Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ई–पासपोर्ट खरिद प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री आरजु राणासँग बयान लिने तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रक्रियासम्बन्धी अनियमितताको आरोपमा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बयान लिने प्रक्रिया अघि बढाएको छ।

आयोगले बयानका लागि म्याद तामेल गर्न डा. राणाको बूढानीलकण्ठस्थित निवासमा सूचना पठाएको स्रोतले जनाएको छ। हाल डा. राणा उपचारका लागि विदेशमा रहेकाले निवासमा उपस्थित परिवारका प्रतिनिधि तथा स्वकीय सचिवको रोहबरमा म्याद तामेल गरिएको बताइएको छ।

ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसहित केही अधिकारीहरूसँग बयान लिइएको तथा थप व्यक्तिहरूमाथि पनि छानबिन भइरहेको जनाइएको छ।

उजुरीका आधारमा अख्तियारले खरिद प्रक्रियाको प्राविधिक मूल्याङ्कन, ठेक्का व्यवस्थापन तथा निर्णय प्रक्रियासम्बन्धी कागजातहरूको अध्ययन गरिरहेको छ। यस क्रममा सम्बन्धित अधिकारीहरू, प्राविधिक कर्मचारी तथा सरोकारवालासँग बयान लिने कामलाई तीव्र बनाइएको छ।

आयोगका अनुसार ई–पासपोर्ट खरिद प्रक्रियामा सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्था र प्रक्रियाको पालना भए–नभएको विषयमा अनुसन्धान केन्द्रित छ। अनुसन्धानबाट प्राप्त तथ्य तथा प्रमाणका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

उता, डा. आरजु राणा देउवाको सचिवालयले भने अनुसन्धानका विषयमा कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन। अख्तियारले पनि अनुसन्धान जारी रहेकाले यसबारे विस्तृत विवरण सार्वजनिक नगरेको जनाएको छ।

ई–पासपोर्ट खरिद प्रकरण पछिल्लो समय चर्चित भ्रष्टाचार अनुसन्धानमध्ये एक बनेको छ। अख्तियारले यस सम्बन्धमा संकलित प्रमाण तथा बयानका आधारमा आगामी दिनमा थप कानुनी कदम चाल्ने अपेक्षा गरिएको छ।