Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विजय सम्बाहाम्फेले आदिवासी जनजाति क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘नेपाली कांग्रेसको आस्था र प्रतिष्ठालाई युगसापेक्ष उचाइमा पुर्याऔँ, त्यागी तथा बौद्धिक नेता विजय सम्बाहाम्फेलाई जिताऔँ’ भन्ने नारासहित उनले उम्मेदवारी अघि सारेका हुन्।
कांग्रेसमा लामो समयदेखि सक्रिय सम्बाहाम्फेले पार्टीका विभिन्न तहमा रहेर संगठन निर्माण, नीति तथा बौद्धिक बहस, शिक्षा र सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका छन्। तेह्रथुम जिल्ला कार्यसमितिको कोषाध्यक्षबाट सांगठनिक जिम्मेवारी सुरु गरेका उनले कांग्रेसको सूचना तथा सञ्चार विभागको केन्द्रीय सदस्य र पेसागत तथा बुद्धिजीवी विभागको महासचिवको जिम्मेवारीसमेत सम्हालेका छन्। हालै सम्पन्न निर्वाचनबाट उनी महासमिति सदस्यमा समेत निर्वाचित भएका छन्।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा तेह्रथुम–२ बाट कांग्रेसका तर्फबाट उम्मेदवार बनेका सम्बाहाम्फे थोरै मतान्तरले पराजित भएका थिए। निर्वाचनमा पराजित भए पनि त्यसपछि पनि पार्टी संगठन, नीति निर्माण र सामाजिक क्षेत्रमा आफ्नो सक्रियता निरन्तर राख्दै आएको बताइएको छ।
शिक्षा क्षेत्रमा समेत लामो अनुभव रहेका सम्बाहाम्फे निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनका केन्द्रीय अध्यक्ष भइसकेका छन्। उनले विभिन्न देशको शिक्षा प्रणाली, नीति तथा अभ्यासको अध्ययन गरेका छन्। उनको अनुभवलाई मूल्यांकन गर्दै सरकारले उनलाई राष्ट्रिय उच्च शिक्षा आयोगको सदस्यको जिम्मेवारीसमेत दिएको थियो।
राजनीतिसँगै शिक्षा, पर्यटन, कृषि, जलविद्युत्, बैंकिङ तथा वित्तीय क्षेत्रमा समेत लगानी गरेका सम्बाहाम्फे व्यवसायीका रूपमा पनि परिचित छन्। उनका व्यवसाय तथा लगानीबाट रोजगारी सिर्जना र विभिन्न परिवारलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको बताइएको छ।
कांग्रेसका विभिन्न तहका नेतासँग सम्बाहाम्फेको समन्वयात्मक सम्बन्ध रहेको पार्टीका नेताहरू बताउँछन्। यही कारण उनको उम्मेदवारीलाई पार्टीभित्र अनुभव, समन्वय र बौद्धिक क्षमताको प्रतिनिधित्वका रूपमा हेरिएको छ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य भागीमान गुरुङले सम्बाहाम्फेको उम्मेदवारीले आदिवासी जनजाति समुदायका कांग्रेस कार्यकर्तामा उत्साह थपिएको बताए।
‘विजय सरको उम्मेदवारी घोषणाले सिंगो आदिवासी समुदायमा उत्साह पैदा भएको छ। उहाँको भूमिका र अनुभवले नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्याउन थप योगदान पुग्ने विश्वास लिएका छौँ,’ उनले भने।
सम्बाहाम्फेले पार्टीको नीति निर्माण र संगठन सुदृढीकरणमा आफ्नो अनुभव उपयोग गर्ने बताउँदै आएका छन्। नयाँ पुस्ता, आदिवासी जनजाति, पेसागत तथा बौद्धिक समुदायलाई पार्टीको मूलधारमा थप प्रभावकारी रूपमा जोड्ने उनको प्रतिबद्धता छ।
उम्मेदवारीका लागि उनले मेचीदेखि महाकालीसम्मका नेता तथा कार्यकर्तासँग भेटघाट तथा परामर्श गरिरहेको उनको सचिवालयले जनाएको छ। असोज १८ गते सम्पर्क कार्यालय स्थापना गर्ने तयारीसमेत गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा विभिन्न समूह, समुदाय र क्लस्टरबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यसै क्रममा आदिवासी जनजाति क्लस्टरबाट सम्बाहाम्फेको उम्मेदवारीलाई राजनीतिक अनुभव, बौद्धिक क्षमता, सामाजिक योगदान र व्यावसायिक पृष्ठभूमिको संयोजनका रूपमा हेरिएको छ।
२०८३ आश्विन २२
ताजा नेपाल
२०८३ आश्विन २२
ताजा नेपाल
२०८३ आश्विन २२
ताजा नेपाल