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १८ सय रूपैयाँ छ।
निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई उधारोमा तेल खरिद गरे वापत तिर्नुपर्ने २४ अर्ब बक्यौता केहीदिन अगाडि चुक्ता गरेको थियो। बक्यौता वापतको ब्याज मात्र ४५ करोड रुपैयाँ निगमले आईओसीलाई बुझाएको थियो।
यस्तै तेल खरिद गर्न राष्ट्रिय वाणिज्य बैंकसँग निगमको टेकुमा रहेको जग्गा राखेर लिएको ३ अर्ब रुपैयाँ ऋण पनि निगमले चुक्ता गरिसकेको छ।
यसैगरी, अर्को सरकारसँग लिएको ७ अर्ब रुपैयाँ ऋणको पनि हालसम्म ७० करोड रुपैयाँ पहिलो किस्ता वापत बुझाएको छ। निगमले सरकारसँग लिएको ऋण वर्षको २ किस्ता गरेर तिर्ने गरेको उनको भनाइ छ। जसमा पहिलो किस्ता वापत गत मंसिरमा ७० करोड रुपैयाँ तिरेर ६ अर्ब ३० करोड रुपैयाँ हुन आएको उनले जानकारी दिए।
यस्तै यही असारमसान्तसम्ममा सरकारलाई निगमले ३ अर्ब ३० करोड बुझाउने तयारी गरेको निगमले जनाएको छ।


सम्बन्धित समाचार