Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसभित्रै विद्रोहको अवस्था, गठबन्धन थरर

काठमाडौँ । गठबन्धनको पक्ष र विपक्षमा बढेको विवादले काँग्रेसभित्रै विद्रोहको तयारी अवस्था सिर्जना भएपछि सत्ता गठबन्धनका अन्य दल थर्कमान हुन थालेका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको प्रारम्भिक सूचीलाई लिएर कांग्रेसभित्र विवाद चर्किएको छ । यसले सत्ता गठबन्धनमा आबद्ध दलहरूले सहकार्यमा समस्या आउने चिन्ता गरेका छन् । पार्टीभित्रको विवाद गठबन्धनतिर लक्षित हुन थालेपछि सत्ता सहयात्री दलका नेताहरू सशंकित भएका हुन् । निर्वाचन आयोगमा असोज ३ मा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहले सार्वजनिक मञ्चबाटै विरोध जनाएको छ । पार्टीको १४ औं महाधिवेशनमा प्राप्त ४० प्रतिशत मतको हैसियतअनुसारको हिस्सा समानुपातिक र प्रत्यक्ष दुवैतर्फ नपाए विद्रोह गर्ने चेतावनी यो समूहका नेताहरूले सार्वजनिक रूपमै राखेका छन् । गठबन्धनका सहयात्री दलका नेताहरूलाई समेत खबरदारी गर्दै उनीहरूले पार्टीमा आन्तरिक सन्तुलन भत्किए विद्रोह हुने र देशैभर गठबन्धनका उम्मेदवारलाई असहयोग हुने चेतावनी दिएका छन् । विराटनगर पुगेका नेता शेखर कोइरालाले उम्मेदवार चयनप्रतिको असन्तुष्टि सञ्चारकर्मीमाझ राखेका छन् । उनले सभापति देउवाले नबोलाएसम्म काठमाडौं नफर्कनेसमेत बताएका छन् । कोइराला पक्षले शनिबार भेला डाकेर नेतृत्वले पेल्दै लगे आफ्नो समूहका कोही पनि नेता उम्मेदवार नहुने र रूख चिह्नमा मात्रै मतदान गर्ने चेतावनी दिएपछि त्यसको हलचल गठबन्धनमा परेको हो । माओवादी उपमहासचिव हरिबोल गजुरेलले कांग्रेसभित्रको विवादले गठबन्धनमा असर पर्ने बताए । चुनावी गठबन्धनमा जार्नैपर्ने बाध्यताबारे बुझाएर पार्टीभित्रका विवादको समाधान खोज्ने काम नेतृत्वबाट हुनुपर्ने उनले बताए । कार्यदलका सदस्यसमेत रहेका जसपा नेता रामसहायप्रसाद यादवले सार्वजनिक मञ्चबाटै कांग्रेसबाट व्यक्त असन्तुष्टिबारे गठबन्धनमा छलफल भएको बताए । गठबन्धनभित्र प्रतिनिधिसभाका करिब २५–३० सिटमा अझै दोहोरो÷तेहरो दाबी छ । अहिले गठबन्धन बैठक त्यसलाई छाडेर प्रदेशसभाको सिट मिलाउन केन्द्रित छन् । समानुपातिकतर्फको सूचीमा एकपक्षीय गरिएको र प्रत्यक्षतर्फ समेत पार्टीभित्रका प्रतिस्पर्धी समूहका नेता उम्मेदवार बन्ने अधिकांश क्षेत्र अन्य दललाई दिने र आफ्ना समूहका नेताहरू उम्मेदवार हुने क्षेत्र मात्रै लिने देउवाको रणनीति बुझेरै कार्यदलका सदस्यसमेत रहेका महामन्त्री गगन थापा बैठकमा जान छाडेका छन् ।