Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसको १५औँ महाधिवेशन आज, उद्घाटनमा शीर्ष नेताहरू सहभागी हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह दिउँसो २ बजे सुरु हुने कांग्रेसले जनाएको छ।

‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नारासहित हुन लागेको महाधिवेशनमा ७ हजार ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसका प्रवक्ता देवराज चालिसेले बताएका छन्। कांग्रेसले यो आफ्नो इतिहासकै ठूलो महाधिवेशन हुने जनाएको छ।

उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुँदैछन्। कांग्रेसका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने निश्चित भएको छ।

त्यस्तै, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम न्यौपाने पनि उद्घाटन समारोहमा सहभागी हुने तय भएको कांग्रेसले जनाएको छ।

महाधिवेशनको उद्घाटनपछि असोज १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ। बन्दसत्रमा पार्टीको आगामी नीति, कार्यक्रम तथा विभिन्न प्रतिवेदनमाथि छलफल हुनेछ। त्यसपछि असोज २१ र २२ गते केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने कार्यतालिका छ।

कांग्रेसले महाधिवेशनलाई नेतृत्व चयनसँगै नीति निर्माणको अधिवेशनका रूपमा अघि बढाउने जनाएको छ। यसपटकको महाधिवेशनमा देशका विभिन्न जिल्ला तथा विदेशस्थित जनसम्पर्क समितिबाट प्रतिनिधिहरू सहभागी हुँदैछन्।

यसैबीच, सभापति गगनकुमार थापाले उद्घाटन समारोहमा सहभागी हुन निवर्तमान सभापति शेरबहादुर देउवालाई निमन्त्रणा पठाएको विषय पनि चर्चामा छ। कांग्रेसभित्र संस्थापन पक्षको महाधिवेशनसँगै देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी अघि बढाइरहेको छ।