Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेस संस्थापनलाई हल्लाउने कोशी विद्रोह

काठमाडौँ । काँग्रेस संस्थापनलाई धक्का लगाउनु चानचुने कुरा होइन । सानातिना धक्का लगाउँदै पार्टी कब्जा गर्ने विगत काँग्रेसमा देखिन्छ । झण्डै ४० प्रतिशतको नेतृत्व दाबी गर्ने शेखर कोइराला समूहले संस्थापनलाई कोशी प्रदेशबाट धक्का दिन शुरु गरेकोछ । कोशीको मुख्यमन्त्री बनाउने विषयमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विद्रोह गरेपछि पार्टीको आन्तरिक राजनीति तरंगित बनेको छ । कोइरालाको विद्रोहपछि सभापति शेरबहादुर देउवा आफ्नो निर्णयबाट पछि हटेका छन् भने कांग्रेससहित सत्ता गठबन्धनको समर्थनमा कोइरालानिकट केदार कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका छन् । तर मुख्यमन्त्री बनाउने विषयमा सभापति देउवाको एकलौटी निर्णय र नेता कोइरालाको विद्रोहप्रति महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने असन्तुष्ट बनेका छन् । नेता कोइराला र महामन्त्री थापाको सम्बन्ध फेरि चिसिएको छ । पार्टीमा सभापति देउवाविरुद्ध संघर्ष गर्न शक्तिआर्जन गर्ने दौडमा रहेका कोइराला आफूनिकट कार्कीलाई मुख्यमन्त्री बनाउन एकलौटी अघि बढेपछि उनी नेतृत्वको गुटमा फेरि दरार पैदा भएको छ । देउवा र कोइराला दुवैले त्यसबारे पार्टीका पदाधिकारी र शीर्ष नेताहरूसँग परामर्श नगरेको गुनासो छ । कोशीमा प्रदेश संसदीय दलका नेता उद्धव थापाको पक्षमा बहुमत नजुट्ने देखेपछि सभापति देउवाले गत बिहीबार मुख्यमन्त्रीमा माओवादी केन्द्रलाई समर्थन गर्ने निर्णय लिएका थिए । जबकि त्यसअघि बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्रीद्वय थापा र शर्माले दलको नेता बदलेर भए पनि कांग्रेसबाटै मुख्यमन्त्री बनाउनुपर्ने अडान राखेका थिए भने नेता कोइरालाले सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत पटक–पटक भेटेर कार्कीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका थिए । तर देउवाले मुख्यमन्त्रीमा दलका नेता थापाबाहेक पार्टीबाट अर्को उम्मेदवार बनाउने चाह देखाएका थिएनन् । पदाधिकारी बैठकमा महामन्त्री थापाले मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा प्रश्न उठाउँदा देउवाले त्यसबारे नेता कोइराला र मिनेन्द्र रिजालसँग छलफल भइरहेको जवाफ दिएका थिए । बैठकमा महामन्त्री थापाले दलको नेता फेरेर भए पनि मुख्यमन्त्री कांग्रेसले नै लिनुपर्ने अडान राखेका थिए । त्यसपछि सभापति देउवाले त्यसबारे कुनै छलफल नगरी मुख्यमन्त्रीमा माओवादी केन्द्रलाई समर्थन गर्ने निर्णय गरेका थिए । यता नेता कोइरालाले पनि कार्कीलाई विद्रोह गराएर एमालेको समर्थनमा मुख्यमन्त्री बनाउने विषयमा आफ्नै समूहबाट पार्टीमा निर्वाचित भएका उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसँग समेत सल्लाह गरेका थिएनन् । पार्टी र गठबन्धनमा दलको नेता फेरेर कार्कीलाई उम्मेदवार बनाउन कोसिस गरेका कोइरालाले अनुकूल वातावरण नबनेपछि नेताहरू मिनेन्द्र रिजाल, गोविन्दराज पोखरेल र सांसद सुनिल शर्मामार्फत एमालेसँग संवाद र सहकार्यको वातावरण बनाएका थिए । कोइरालाले कोशीमा कार्कीलाई मुख्यमन्त्री बनाउँदा पार्टीभित्र आफूमाथि विश्वासको संकट हुने स्थिति खडा गरेका छन् । कोइरालाको कदमले पार्टीमा थप अन्तर्विरोध चर्किएर जाने नेताहरू बताउँछन् । केन्द्रीय सदस्य प्रदीप पौडेल अब कोशीमा जस्तै क्रियाकलाप अन्य प्रदेश र संघमा समेत हुँदैन भनेर कसैले भन्न नसक्ने बताउँछन् । ‘सभापतिजीले पार्टीभित्र उठेको जायज कुरालाई बेवास्ता गरेर गलत निर्णय लिनुभयो । कतिपयले कोइरालाले गरेको विद्रोहले तत्काल मुख्यमन्त्री पद प्राप्त भए पनि दिर्घकालीनरुपमा भने उनकै लागि हानीकारक हुन सक्ने बताएका छन् । राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले कोइरालाको प्रतिवाद शैलीले दिर्घकालीन रुपमा कांग्रेसको एकतामा प्रश्न चिह्न खडा गर्ने बताउँछन् । ‘सभापति र संस्थापन पक्षले विवेकसम्मत् निर्णय गरेको थिएन ।


सम्बन्धित समाचार