Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि मतदान गर्नेछन्। उम्मेदवारी दर्ता, दाबी–विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भएपछि निर्वाचन समितिले बुधबार राति उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको थियो।
यसअघि बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहे पनि भारी वर्षा तथा केही प्राविधिक समस्याका कारण मतदानको समय तीन घण्टा पछि सारिएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए। संशोधित कार्यतालिकाअनुसार मतदान साँझ ६ बजेसम्म हुनेछ।
महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा विभिन्न मतदान केन्द्र तोकिएका छन्। बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन् भने अन्य प्रदेश तथा समूहका प्रतिनिधिका लागि खुलामञ्चमा विभिन्न मतदान केन्द्र व्यवस्था गरिएको छ।
निर्वाचन समितिका अनुसार मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिले आफूलाई तोकिएको प्रदेश वा समूहको मतदान केन्द्रमा गई मतदान गर्नुपर्नेछ। मतदानअघि परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ। मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री मतदानस्थलमा लैजान पाइने छैन।
मतदान सम्पन्न भएपछि मतगणना सुरु गरिने र मतगणना सकिएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
१५औँ महाधिवेशनले विधान संशोधन गर्दै कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। आजको मतदानबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न पदका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
२०८३ आश्विन २२
ताजा नेपाल
२०८३ आश्विन २२
ताजा नेपाल
२०८३ आश्विन २२
ताजा नेपाल