Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी वातावरण सुधार तथा आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग उच्चस्तरीय छलफल गरेका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउने, उद्योग सञ्चालनलाई सहज बनाउने, लगानीमैत्री वातावरण सिर्जना गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल बढाउने तथा रोजगारी र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत छलफल भएको थियो।
प्रधानमन्त्री शाहले मुलुकको आर्थिक विकास, लगानी विस्तार, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले उद्योग तथा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी र प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे।
छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय विस्तार, लगानी प्रवर्द्धन, नीतिगत स्थायित्व, सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने तथा सरकार र निजी क्षेत्रबीच नियमित एवं परिणाममुखी संवादलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए।
प्रधानमन्त्री शाहले निजी क्षेत्रबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने बताउँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण र सुधारका काम अघि बढाइने जानकारी दिए। आर्थिक सुधार र लगानी प्रवर्द्धनका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, महानिर्देशक डा. घनश्याम ओझा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रालगायतको सहभागिता रहेको थियो।
प्रधानमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच भएको छलफलले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी वातावरण सुधार, सरकार–निजी क्षेत्रबीच सहकार्य सुदृढीकरण तथा निजी क्षेत्रमैत्री नीतिनिर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
२०८३ असार २४
ताजा नेपाल
२०८३ असार २४
ताजा नेपाल
२०८३ असार २४
ताजा नेपाल