Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस इतर पक्ष राष्ट्रिय भेलातर्फ, नयाँ पार्टी गठनको तयारी तीव्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्ष औपचारिक रूपमा नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेको छ। काठमाडौँको चुनदेवीस्थित ‘१५औँ महाधिवेशन तयारी सम्पर्क कार्यालय’मा सोमबार बसेको बैठकले राष्ट्रिय भेलाको मिति तय गर्दै नयाँ पार्टी निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको हो।

इतर पक्षका नेताहरूका अनुसार शीर्ष तहमा नयाँ पार्टी गठनबारे सहमति जुटिसकेपछि राष्ट्रिय भेला बोलाउने निर्णय गरिएको हो। असार १९ गते निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा बसेको बैठकले राष्ट्रिय भेलाको रणनीति र उद्देश्य तय गरेको थियो।

बैठकमा विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखकलगायत नेताहरू नयाँ पार्टी गठनको पक्षमा उभिएको बताइएको छ।

बैठकमा नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसको मूल राजनीतिक विरासत इतर पक्षमै रहेको दाबी गर्दै बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, महेन्द्रनारायण निधि र शेरबहादुर देउवाको राजनीतिक ‘ब्रान्ड’ प्रतिनिधित्व गर्ने नेताहरू एकै ठाउँमा रहेको उल्लेख गरेका थिए। उनले आफू नेतृत्वको आकांक्षी नभएको र शीर्ष नेताहरूले गर्ने निर्णयमा साथ दिने प्रतिबद्धता जनाएका थिए।

नेताहरू विमलेन्द्र निधि र प्रकाशमान सिंहले पनि राष्ट्रिय भेला गरेर नयाँ पार्टी गठनमा थप ढिलाइ गर्न नहुने धारणा राखेका थिए। डा. प्रकाशशरण महत, एनपी साउद र रमेश लेखकले कांग्रेस एकीकरणको सम्भावना कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै अब नयाँ राजनीतिक दिशातर्फ अघि बढ्नुपर्ने मत व्यक्त गरेका थिए।

बैठकमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्रीहरू प्रदीप पौडेल र गुरुराज घिमिरेसँग भएका संवादबारे पनि जानकारी गराइएको थियो। त्यसपछि राष्ट्रिय भेला आयोजना गर्ने विषयमा नेताहरूबीच सहमति बनेको कांग्रेस नेता मीन विश्वकर्माले बताएका छन्।

बीपी स्मृति दिवसमा देशव्यापी अभियान

इतर पक्षले साउन ६ गते बीपी कोइरालाको स्मृति दिवसका अवसरमा देशका सबै १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाएर राजनीतिक अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

नेताहरूका अनुसार सो अभियानमार्फत कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै नयाँ पार्टी निर्माणका लागि जनमत र सुझाव संकलन गरिनेछ। राष्ट्रिय भेला घोषणा भएपछि शीर्ष नेताहरू पनि आ–आफ्ना प्रदेशमा खटिने तयारीमा छन्।

‘राष्ट्रिय कांग्रेस’ नाम र ‘शंख’ चुनाव चिह्नबारे छलफल

इतर पक्षभित्र नयाँ दलको सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ राख्ने र चुनाव चिह्न ‘शंख’ बनाउने विषयमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ।

पार्टीको नेतृत्व वरिष्ठ नेतामध्ये एकलाई दिने तथा पदाधिकारीमा युवा पुस्तालाई प्राथमिकता दिने प्रारम्भिक सहमति भएको बताइएको छ। नेतृत्वका लागि डा. शेखर कोइराला र डा. शशांक कोइरालाको नाम चर्चामा रहेको छ।

अन्य दलसँग सहकार्यको सम्भावना

इतर पक्षको राजनीतिक गतिविधिलाई नेकपा (एमाले) र नेकपा नेतृत्वले पनि नजिकबाट हेरिरहेको बताइएको छ। आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै सम्भावित चुनावी सहकार्यका विषयमा एमाले र नेकपासँग अनौपचारिक संवाद भइरहेको इतर पक्षका नेताहरूको दाबी छ।

यद्यपि कांग्रेसको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन, र नयाँ पार्टी गठनबारे सम्बन्धित नेताहरूबाट औपचारिक घोषणा आउन बाँकी छ।