Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कता अघि बढ्ला वामदेवको यात्रा ?

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मंगलबार एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमलाई पार्टीमा भित्र्याउने निर्णय गर्‍यो । त्यसअघि नै एमालेले गौतमलाई खबर गरेको थियो, धैर्य गर्नुस्, नआत्तिनुस्, हतारमा निर्णय नगर्नुस् है । गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डीबी कार्कीका अनुसार अहिले एस र एमालेसँग बराबर संवाद चलिरहेको छ । कुरा कोहीसँग पनि मिलेको छैन । हामीले दुईचोटि एकताको निर्णय गर्दा पनि माधव नेपालले वास्ता गर्नुभएन, उनले भने, हिजो उहाँहरुले निर्णय गरेको सुनेर आज बिहान मैले फोन गर्दा भोलि भेटौं भन्नुभएको छ । कार्कीका अनुसार भैंसेपाटीस्थित गौतमको घरमै रहेको उनको पार्टी कार्यालयमा बिहीबार बिहान नेपालले आइपुग्ने भनेका छन् । आउनुभयो भने कुरा हुन्छ, अनिमात्रै एसमा जाने कि एमालेमा जाने भन्ने टुंगो लाग्छ, कार्कीले भने । कार्कीका अनुसार यसअघि एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङमार्फत कुरा हुँदा गौतमले पार्टी एकताको आह्वानसहित एउटा निर्णय गरिदिन माग गरेका थिए । हामीले फ्ल्याट टाइपको डिसिजन गरिदिनुस् भनेका थियौं, कार्की भन्छन्, तर उहाँहरुले केही निर्णय गर्नुभएन, बरु कतै नजानुस्, जाने हतारोमा गलत निर्णय नलिनुस् भन्नुभयो । गौतम निकट नेकपा एसका स्थायी कमिटी सदस्य हरि पराजुली कार्कीले भने जस्तो कुरा नभएको भन्छन् । उहाँ विद्या भण्डारीमार्फत एमालेतिर जान खोज्दै हुनुहुन्थ्यो, केपी ओलीले यो कुरा थाहा पाएपछि धपाउन थाल्नुभयो, पराजुलीले भने, त्यसपछि हामीले त्यस्तो नगर्नुस्, फेरि ओलीको शिकार बन्नुहुन्छ भनेर यता ल्याउने सल्लाह गरेका हौं । उनका अनुसार पूर्वराष्ट्रपति भण्डारीका सहयोगी भेषराज अधिकारीमार्फत गौतमले भेटघाट गरेका थिए । त्यो कुरा एमाले अध्यक्ष ओलीले थाहा पाएपछि कुरा बिग्रिएको थियो । हिजोको निर्णयअनुसार उहाँलाई आइहाल्नुस् भनिएको छ, कहिले आउने भन्ने चाहिँ उहाँको कुरा हो, पराजुलीले भने ।


सम्बन्धित समाचार