Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आर्थिक मन्दी, सुध्रिएको सरकारी दाबी झुट

काठमाडौँ । प्रधानमन्त्री देखी सरकारका जिम्मेवार मन्त्री र अधिकारीहरूले नेपालको अर्थतन्त्रले सही दिशा समातेको रटान लगाइरहेका बेला केन्द्रीय तथ्याङ्क विभागले त्यस्तो दलिल असत्य रहेको जनाएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको कुल गार्हस्थ्य उत्पादन जिडिपी को प्रतिवेदनले अर्थतन्त्र मन्दीमा गएको औँल्याए सँगै यसअघिको सरकारी दाबी झुट साबित भएको हो । सो प्रतिवेदन अनुसार पछिल्लो तीन त्रैमासमा लगातार मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक छ ।

यसरी लगातार आर्थिक वृद्धिदर ऋणात्मक भएको अवस्था नै आर्थिक मन्दीको को अवस्था हो । जसलाई सरकारका जिम्मेवार मानिसहरूले स्वीकार गरिरहेका छैनन् । प्रतिवेदनमा लेखिएको छ मौसमी प्रभाव असमायोजित त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १.१ प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसैगरी, मौसमी प्रभाव समायोजित त्रैमासिक कुल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा ०.७ प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान गरिएको छ ।

त्यसैगरी, निर्माण क्षेत्रमा सबैभन्दा कम २०.६ प्रतिशतले उत्पादनमा कमी हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण सामग्रीको आन्तरिक उत्पादन र आयातमा आएको गिरावटका साथसाथै निर्माण क्षेत्रमा भएको शिथिलताले यस क्षेत्रमा नकारात्मक असर परेको देखिन्छ । यसै गरी खानी तथा उत्खनन, व्यापार, यातायात र ‌औद्योगिक उत्पादनमा क्रमशः १६.४, ९.७, ५.५ र ४.३ प्रतिशतले कमी हुने प्रारम्भिक अनुमान गरिएको छ ।

पछिल्ला त्रैमासमा खानी तथा उत्खनन, उद्योग, निर्माण, व्यापार, यातायात तथा गोदामलगायत क्षेत्रको वृद्धिदर ऋणात्मक हुँदा मुलुकको आर्थिक विस्तार पनि ऋणात्मक देखिएको छ  । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ०.७३ प्रतिशतले ऋणात्मक हुने केन्द्रीय तथ्याङ्क विभागको प्रक्षेपण छ ।

प्रतिवेदनका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आर्थिक वृद्धिदर ०.३४ र गत आर्थिक वर्षको चौथो त्रैमासमा ०.२४ प्रतिशत ऋणात्मक थियो । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आर्थिक वृद्धिदर १.७ प्रतिशतले सकारात्मक रहेको प्रतिवेदनमा उल्लेख छ ।

विभागले सार्वजनिक गरेको प्रतिवेदनमा विद्युत्, वित्तीय तथा बीमा सम्बन्धी क्रियाकलापहरू, पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप र सार्वजनिक प्रशासन सेवाको क्षेत्रमा क्रमशः १४.०, ८.० ६.३ र ५.७ प्रतिशतले उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमास र अघिल्लो वर्षको सोही अवधिबिच क्षेत्रगत तुलना गर्दा सबैभन्दा बढी आर्थिक वृद्धिदर आवास र भोजन सेवामा २०.४ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

विद्युत् क्षेत्रको वृद्धिदर ८, वित्तीय तथा बिमासम्बन्धी क्रियाकलापको १४, भोजन तथा आवासको १६, पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप ६.३ र सार्वजनिक प्रशासन सेवाको वृद्धिदर ५.७ प्रतिशतले उत्पादनमा वृद्धि हुने प्रतिवेदनको प्रक्षेपण छ ।

मौसमी प्रभाव समायोजित त्रैमासिक सूचकाङ्कलाई हेर्दा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक साउन, भदौ र असोज भन्दा दोस्रो त्रैमासिक कात्तिक, मङ्सिर र पुस मा २१ प्रकारका उद्योगमध्ये पाँचको उत्पादनमा वृद्धिदर ऋणात्मक हुने र बाँकी उद्योगहरूको उत्पादनमा धनात्मक रहने प्रारम्भिक अनुमान छ, प्रतिवेदनमा भनिएको छ ।

स्वास्थ्य, शिक्षा र कृषिको क्षेत्रमा सुधार आएर क्रमशः २.३, २.२ र १.६ प्रतिशतले उत्पादनमा वृद्धि हुने पनि विभागको अनुमान छ । अर्कोतर्फ सोही अवधिमा खानी तथा उत्खननको क्षेत्रमा सबैभन्दा कम १८.५ प्रतिशतले उत्पादनमा कमी हुने प्रारम्भिक अनुमान छ । त्यसपछि आवास तथा भोजन सेवा, औद्योगिक उत्पादन, निर्माण, व्यापार र यातायातको क्षेत्रमा क्रमशः ६.६, ६.२, ६.१, ४.३ र ४.१ अघिल्लो त्रैमासिकको तुलनामा कमी हुने विभागको अनुमान छ ।