Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसमा दुई दर्जन सभापति ?

काठमाडौं। सभापति शेरबहादुर देउवाको विकल्पमा दुई दर्जन आकांक्षी मैदानमा देखिएका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि दुईभन्दा बढी प्रतिष्पर्धी हुने निश्चितप्रायः जस्तै भएको छ । १३ जिल्लाबाहेकका ६४ जिल्लाहरुमा वडा तहको अधिवेशन सम्पन्न भई पालिका तहमा पुगिसक्दा नेताहरुले आफ्नो शक्ति आँकलन गरिसकेका छन् । योसँगै सभापतिका आकांक्षीहरुको अभिव्यक्ति पनि फरक ढंगले आउन थालेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफू पछि नहट्ने प्रष्ट पारेका छन् । उनले सभापतिको दौडमा रहेको स्पष्ट पार्दै पछि नहट्ने बताए । काठमाडौं उपत्यकामा विशेष प्रभाव रहेका सिंहको आजको अभिव्यक्ति कडा खालको थियो । यसबाट पनि उनी सभापतिका प्रतिष्पर्धीबाट पछि नहट्ने देखिएको छ ।
उपसभापति विमलेन्द्र निधिले पनि सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । प्रदेश नम्बर २ मा बलियो प्रभाव रहेका निधिले पनि आफ्नो अवस्थाको आँकलन गरिरहेका छन् । उनले विगतमा सभापति शेरबहादुर देउवालाई चुनाव हराएरै देखाउने चुनौती दिएको खबर बाहिरिएको थियो । देउवासँग लामो सहकार्य गरेका निधिको यो चुनौती सामान्य होइन । कोइराला परिवारबाट महामन्त्री डा. सशांक कोइराला, केन्द्रीय सदस्यहरु सुजाता कोइराला र डा। शेखर कोइराला आकांक्षी छन् । उनीहरुमध्ये एकले उम्मेदवारी दिने बुझिएको छ । तर, कोइराला परिवारभित्र एक अर्कालाई नस्वीकार्ने खालको शैली देखिन थालेको छ । यद्यपि, तीनजनामध्ये अन्तमा एकजनाको नाममा सहमति बन्ने सम्भावना बलियो छ ।
सभापतिका आकांक्षी दर्जन नेता भएपनि मुख्य दाबेदार वर्तमान सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नै छन् । देउवाले १३औं महाधिवेशनमा पौडेललाई दोस्रो चरणमा पराजित गरेका थिए । दोस्रो चरणमा तत्कालिन महामन्त्री कृष्णप्रसाद सिटौलाले देउवालाई भित्री रुपमा साथ दिएका थिए । अहिले पनि सिटौला सभापतिका दाबेदार हुन् । तर, उनी कुनै समूहलाई साथ दिएर लाभ लिने रणनीतिमा देखिएका छन् । देउवाको काँग्रेसमा बलियो प्रभाव छ । तर, उनको गुटका नेतामध्ये निधिले छाडिसकेका छन् । विजयकुमार गच्छेदारको समर्थन कसलाई हुने स्पष्ट छैन । यसकारण पनि देउवालाई सजिलो छैन । पौडेल समूहमा सिंहका अलावा कोइराला परिवारका सदस्य पनि दाबेदार छन् । दुवैलाई मिलाउन नसके उनलाई सभापतिका लागि प्रतिष्पर्धामा बढ्न कठिन हुनसक्छ ।