Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काँग्रेसमाथि किन उठाए माधव र प्रचण्डले शंका

काठमाडौं। सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने पार्टी निर्णय विरुद्ध नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि चुलिएको छ। भरतपुर महानगरपालिका कुनै पनि हालतमा माओवादी केन्द्रलाई दिन नसकिने चितवन कांग्रेसले निष्कर्ष निकालेको छ भने मधेस प्रदेशमा पनि गठबन्धन गर्न नहुने भन्दै डा। शेखर कोइराला पक्षीय एकजुट हुन थालेका छन्। कांग्रेसभित्रै चुनावी तालमेल गर्न नहुने समूह बलियो बन्दै गएपछि अन्य घटन सशंकित बन्न थालेका छन्। महानगरपालिकाको हकमा केन्द्रबाटै निर्णय गर्ने र बाँकी स्थानीय तहमा आवश्यकताा आधारमा तालमेल गर्ने निर्णय गरेको कांग्रेसभित्र एक्लै चुनावमा जानुपर्ने मत बलियो बन्न थालेपछि अन्य घटन सशंकित बन्न थालेका हुन्।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभपाति शेरबहादुर देउवा जसरी पनि गठबन्धन गरेरै जाने पक्षमा छन्। उनलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले साथ दिएका छन्। तर डा। कोइराला पक्ष कांग्रेस एक्लै चुनावमा जानु पर्ने पक्षमा छ। चुनावी तालमेल गर्ने विषयमा कांग्रेसभित्र एकमत नहुँदा गठबन्धन प्रभावकारी नहुने भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देउवासमक्ष चासो राखेका छन्।
केही दिन अगाडि बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रचण्ड र नेपालले गठबन्धनलाई बलियो र प्रभावकारी बनाउन देउवालाई आग्रह गरेको बालुवाटार निकट स्रोतले जनाएको छ। स्थानीय तह निर्वाचनमा केन्द्रले भने अनुसार तालमेल प्रभावकारी नहुने अवस्था सृजना भए त्यसको असर आगामी निर्वाचनमा देखिने भन्दै चुनावी तालमेललाई प्रभावकारी बनाउनुपर्नेमा प्रचण्ड र नेपालले जोड दिएका छन्।
‘कांग्रेसले माओवादी र एकीकृत समाजवादीलाई भोट दिएपनि धेरै ठाउँमा उहाँहरुले जित्ने अवस्था छैन,’ देउवा निकट स्रोतले डिसी नेपालसँग भन्यो, ‘त्यस्तो अवस्थामा कांग्रेसले धोका दियो भनेर फेरि बाम गठबन्धन हुने हो कि भन्ने चिन्ता सभापतिमा देखिन्छ।’

देउवाले पछिल्लो समय आफू निकट नेतालाई बोलाएर गठबन्धनो पक्षमा इमान्दार भएर लाग्न निर्देशन दिने गरेका छन्। देउवाको चाहना तीनै चरणको चुनाव एकै पटक गराउने थियो। तर परिस्थितिबश स्थानीय तह निर्वाचन अगाडि हुने भएपछि त्यसको प्रभाव अन्य निर्वाचनमा नपोस भन्नेमा देउवा सचेत देखिएका छन्। स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा राम्रो परिणाम नआए त्यसको असर प्रदेश र संघीय निर्वाचनम पर्ने भएकाले देउवाको चाहना एकै पटक निर्वाचन गराउने थियो। ‘तर अब निर्वाचन सार्ने कुनै संभावना नरहेका कारण गठबन्धनका उम्मेद्वारलाई इमान्दारसँँग जिताउन उनले आफू निकट नेतालाई निर्देशन दिने गरेकाछन्। ‘टिकट वितरणमा केही विवाद भएपनि फिल्डमा गइसकेपछि गठबन्धनका उम्मेद्वारलाई जिताउनु गठबन्धनमा आबद्ध दलको प्रतिष्ठाको विषय बन्छ,’ कांग्रेसका एक नेताले भने, ‘त्यस्तो अवस्थाका अन्तरघात हुने संभावना कम हुन्छ र गठबन्धनका उम्मेद्वार विजयी बन्ने आधार तयार हुन्छ।’
प्रचण्ड र नेपालले गठबन्धनप्रति इमान्दार हुन देउवालाई आग्रह गरेपछि सत्तारूढ पाँच दलीय गठबन्धनको स्थानीय तह चुनावी तयारी, परिचालन तथा अनुगमन समितिले चुनावी तालमेलका लागि स्थानीय तहमा पार्टीगत अवस्थाबारे चैत २६ गतेभित्र साझा प्रतिवेदन बुझाउन तल्लो तहका चुनावी तालमेल संयन्त्रलाई निर्देशन दिएको थियो। समितिका संयोजक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले चुनावी तालमेलका लागि स्थानीय तहको अवस्थाबारे २६ गतेभित्र रिपोर्ट बुझाउन प्रदेश, जिल्ला र स्थानीय तहका चुनावी तालमेल संयन्त्रलाई निर्देशन दिएको हो।
यसअघि गत बिहीबार बसेको सत्तारूढ गठबन्धनको बैठकले स्थानीय तहहरूमा गठबन्धनको अवस्था, चुनावी तालमेलको आधार लगायतका विविधि विषयमा अध्ययन गरी चैत २२ गतेसम्म साझा प्रतिवेदन बुझाउन प्रदेश, जिल्ला र स्थानीय तहमा संयुक्त संयन्त्र बनाउने निर्णय गरेको थियो । स्थानीय चुनावी तालमेल संयन्त्रहरूले स्थानीय तहको वस्तुस्थिति सहितको प्रतिवेदन बुझाएपछि समितिको अर्को बैठक चैत २७ गते बस्ने तय गरिएको छ।