Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसको निर्णयपछि देउवा निकट नेताहरूको छलफल

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई आगामी महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरेपछि पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरूले छलफल गरेका छन्।

देउवा निवासमा भएको अनौपचारिक छलफलमा पार्टीको पछिल्लो निर्णयबारे समूहगत धारणा बनाउने विषयमा कुराकानी भएको नेता प्रकाशशरण महतले जानकारी दिए। उनका अनुसार समूहको धारणा सार्वजनिक गर्न सोमबार अपराह्न ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले वडा अधिवेशनमा भाग लिन योग्य निवर्तमान केन्द्रीय सदस्यहरूलाई वर्तमान केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको थियो। कांग्रेसको वडा अधिवेशन असोज ३ र ४ गते हुँदैछ।

बैठकले पार्टीका सबै नेता तथा कार्यकर्तालाई महाधिवेशन प्रक्रियामा सहभागी हुनसमेत आह्वान गरेको थियो।

यसैबीच, तत्कालीन उपसभापति पूर्णबहादुर खड्का निकट नेताहरू पार्टीको निर्णयप्रति सकारात्मक देखिँदै महाधिवेशनमा सहभागी हुने दिशामा अघि बढेपछि देउवा समूहमाथि दबाब बढेको छ।