Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेभित्र नेतृत्व परिवर्तनकाे दबाव बढ्दाे

काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन, पुस्तान्तरण तथा पार्टीको संगठनात्मक पुनर्संरचनाको माग गर्दै सुरु गरिएको ‘नेकपा (एमाले) रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान–२०८२’ ले आफ्नो गतिविधि देशव्यापी रूपमा विस्तार गरेको छ। अभियानले पार्टीभित्र वैचारिक बहसलाई तीव्र बनाउँदै नेतृत्व तहमा व्यापक सुधारको आवश्यकता औंल्याएको छ।

पार्टीको पछिल्लो निर्वाचन परिणाम, संगठनात्मक अवस्था र नेतृत्व शैलीमाथि समीक्षा गर्दै अभियानले नेता तथा कार्यकर्तामाझ विशेष अपिल जारी गरेको छ। उक्त अपिलमार्फत एमालेले विगतको जनआधार, राजनीतिक प्रभाव र वैचारिक धार गुमाउँदै गएको दाबी गरिएको छ।

अभियानका अभियन्ताहरूले पार्टीले ऐतिहासिक भूमिका निर्वाह गरे पनि पछिल्ला वर्षहरूमा संगठनभित्र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको, निर्णय प्रक्रिया सीमित घेराभित्र केन्द्रित भएको तथा नेतृत्वप्रति प्रश्न उठाउने वातावरण खुम्चिएको आरोप लगाएका छन्। उनीहरूका अनुसार पार्टीभित्र वैचारिक छलफलभन्दा व्यक्तिकेन्द्रित संरचनाले स्थान पाउँदा संगठनात्मक ऊर्जा कमजोर भएको छ।

अपिलमा एमालेका संस्थापक नेता पुष्पलालले देखेको समाजवादी राजनीतिक आन्दोलनको सपना तथा जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ को मूल मर्म कमजोर बन्दै गएको उल्लेख गरिएको छ। पार्टीको वर्तमान अवस्थालाई लिएर गम्भीर समीक्षा आवश्यक रहेको अभियानको निष्कर्ष छ।

अभियानले विशेष गरी पछिल्ला निर्वाचन परिणामलाई नेतृत्वको कार्यसम्पादनसँग जोडेर हेरेको छ। विभिन्न निर्वाचनमा अपेक्षाकृत कमजोर नतिजा आएको, शहरी क्षेत्रमा जनसमर्थन घट्दै गएको तथा युवा पुस्ताको आकर्षण कम भएको भन्दै नेतृत्वले यसको नैतिक जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरिएको छ।

अभियानका अनुसार पुरानो पुस्ताको सक्रियता क्रमशः घट्दै जानु र नयाँ पुस्ता रोजगारी तथा अवसरको खोजीमा विदेश पलायन हुनुले पार्टीको भविष्यलाई चुनौती थपेको छ। युवाहरूलाई नेतृत्व तहमा अवसर नदिइए संगठन थप कमजोर बन्न सक्ने चेतावनी समेत दिइएको छ।

नेतृत्व परिवर्तन पहिलो आवश्यकता

पुनर्जागरण अभियानले पार्टी रूपान्तरणको पहिलो सर्त नै नेतृत्व परिवर्तन भएको दाबी गरेको छ। पार्टीलाई नयाँ ऊर्जा, नयाँ सोच र नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको भन्दै नेतृत्व हस्तान्तरणलाई स्वाभाविक र अपरिहार्य प्रक्रिया मान्नुपर्ने उल्लेख गरिएको छ।

अभियानले कुनै पनि व्यक्ति एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। यसले नेतृत्वमा नयाँ अनुहार र नयाँ विचारको प्रवेश सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।

४० प्रतिशत युवालाई नेतृत्वमा स्थान दिनुपर्ने माग

अभियानले पार्टीका सबै तहका कमिटीहरूमा कम्तीमा ४० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरेको छ। बाँकी ६० प्रतिशत अनुभवी नेताहरू रहने गरी पुस्तागत सन्तुलन कायम गर्नुपर्ने धारणा राखिएको छ।

यस्तै, पार्टी नेतृत्व चयन तथा निर्वाचनका उम्मेदवार छनोट प्रक्रियालाई थप लोकतान्त्रिक बनाउन प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग पनि अभियानले उठाएको छ। यसबाट कार्यकर्ताको मताधिकार बलियो हुने र नेतृत्वप्रति उत्तरदायित्व बढ्ने विश्वास गरिएको छ।

नेतृत्वका लागि शैक्षिक योग्यता र पारदर्शिताको माग

अभियानले नीति निर्माण तहमा रहने नेताहरूका लागि न्यूनतम स्नातक तहको शैक्षिक योग्यता अनिवार्य गर्नुपर्ने प्रस्ताव पनि अघि सारेको छ। आधुनिक राजनीतिक नेतृत्वका लागि शिक्षा, क्षमता र समसामयिक विषयमा ज्ञान आवश्यक हुने तर्क अभियानको छ।

त्यसैगरी नेताहरूको जीवनशैली, सम्पत्ति विवरण र सार्वजनिक व्यवहारमा पारदर्शिता कायम गर्नुपर्ने माग पनि गरिएको छ। जनताले राजनीतिक नेतृत्वमाथि विश्वास गर्न पारदर्शी आचरण अपरिहार्य रहेको अभियानको निष्कर्ष छ।

कार्यकर्तालाई मुख खोल्न आह्वान

अभियानले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई रूपान्तरणको बहसमा सहभागी हुन र आफ्नो धारणा खुला रूपमा राख्न आग्रह गरेको छ। पार्टीलाई पुनः जनमुखी, लोकतान्त्रिक र प्रभावकारी संगठनका रूपमा स्थापित गर्न सामूहिक प्रयास आवश्यक रहेको अभियानका नेताहरूको भनाइ छ।

अभियानले वर्तमान नेतृत्वलाई संकेत गर्दै अहिलेको समय एमालेको भविष्य निर्धारण गर्ने निर्णायक मोड भएको उल्लेख गरेको छ। पार्टीले समयअनुकूल सुधार र नेतृत्व हस्तान्तरणको बाटो रोज्ने वा यथास्थितिमा रहने भन्ने निर्णयले भविष्यमा संगठनको दिशा तय गर्ने अभियानको निष्कर्ष छ।

एमालेभित्र पछिल्लो समय नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र संगठनात्मक सुधारको बहस तीव्र बन्दै गइरहेका बेला पुनर्जागरण अभियानले उठाएका मुद्दाले पार्टीभित्र नयाँ राजनीतिक तरंग सिर्जना गरेको देखिन्छ।