Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले सोमबार सुर्खेतबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
स्रोतका अनुसार पक्राउअघि विभागले ललितपुरको भैंसेपाटीस्थित पौडेलको निवासमा छापा मारेर केही कागजात समेत नियन्त्रणमा लिएको थियो। सेयर कारोबार तथा सम्पत्तिको स्रोतसम्बन्धी शंकास्पद गतिविधिमाथि अनुसन्धान भइरहेका बेला उनलाई पक्राउ गरिएको बताइएको छ।
विभाग निकट स्रोतका अनुसार पौडेलमाथि सार्वजनिक पदमा रहँदा विभिन्न व्यापारिक तथा स्वार्थ समूहको हितमा निर्णय गरेको र त्यसबापत प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिएको आशंकामा अनुसन्धान अघि बढाइएको हो। यसअघि अन्य व्यक्तिमाथिको अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा उनको संलग्नताबारे थप प्रमाण संकलन भइरहेको जनाइएको छ।
अनुसन्धानका लागि पक्राउ गरिएका पौडेललाई काठमाडौं ल्याएर हिरासतमा राख्ने तथा मंगलबार म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।
पौडेल पार्टीको संगठन सुदृढीकरण अभियानअन्तर्गत सुर्खेत पुगेका बेला पक्राउ परेका हुन्। सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार विभागबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई स्थानीय एक होटलबाट नियन्त्रणमा लिइएको थियो। त्यसपछि उनलाई नेपालगञ्ज लगिएको र हवाईमार्गबाट काठमाडौं ल्याउने तयारी गरिएको छ।
पौडेल नेपालको राजनीतिक इतिहासमा आठ पटक मन्त्री बनेका वरिष्ठ नेतामध्ये एक हुन्। उनले पाँच पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् भने तीन पटक उपप्रधानमन्त्रीको भूमिकामा पनि रहेका छन्।
२०५३ सालमा युवा, खेलकुद तथा संस्कृति मन्त्रीबाट मन्त्रिपरिषद् यात्रा सुरु गरेका पौडेलले जलस्रोत, रक्षा तथा अर्थ मन्त्रालयको नेतृत्व गरिसकेका छन्। २०७२ सालमा पहिलो पटक अर्थमन्त्री बनेका उनी त्यसपछि विभिन्न समयमा पुनः अर्थमन्त्री तथा उपप्रधानमन्त्री बनेका थिए।
२०३४ सालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय पौडेल एमालेको उच्च नेतृत्वमा लामो समयदेखि प्रभावशाली भूमिकामा छन्। उनी पूर्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका थिए। पछिल्लो समय उनी पार्टी पुनर्गठन र संगठन सुदृढीकरणको अभियानमा सक्रिय थिए।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान जारी रहेकाले विभागले थप विवरण सार्वजनिक गरिसकेको छैन।
२०८३ असार ९
ताजा नेपाल
२०८३ असार ९
ताजा नेपाल
२०८३ असार ९
ताजा नेपाल