Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कर्णालीको विवाद लिएर नेताहरु फर्किने

काठमाडौं । नेकपा कर्णालीको विवाद समाधान गर्ने जिम्मा प्रदेशलाई नै दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद समाधान केन्द्रबाट नहुने भएको छ । विवाद समाधानका लागि भन्दै नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली विवादका दुबै पक्षलाई काठमाडौं बोलाएका थिए । तर काठमाडौंमा भएको छलफलमा विशेषगरी यामलाल कँडेलको रवैयाको कारण प्रचण्डले यो विवादलाई प्रदेशमै पठाउनु पर्ने भनाई राखेको स्रोतको दावी छ ।

विवादलाई मिलाउनका लागि प्रचण्डले यसअघि प्रयास गरेकोमा कँडेलले आफ्नो अधिकार प्रयोग गरेको र त्यसो नगर्न कसैले सिकाउनु नपर्ने जवाफ दिएका थिए । तर प्रम ओलीले भने दुबै पक्षलाई चित्त बुझाउनका लागि प्रस्ताव ल्याउने कुरा गरेको भएपनि यो विवाद प्रदेशमै पठाउन उपयुक्त हुनेमा दुई अध्यक्ष सहमत रहेको बताइएको छ ।

मंगलबार बालुवाटारमा भएको छलफलपश्चात प्रदेश संसदीय दलबाटै समस्याको समाधान गर्न त्यहाँका नेतालाई निर्देशन समेत दिइएको छ । गत असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाका १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।