Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीबारे छिनोफानो गर्दै दल

काठमाडौं । अब एमसीसीलाई घुमाउने समय बाँकी छैन । भित्री र बाहिरी कुरा के हो ? वास्तविकता थाहा लाग्ने बेला आएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्न लागेको हो । शुक्रबार प्रतिनिधि सभामा एमसीसी पेश गर्ने तयारी भएकाले साझा धारणा बनाउने प्रयासमा गठबन्धनको बैठक बस्न लागेको हो ।
बुधबारकै संसद बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी थियो । तर दलहरुबीच सहमति कायम हुन नसकेको भन्दै त्यसलाई स्थगित गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेश गर्नुभन्दा अघि गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो । त्यसैले आजको गठबन्धनको बैठक एमसीसीको सम्बन्धमा निर्णायक हुन सक्ने अनुमान छ ।
माओवादी केन्द्रले एमसीसीलाई जबरजस्ती अघि बढाए गठबन्धन तोडिने चेतावनी दिएको छ । माओवादी केन्द्रले हिजो एमसीसीको विरोधमा आफ्ना भ्रातृ संगठनहरुलाई नयाँबानेश्वर क्षेत्रमा सडकमा उतारेको थियो । नेपाली कांग्रेस एमसीसी देशकै हितमा भएको भन्दै यसलाई जस्ताकोतस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा छ । तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संशोधनविना यसलाई संसदमा लैजान नहुने अडानमा छन् । जनता समाजवादी पार्टी जसपाले एमसीसीबारे पार्टीको आधिकारिक धारणा तय गरिसकेको छैन । पार्टी अध्यक्ष उपेन्द्र यादव यस विषयमा मौन देखिएका छन् । यद्यपि संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले भने एमसीसीको पक्षमा आफ्ना धारणा राख्दै आएका छन् ।
सत्ता गठबन्धनको अर्को एक दल राष्ट्रिय जनमोर्चा भने एमसीसी खारेज गर्नुपर्ने पक्षमा छ । सत्ता गठबन्धनको आजको बैठकमा सहमति जुटाएर शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी पेश गर्ने सरकारको तयारी छ ।