Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । रूपन्देही–३ मा हुन गइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन मार्फत् उम्मेदवार चयन गर्ने निर्णयले आन्तरिक किचलोमा फसेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा थप विवाद उत्पन्न भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा मंगलबार बसेको संसदीय समितिको बैठकले ‘प्राइमरी इलेक्सन’मार्फत् उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने निर्णय गरेपछि राप्रपामा किचलो थपिएको हो । यसअघि रास्वपाले रुपन्देही ३ कै उम्मेदवार चयनमा अभ्यास गरेको प्राइमरी इलेक्सनले राप्रपाभित्रको विवादलाई नयाँ रुप दिएको हो । बैठकपछि राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले उपनिर्वाचनका लागि ‘नवीन राप्रपा कार्ययोजना’ को मोडलअनुसार आन्तरिक प्रारम्भिक निर्वाचनमार्फत् प्रजातान्त्रिक पद्धतिबाट उम्मेदवार छनोट गर्ने निर्णय गरेको बताएका थिए । उनका अनुसार आन्तरिक प्रारम्भिक निर्वाचन यथाशीघ्र गरिने र आवश्यक प्रबन्ध रूपन्देही उपनिर्वाचन परिचालन समितिले गर्ने निर्णय पनि संसदीय समिति बैठकले गरेको थियो । राप्रपाले ‘प्राइमरी इलेक्सन’ मा रूपन्देही–३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सँगै ३ नम्बर क्षेत्रअन्तर्गतका प्रदेशसभा (क) र (ख) कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई मतदाता मानिने भनेको छ । यस्तै क्षेत्रअन्तर्गतका सबै उपमहानगर, नगर, गाउँ पालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य, क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, क्षेत्रबाट प्रतिनिधित्व गर्ने जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू पनि मतदाता रहने छन् । त्यसैगरी रूपन्देही–३ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी, भदौ १७ गतेसम्म कायम रहेका उपनिर्वाचन क्षेत्रभित्रका केन्द्रदेखि जिल्ला तहसम्मका भ्रातृ संगठनका पदाधिकारी तथा सदस्य र भदौ १७ सम्म पार्टीको सक्रिय सदस्य भइसकेकाहरूलाई पनि ‘प्राइमरी इलेक्सन’का मतदाता मानिने निर्णय बैठकले गरेको थियो । तर, उम्मेदवार चयनका लागि ‘प्राइमरी इलेक्सन’ गर्ने संसदीय समितिको निर्णयमा राप्रपाको असनतुष्ट समूह सहमत देखिँदैन । पार्टीभित्र अध्यक्ष लिङ्देनमाथि प्रश्न उठाउँदै आएका महामन्त्री डा। धवलशमशेर राणानिकट मानिने समूहका नेताहरू ‘प्राइमरी इलेक्सन’ को विपक्षमा उभिएका छन् ।
उनीहरू मंगलबार लिङ्देनको अध्यक्षमा बसेको संसदीय समितिको बैठकलाई नै अवैधानिक भनिरहेका छन् । राप्रपाको विधानमा केन्द्रीय कार्यसमितिले तोकेको केन्द्रीय सदस्यको अध्यक्षतामा संसदीय समिति गठनको व्यवस्था गरे पनि अध्यक्ष लिङ्देनले आफ्नै अध्यक्षतामा समिति गठन गरेको उनीहरूको तर्क छ । गत असार २९ गते सम्पन्न राप्रपाको जिल्ला कार्यसम्पादन समिति बैठकले पार्टी केन्द्रीय सदस्य वसन्तविक्रम शाही र स्वाती थापा, जिल्ला अध्यक्ष सागर प्रताप राणा, गौरव बोहरा, प्रज्ज्वल बोहरा र दिलिप मल्लिक गरी ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । जसमध्ये जिल्ला अध्यक्ष राणा र कानुन व्यवसायीसमेत रहेका नेता मल्लिकको नाम उम्मेदवारको सूचीबाट हटिसकेको छ । प्रवक्ता श्रेष्ठले उनीहरू दुवैजना सहमतिअनुसार ‘व्याक’ भएका प्रतिक्रिया दिए ।
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल
२०८२ फाल्गुन २९
ताजा नेपाल