Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस महाधिवेशनमा विभिन्न दलका शीर्ष नेता सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।

असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा विभिन्न दलका अध्यक्ष तथा शीर्ष नेताहरू सहभागी हुने कांग्रेसले जनाएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुनेछन्।

यस्तै, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई र राष्ट्रिय जनमोर्चाका कार्यवाहक महासचिव घनश्याम न्यौपाने पनि उद्घाटन समारोहमा सहभागी हुने निश्चित भएको चालिसेले बताए।

रास्वपा सभापति लामिछाने, एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डलाई कांग्रेस सहमहामन्त्री उदयशम्शेर राणाले उनीहरूको निवासमै पुगेर महाधिवेशनको निमन्त्रणा दिएका थिए।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतलाई कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका महानिर्देशक डा. सुरेश आचार्यले औपचारिक रूपमा निमन्त्रणा दिएका थिए।

अन्तर्राष्ट्रिय अतिथितर्फ सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेको प्रवक्ता चालिसेले जानकारी दिए। अन्य अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता पनि सुनिश्चित हुने क्रम जारी रहेको उनले बताए।