Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस महामन्त्री पौडेलले गरे १४ बुँदे चुनावी प्रतिज्ञा पत्र सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी क्षेत्रका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।

महामन्त्री पौडेलले आज काठमाडौं–५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले आफू यसअघि काठमाडौं क्षेत्र नं ५ बाट सांसदका रूपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका रूपमा इमानदारीपूर्वक प्रयास गरेको बताए ।

चक्रपथको दोस्रो खण्ड निरन्तरताका लागि दिएको दबाबले काम गरेको, सामाखुसी टोखा सडक, विष्णुमती करिडोर, साङ्लेखोला करिडोरलगायत रणनीतिक काम अघि बढेको उनले बताए ।

महामन्त्री पौडेलले क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कुल बनाउने तथा विद्यालयमा स्थानीय मातृभाषा नेवारी, तामाङ तथा मौलिक सीप र ज्ञानलाई शिक्षण सिकाइमा समावेश गर्न पाठ्यक्रम निर्माणका लागि स्थानीय तहसँग सहकार्य गरेको बताए ।

उनले सबैलाई स्वास्थ्य बीमामा आबद्धता सुनिश्चित गर्दै यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइने र सुविधाको दायरा वृद्धि गर्न आवश्यक नीति निर्माण तथा कार्यान्वयनमा पहल गर्ने बताए ।

महामन्त्री पौडेलले क्षेत्र नं ५ लाई मेडिकल हबका रूपमा विकास गर्दै क्षेत्रभित्रका त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल तथा नेपाल प्रहरीजस्ता केन्द्रीय अस्पतालहरुको क्षमता थप विस्तार गर्ने प्रतिबद्धता जनाए ।

उनले आफ्नो प्रतिज्ञा पत्रमार्फत संघीय संसदमार्फत व्यवसायमैत्री कानुन निर्माणका लागि विशेष पहल गर्ने भन्दै झन्झटिलो व्यवसाय दर्ता तथा बन्द प्रक्रियाको अन्त्य गर्न नीति बनाउन सहजीकरण गर्ने उल्लेख गरे ।

युवा जनशक्तिलाई विश्व प्रविधि बजारसँग प्रतिस्पर्धा गर्न एआई, डिजिटल मार्केटिङ जस्ता विषयमा उच्चस्तरीय शैक्षिक तालिमको प्रबन्ध गर्दै क्षेत्रलाई ‘डिजिटल इनोभेसन हबका रूपमा आवश्यक नीति र पूर्वाधार तयार गरिने छ, उनले भने ।

प्रतिज्ञा पत्रमा भूमिविहीनहरुको पहिचान गरी लालपुर्जा वितरणको कार्यलाई गति दिनेलगायत विषय समेटिएको छ । उनले काठमाडौं–५ अन्तर्गत पर्ने हाँडीगाउँ, मालिगाउँ, पञ्चकुमारी, भाटभटेनी, टुँडाल, धुम्बाराही, अजिमालगायत ऐतिहासिक क्षेत्रलाई खुला सङ्ग्रहालय तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै भ्याली सिटी टुरमा समावेश गर्ने बताए ।

टोखाको बिस्का नखः, पाँहाचह्रे तथा हाँडीगाउँको चोखःते नारायणजात्रा जस्ता सांस्कृतिक परम्पराको ब्रान्डिङ गर्दै पर्यटकीय लाभ लिन पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै, टुकुचा, धोबिखोला, सामाखुसी र साङ्ला खोलाजस्ता ढल समस्याको समाधानका लागि उचित व्यवस्थापन गर्दै सहरी क्षेत्रमा ढुबान समस्या समाधानका लागि ‘स्ट्रोमा वाटर ड्रेनेज को व्यवस्था गर्ने प्रतिज्ञा पत्रमा उल्लेख छ ।

महामन्त्री पौडेलले टोखा छहरे सुरुङ मार्ग र रसुवा केरुङ राजमार्गलाई व्यापारिक लाइफलाइनका रुपमा विकासका लागि पहल गर्ने बताउनुभयो । यस्तै, चक्रपथ विस्तार, नारायणगोपाल चोकमा अन्डरपास तथा फ्लाइओभर, सामाखुसी विष्णुमती करिडोरमा आफूले थालेको सडक विकासको स्तरोन्नतिलाई प्राथमिकता दिइएको छ ।

उनले विश्वविद्यालयहरूमार्फत अनुसन्धान र विकासलाई प्रोत्साहन गर्ने, आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीतिनिर्माणको नेतृत्व लिने र नेपालकै लार्ज ल्याङ्ग्वेज मोडल विकासका लागि पूर्वाधार बनाउन आफ्नो पहल रहने बताए ।

धनेश्वर खेलमैदानलाई राष्ट्रियस्तरको मैदानका रूपमा स्तरोन्नति गर्ने र भूत्हया दह क्षेत्रको ११४ रोपनी सरकारी जग्गामा पिकनिक स्पट र ध्यान साधना केन्द्रका रूपमा विकास गर्ने उनको प्रतिज्ञापत्रमा उल्लेख छ ।

 


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल