Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपेन्द्रलाई ठाउँ दिँदा राजेन्द्र धरापमा

काठमाडौं। गत आइतबार लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे। सरकारमा सहभागी हुने निर्णय गरेको लोसपालाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन आग्रह गरे। त्यसका लागि दुई वटा मन्त्रालय दिन आफू तयार रहेको प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष ठाकुरलाई प्रस्ताव गरे। सो भेटमा सहभागी लोसपाका एक नेताका अनुसार प्रधानमन्त्री देउवाले ठाकुरलाई रक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दिन तयार रहेको बताएका थिए। हाल रक्षा मन्त्रालय प्रधानमन्त्री देउवा आफैंले राखेका छन् भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जसपाका नेता राजेन्द्र श्रेष्ठले सम्हालेका छन्। स्रोतका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवलाई ‘कन्भिन्स’ गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोसपलाई दिने वचन प्रधानमन्त्री देउवालाई दिएका छन्।
लोसपा नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्। ‘उपेन्द्रजीसँग कुरा गरेर सामान्य प्रशासन मन्त्रालय लोसपलाई दिलाउने जिम्मा प्रचण्डजीले लिन्छु भन्नु भएको छ,’ प्रधानमन्त्री देउवाको भनाइ थियो, ‘मैले त्यसको जिम्मा प्रचण्डजीलाई दिएको छु।’ प्रचण्ड जापान भ्रमणमा गएका कारण लोसपा सरकारमा सहभागी हुने विषय अगाडि बढ्न सकेको थिएन। बुधबार प्रचण्ड जापानबाट फर्किए लगत्तै लोसपलाई सरकारमा सहभागी गराउने विषय अगाडि बढ्ने बालुवाटार निकट स्रोतले जनाएका छ।
उपेन्द्र यादवलाई मनाएर सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई मन्त्रीबाट फिर्ता बोलाउने र सामान्य प्रशासन र रक्षा मन्त्रालय दिएर लोसपलाई सरकारमा सहाभागी गराउने योजना प्रधानमन्त्रीको छ। जसपाले यसअघि राजेन्द्र बाहेक सबै पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको थियो। सरकारमा राजेन्द्र श्रेष्ठ जसपाबाट नफेरिएका मन्त्री हुन्। अब लोसपलाई सरकारमा सहभागी गराउन राजेन्द्रलाई राजीनामा गर्न लगाएर सो मन्त्रालय लोसपालाई दिने प्रधानमन्त्रीको तयारी छ।
तर जसपा अध्यक्ष उपेन्द्र यादव भने लोसपालाई सरकारमा गठबन्धनमा सहभागी गराए पनि सरकारमा सहभागी गराउन नहुने पक्षमा छ। आफूबाट विभाजित बनेको दललाई आफू समान हैसियत दिएर सरकारमा सहभागी गराउन यादव चाहँदैनन्। तर यादवबाट बाबुराम भट्टराईसमेत अगल भइसके पछि जसपाको शक्ति क्षीण भएको भन्दै चारवटा मन्त्रालय नदिन प्रधानमन्त्री देउवामाथि दबाव छ। तर देउवा आफैंले भने उपेन्द्र यादवसँग मन्त्रीबाट राजेन्द्र श्रेष्ठलाई हटाउन भन्ने बताएपछि प्रचण्डले उपेन्द्र यादवलाई कन्भिन्स गर्ने जिम्मा आफूले लिने बताएका छन्।
उता लोसपाभित्र भने रक्षा र संघीय मामिला मन्त्रालय लिएर चुनावको मुख सरकारमा सहभागी हुँदा राम्रो काम गर्न नसकिने र त्यसले चुनावमा घाटा हुने भन्दै काम देखिने मन्त्रालय पाएमात्र सरकारमा सहभागी हुनुपर्ने आवाज उठेको छ।