Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कांग्रेसको १९ सदस्यीय पदाधिकारीमा गगन पक्षको वर्चस्व, देउवा समूहबाट तीन जना मात्रै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापति गगनकुमार थापाको नेतृत्वमा १९ सदस्यीय पदाधिकारी टोली चयन भएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुँदा अन्य पदमा प्रतिस्पर्धाबाट नेतृत्व चयन भएको हो।

विशेष महाधिवेशनबाट सभापति बनेका थापा नियमित महाधिवेशनमा पनि भारी मतान्तरसहित विजयी भएका छन्। उनले ६ हजार ५८४ मत प्राप्त गर्दा सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले ३७५ मत मात्रै पाए।

पदाधिकारी चयनको परिणामले कांग्रेसको नयाँ नेतृत्वमा विशेष महाधिवेशन पक्षधरको प्रभाव बलियो देखाएको छ। निर्वाचित १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर रहेको विवरणमा उल्लेख छ। विशेष महाधिवेशनमा सहभागी नभएका तीन जना मात्रै पदाधिकारीमा निर्वाचित भएका छन्।

खुला उपसभापतिका दुई पदमा सात जनाबीच प्रतिस्पर्धा हुँदा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य निर्वाचित भए। उनीहरूले गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्रमोहन यादवलाई पराजित गरे। समावेशी उपसभापतिमा भने उद्योगपति विनोद चौधरी निर्वाचित भए। उनले जीवन परियार, फरमुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णलाई पछि पारे।

महामन्त्रीका दुई खुला पदमा आठ जनाबीच प्रतिस्पर्धा हुँदा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भए। उनीहरूका प्रतिस्पर्धीमा डा. सुनिल शर्मा, गुरुराज घिमिरे, नैनसिंह महर, अमरसिंह पुन मगर, शंकर तिवारी र डा. सन्तोष उपाध्याय थिए। महिला महामन्त्रीमा डा. डिला संग्रौला निर्वाचित भइन्। महालक्ष्मी उपाध्याय ‘डिना’ दोस्रो र रिता खनाल तेस्रो भइन्।

सहमहामन्त्रीका विभिन्न समावेशी तथा खुला समूहका ११ पदमा पनि निर्वाचन भएको छ। खुलातर्फ दुई पदका लागि भएको प्रतिस्पर्धामा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित भए। उनीहरूसँग डिल्लीराम सुवेदी, देवेन्द्रराज कँडेल, राजीव ढुंगाना, विकास कोइराला, अमृतकुमार अर्याल, रमेशप्रसाद धमला र विमलराज क्षेत्री प्रतिस्पर्धामा थिए।

खस–आर्यतर्फ मनोजमणि आचार्य निर्वाचित भए। उनले जगदीश्वर नरसिंह केसी, दिनेश कोइराला र शुभराम बस्नेतलाई पराजित गरे। थारुतर्फ योगेन्द्र चौधरी विजयी भए। उनले तेजुलाल चौधरी र सुरेन्द्र चौधरीलाई हराए।

मधेसीतर्फ अजयकुमार चौरसिया निर्वाचित भए। आठ प्रतिस्पर्धी रहेको यस समूहमा उनीसँग महेन्द्र यादव, अभिषेकप्रताप शाह, किरण यादव, राम पल्टन साह, नगिना यादव, मुक्ता कुमारी यादव र मनिषकुमार मिश्र पराजित भए।

महिला सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भइन्। उनले नानुमैया बास्तोलालाई पछि पारिन्। आदिवासी जनजातितर्फ बहादुरसिंह लामा तामाङ विजयी भए। उनले ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन र प्रशान्तमान सिंह मास्केलाई पराजित गरे।

दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’ निर्वाचित भए। उक्त समूहमा मानबहादुर नेपाली दोस्रो र नरेन्द्र पासवान तेस्रो भए। पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही विजयी भए। उनले जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्टलाई पछि पारे।

मुस्लिमतर्फ डा. फिर्दोश आलम निर्वाचित भए। उनले अब्दुल सत्तार र अतहर कमाल मुसलमानलाई पराजित गरे। अल्पसंख्यक तथा अपांगतातर्फ आंगेलु शेर्पा विजयी भए। उनले नगेन्द्रकुमार कुमाल र बाबुकृष्ण सापकोटालाई हराए।

नयाँ पदाधिकारीको संरचनामा विशेष महाधिवेशन पक्षधरको प्रभाव प्रमुख पदमा पनि देखिएको छ। सभापति, वरिष्ठ उपसभापति, उपसभापति र महामन्त्रीका प्रमुख पदमा उनीहरूको वर्चस्व रहेको छ। वरिष्ठ उपसभापति र महिला उपसभापतिका पद थपिएपछि क्रमशः विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित भएका हुन्।

उपसभापतिमा निर्वाचित चन्द्रकान्त भण्डारी विशेष महाधिवेशनको सुरुवातदेखि नै त्यसको अगुवाइमा सक्रिय थिएनन्। उनी विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी भए पनि कार्यसमितिमा भने सहभागी भएका थिएनन्। थापा नेतृत्वको कार्यसमितिले मान्यता पाएपछि उनी खुलेर समर्थनमा उभिएका थिए। अर्का उपसभापति मधु आचार्य भने विशेष महाधिवेशनका लागि देशभर अभियानमा सक्रिय थिए। विनोद चौधरी पनि विशेष महाधिवेशनमा सहभागी भएका थिए।

महामन्त्रीमा निर्वाचित प्रदीप पौडेल १४औँ महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेर पराजित भएका थिए। विशेष महाधिवेशनबाट महामन्त्री बनेका उनी नियमित महाधिवेशनबाट पनि निर्वाचित भएका छन्। उदयशमशेर राणा पनि विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए। यसपटक उनी महामन्त्रीमा निर्वाचित भएका छन्।

देउवा समूह छाडेर विशेष महाधिवेशन पक्षमा आएकी महालक्ष्मी उपाध्याय ‘डिना’ भने महिला महामन्त्रीमा पराजित भइन्। उनी नेतृत्वमा रहेको तत्कालीन देउवा केन्द्रीय कार्यसमितिका ५२ पदाधिकारी तथा सदस्य थापा नेतृत्वको कांग्रेसमा समाहित भएका थिए। डिनालाई ध्यानमा राखेर महिला महामन्त्रीको पद सिर्जना गरिएको चर्चा भए पनि निर्वाचनमा डिला संग्रौलाले बाजी मारिन्।

विशेष महाधिवेशनमा सहभागी नभएका तीन पदाधिकारीमध्ये रामहरि खतिवडा, जीवनबहादुर शाही र अजयकुमार चौरसिया रहेका छन्। चौरसियाले गत वैशाखमा देउवा समूह छाडेका थिए भने खतिवडा र शाहीले असोज १ गते देउवा समूह छाडेका थिए।

पदाधिकारीसँगै कांग्रेसको केन्द्रीय कार्यसमितिमा पनि विशेष महाधिवेशन पक्षधरको प्रभाव बलियो देखिएको छ। २०९ जना केन्द्रीय सदस्य निर्वाचित भएको विवरणअनुसार उनीहरूमध्ये करिब ९० प्रतिशत विशेष महाधिवेशन पक्षधर रहेको बताइएको छ। कुल २९८ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापतिले ७० जना मनोनित गर्न पाउने व्यवस्था रहेको छ।

नयाँ नेतृत्व चयनसँगै कांग्रेसको संगठनात्मक शक्ति सन्तुलनमा परिवर्तन आएको देखिन्छ। अब सभापति थापाले बाँकी चार सहमहामन्त्री र एक कोषाध्यक्ष मनोनित गर्नुपर्नेछ। निर्वाचनबाट बनेको नेतृत्वले पार्टीभित्रको समूहगत असन्तुष्टि व्यवस्थापन गर्दै संगठनलाई कसरी अघि बढाउँछ भन्ने विषय आगामी दिनमा महत्त्वपूर्ण हुनेछ।