Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमालेमा चौधभाइको बिजोग

पोखरामा ईश्वर र काठमाडौंमा रामवीरको घात
काठमाडौं । नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा एकलौटी गरेको आरोप लगाइएको छ । तर एमालेले ६ महानगर र ११ उपमहानगरमा सत्ता गठबन्धनले जस्तै केन्द्रबाट उम्मेदवार छनेट गरेको थियो । पाँच दलीय गठबन्धन विरुद्ध एमाले ८ टुक्रा टाक्री मिलाएर आफ्नो नेतृत्वमा ९ दलीय मोर्चा बनाएको थियो । स्थानअनुसार गणतन्त्र र संघीयता विरोधी राप्रपा, राप्रपा नेपालदेखि नेपालबाट देश टुक्य्राउने एजेन्डामा रमाएका महन्त ठाकुर र सिके राउतसम्मलाई एमालेले चुनावी गठबन्धनमा ल्याएकोमा पार्टीभित्र असन्तोष थियो । परिणाम आउँदा त्यो सत्य लुकाइँदैछ । पार्टी विभाजन गर्न माधव नेपाललाई उचालेर सूर्य चिन्ह बिना बाँच्न नसक्ने चरित्रका दश भाईको एमालेमा कतै गुञ्जायस भएन । अष्टलक्ष्मी शाक्य, डा. भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई, रघुजी पन्त, युवराज ज्ञवाली जस्ता नेताको जिल्लामा समेत कार्यकर्तालाई कस्तालाई जनप्रतिनिधि उम्मेदवार बनाउने भन्ने सोधखोजसम्म भएन । यी नेताको धरातल यिनैले चुनाव जितेका जिल्लामा एमालेको पराजयले देखायो । ओली गुटकै शंकर पोखरेल, विष्णु पौडेल, खगराज अधिकारीको गृह नगरमा तीनको कैफियत देखियो ।
दशभाइकोे टिमका रावल, पाण्डे, विष्ट र भट्टराईको जिल्लाका पालिकाहरूमा एमाले बलियो बन्न सकेन । त्यही हालत माओवादीबाट एमालेमै बसेका रामबहादुर थापा, मणि थापा, लेखराज भट्ट, प्रभु शाहको गृहजिल्लामा एमालेले कुनै प्रगति गरेन । तर टोपबहादुर रायमाझीले अर्घाखाँचीमा एमालेको शाखा बचाए । जहाँ माओवादी र नेकपा मसालको बलियो संगठन भत्कियो । संगठानिक रूपमा हाटहुटे शैलीका टोपबहादुर राजनीतिक रूपमा सफल चरित्र बन्न पुगेका छन् । तर लेखराज भट्टले आफ्नै स्वकीय सचिवलाई वडामा निर्वाचित गर्न सकेनन् । इञ्चार्ज र अध्यक्षका लागि डा. भीम रावल र कर्ण थापाबीचको लडाइँले एमालेको द्वन्द्व चर्किएको परिणाम पनि पार्टी विभाजन हुँदा उक्त प्रदेशका १३ सांसद नेकपा एसतिर लाग्दा डा. रावलको हैसियत देखायो । डा. रावलकै गृहजिल्ला अछाममा एमालेको पालिका तहमा संगठन ध्वस्त भएको प्रमाणित भयो । यो सत्य स्वीकार्ने काम त्यहाँ हुन्न ।
ओलीको विवेकले हैसियत अनुसारको पद पाएका दश भाई र पाँच भाईको कुरा अब सुन्ने अवस्था भएन । किनकि ओलीनै एमाले र एमाले नै ओली भएको पार्टीमा उनका दलाल र हनुमान बाहेकले स्थान पाउने लक्षण छैन । आफ्नो वडा बचाउन नसक्ने ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु पौडेलको कमजोरी ओलीवादमा दाश युगको क्षमादान हुनेछ । तर संगठन बिनाका दश भाइ पाँच भाइको हालत भने एमालेको समिक्षा बैठकमा देखिनेछ । किनकि निर्वाचनमा पहिलोबाट अहंकार र दम्बले दोस्रोमा थन्किएको एमाले संसद अवरोधले बदनाम भएपछि अहिले संसदमा निउरीमुन्टी न भएको जनताले देखेको छ । केहीले वाम गठबन्धनका स्वर निकालेका छन् ।
पोखरामा ईश्वरको छलाङ
एमालेमा छलाङ मार्न सफल नेता ईश्वर पोखरेल संघीय सांसद वामदेवलाई बर्दियाबाट पछारे जस्तै यस पटक पोखरा महानगरका मेयर पदका उम्मेदवार कृष्ण थापामाथि प्रहार गरेका छन् । शुरुदेखिनै धनराजको मत बढ्यो, थापा पछाडि परे । थापा निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा पक्षधर हुँदा खगराज अधिकारीको टिम पनि विरुद्धमा लाग्यो । अधिकारीको टिम सुन चोरको पक्षमा थियो । ईश्वर पोखरेलले उनलाई भेटेर सान्त्वना दिएका थिए । त्यहाँ पदमा अर्याल, पुष्प ढुंगाना चर्चामा छन् । यो टोलीले पृथ्वी सुब्बाको समूहले सुन चोरी काण्डलाई उछालेको निश्कर्ष निकाल्दै कृष्ण थापालाई प्रदेश मन्त्री बनेर पनि काम देखाउन नसकेको आरोप लगाएको छ । यसमा पदमा अर्याल चर्को रूपमा लागिन् । थापाले संसद पद त्यागेका हुन् । अर्यालका श्रीमान वडामै थन्किए । एमालेमा साढेको जुधाई, बच्छाको मिचाई हुन्छ । त्यहाँ हिजो वामदेव हराउन ईश्वर पोखरेलले सूर्य थापालाई खटाए । त्यो बेला उनी महासचिव थिए, अहिले वरिष्ठ उपाध्यक्ष छन् । अध्यक्ष केपी ओलीलाई मौका परे धोका दिन ईश्वरले सक्छन् । पृथ्वी सुब्बा गुरुङबाट त्यो सम्भव छैन । पेट कालो भएका खगराज अधिकारीलाई भने अध्यक्ष ओलीले मेयर पदमा नेता छान्दा सोधपुछ नगरेकोमा रिश छँदैछ ।