Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसमा भाँडभैलो, देउवालाई दबाव

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रुपमा निर्वाचन आयोगमा पेश गरेको भन्दै आन्दोलित नेपाली कांग्रेसका डा शेखर कोइराला पक्षधर बुधबार केन्द्रीय कार्यालय सानेपामा धर्ना दिँदैछ। डा कोइराला नेतृत्वको उक्त समूहले पार्टी कार्यालय सानेपामा मध्यान्ह १२ बजेदेखि धर्ना दिन लागेको हो। कांग्रेसबाट समानुपातिकको बन्द सूचीमा अधिकांश संस्थापन पक्षका नेताहरु समेटिएपछि इतर पक्ष आन्दोलित छ। इतर पक्षले संघदेखि प्रदेशसम्मको सूची सच्याउनुपर्ने अडान राखेको छ। इतर समूहका नेताहरुको नाम थोरै मात्रै समावेश गरिएपछि आफूहरुले कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने उनीहरुको अडान छ।
सभापति शेरबहादुर देउवा पक्षले सुरुमा राखिएका इतर समूहका नेताहरुको नाम पनि बन्द सूचीबाट हटाएको बताइएको छ। यही सोमबार बसेको शेखर कोइराला नेतृत्वको समूहको बैठकले बुधबार मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको थियो। यो धर्नापछि बिहीबार बत्तिसपुतलीमा कोइरालाको टिममा रहेका पदाधिकारी रपूर्वपदाधिकारीबीच छलफल हुने भएको छ। कोइराला समूहले टिकट वितरण न्यायोचित हुनुपर्ने माग राखेको छ। समानुपातिक बन्दसूची सार्वजनिक भएपछि इतर समूहले आन्दोलित छ।

इतर समूहले प्रदेश १ को समानुपातिक सूची पनि सच्याउनुपर्ने अडान राखेको छ। प्रदेशमा पनि अधिकांश देउवा पक्षका नेताहरु समेटिएपछि कोइराला पक्षले यदि नसच्याए आगामी निर्वाचनमा असहयोग गर्ने चेतावनी दिइसकेको छ।