Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेस संस्थापनइतर पक्ष अदालत जाने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष पार्टीका सांगठनिक तथा वैचारिक गतिविधिसम्बन्धी विषयलाई लिएर अदालत जाने तयारीमा जुटेको छ।

संस्थापनइतर पक्षका नेता मीनबहादुर विश्वकर्माले एक–दुई दिनभित्र अदालत जाने तयारी भइरहेको बताएका छन्। उनका अनुसार पार्टीमा सांगठनिक तथा वैचारिक कामकारबाही नगर्न वा नगराउन माग गर्दै अदालत जाने तयारी गरिएको हो।

विश्वकर्माले यस विषयमा पार्टीका नेताहरूले अध्ययन गरिरहेको जानकारी दिँदै एक–दुई दिनभित्र अदालत जाने बताएका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने यसअघिको केन्द्रीय समिति बैठकले तय गरेको कार्यतालिकालाई यथावत् राख्दै तल्ला तहका अधिवेशनको कार्यतालिका भने हेरफेर गरेको थियो।

निर्वाचन समितिको उक्त निर्णयपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष अदालत जाने तयारीमा जुटेको हो।

यसअघि देउवा पक्षले विशेष महाधिवेशनसम्बन्धी निर्णयको पुनरवलोकनको माग गर्दै अदालतमा निवेदन दिएको थियो। उक्त निवेदनमाथि अदालतले पुनरवलोकनको अनुमति दिएको थियो।

कांग्रेसभित्र महाधिवेशनको कार्यतालिका तथा सांगठनिक गतिविधिलाई लिएर संस्थापन र संस्थापनइतर पक्षबीच विवाद रहँदै आएको छ। पछिल्लो निर्णयसँगै विवाद थप कानुनी प्रक्रियातर्फ जाने देखिएको छ।


सम्बन्धित समाचार