Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काण्डै काण्डको वर्ष २०७६

२०७६ साल हामी साँझबाट बिदा भएर नयाँ वर्ष २०७७ को सुरुवात भएको छ। कोरोनाको मध्य कहरमा वर्ष फेरिँदै छ। यतिखेर वर्षान्तर हुँदैछ जतिखेर प्रहरीको रेकर्डमा अपराध करिब करिब शून्य छ ( कोभिड १९ को संक्रमणकै त्रासले। लकडाउनमा दुई वर्ष जोडिँदैछन्। तर, २०७६ साल धरैका लागि दुखद् नै रह्यो, विशेषगरी हाइ प्रोफाइलमा रहेकाहरुका लागि। यस वर्ष नेपालमा अन्य प्रकृतिका अपराधमा कमी देखिए पनि सामाजिक विकृतिका कारण निम्त्याएका अपराध भने बढे। बलत्कार, घरेलु झगडाले निम्त्याएको हत्या, छोराले बुबाको, श्रीमानले श्रीमतीको, प्रेमीले प्रेमीकाको हत्यका खबरले २०७६ साल हिंसात्मक रहिरह्यो।

त्यस बाहेक यस वर्ष विशिष्ट व्यक्ति (भिआइजी) अपराधका कारण चर्चामा रहे। व्यवस्थापिका संसदका सभामुखदेखि प्रदेशकासांसदसम्म विभिन्नखाले अपराधमा मुछिए। कानुन बनाउनदेखि कानुन कार्यान्वयन गराउनेसम्मका व्यक्तिले जेलभित्र बस्न बाध्य भए यस वर्ष।

सभामुख काण्ड 

चाँडको माहोलमा सबै रमाइरहँदा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई भने दशैं दशा बन्न पुग्यो। असोज १९ गते का दिन बालुवाटारस्थित सरकारी निवासबाटै कृष्णबहादुर महरा पक्राउ परे। उनीमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास भएको समाचार आएपछि महरालाई जोगाउन कसैले सकेनन्। असोज १२ गते आरोप लगाउने महिलाको कोठामा नै पुगेर बलात्कार गरेको आरोप लगाउँदै उजुरी पर्‍यो। त्यसपछि प्रहरीले महरालाई नियन्त्रणमा लिएर २९ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्‍यो। त्यसपछि जिल्ला अदालत काठमाडौंले जेल चलान गर्न आदेश दियो। उनी सदरखोर डिल्लीबजार पुगे।
त्यसपछि महरा उच्च अदालत पाटनको ढोका ढक्कढकाउन पुगे। तर, त्यहाँबाट पनि उनको पक्षमा आदेश आएन। जिल्लाको आदेश सदर गर्दै कारागारमा नै राख्न आदेश आयो। यस बीचमा महराको सभामुख पद खुस्किसकेको थियो।

फागुन ५ गते जिल्ला अदालत काठमाडौंले महराको मुद्दामा फैसला गर्दै सफाइ दिने निर्णय सुनायो। न्यायाधीश अमरराज पौडेलेको इजलासले कसुर प्रमाणित हुने अवस्था नदेखिएपछि सफाइ दिने फैसला सुनाउँदासम्म महराको सभामुख पद र भलाद्‍मी पहिचान माटोमा मिलिसकेको थियो। महरा १ सय ३ दिन डिल्लीबजार कारागारमा बिताएर निस्किए। उनले सांसद पद गुमाउनु परेन तर शाख पनि बाँकी बचेन उनको। न्यायालयको फैसलाले चोखिए पनि उनको निधारमा कलंकको टीका भने कहिल्यै नमेटिनेगरी लाग्यो।

१२ वर्षमा खाेलाे फर्कियाे

पूर्व मन्त्री मोहम्मद आफताव आलमका लागि पनि यस अफावसिद्ध रह्यो। १२ वर्षसम्म आफ्नो अपराधलाई पद र पावरले दबाउँदै आएका आलमको राजनीतिक तथा सामाजिक हैसियत यस वर्ष भने नराम्ररी सकियो। उनी रौतहट २ बाट प्रतिनिधिसभा सदस्य समेत थिए, नेपाली कांग्रेसबाट।

२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको गर्‍यो। २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लाग्दै आएको थियो। पीडित परिवारले आलमविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले २०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो।

जिल्ला अदालत रौतहटले उनलाई कार्तिक २९ गते थुनामा पठाउन आदेश दियो। सरकारकी वकिलको कार्यालयले कार्तिक १८ गते रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको थियो। आलम अहिले ललितपुरस्थित नख्खु कारागारमा समय कटाइरहेका छन्।

सांसदहरु माथि आरोप

जबरजस्ती करणीको अभियोगमा सुदूरपश्चिम प्रदेशका सांसद अक्कलबहादुर रावल पनि हिरासतमा बस्नु पर्‍यो यही साल। रावल फागुन २१ गते पक्राउ परेका थिए। यसअघि गत फागुन २२ अदालतले ४ दिन म्याद थप गरेको थियो भने २६ गते दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो।

अछाम स्थायी घर भइ धनगढी उपमहानगरपालिका वडा नम्बर–४ उत्तरवेहडीमा डेरा गरी बस्ने २५ वर्षीया विवाहित महिलालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा फागुन २१ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। माघ २१ गते जबरजस्ती करणी गरेको भन्दै रावलविरुद्ध पीडित महिलाले फागुन १४ गते प्रहरीमा जाहेरी दिएकी थिइन्।

कोरोना संक्रमणको कारण अहिले थुनामा रहेका थुनुवालाई परिस्थिति हेरेर उनलाई छोड्न आदेश दिएको छ।

त्यस्तै अपराधिक पृष्ठभूमिबाट नै प्रदेश सांसद बनेका दिपक मनाङ्गे पनि यस वर्ष हिरासतमा पुगे। तर, उनको लागि हिरासत नौलो भने थिएन। त्यसबाहेक अखिल नेपाल फुटबल संघ एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि सार्वजनिक स्थानमा हातपात गरेको आरोपमा उनलाई पक्राउ गरियो।

सासंद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङ पनि पुरानो हत्या प्रकरणमा तानिए। काठमाडौं जिल्ला अदालतले असोज ८ गते नै सासद गुरुङलाई पक्राउ गर्न पत्र जारी गरेको थियो। दोलखाबाट निर्वाचित सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। वीरध्वज खड्काको जाहेरीले गत वैशाख २९ गते काठमाडौं जिल्ला अदालतमा सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको थियो।

तारिखमा रिहाए भएका गुरुङ अहिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन्। संचारमन्त्री गोकुल बाँस्कोटा पनि ७० करोड घुस अभियोगमा तानिए। घुससँग जोडिएको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्रीपदबाट राजीनामा नै दिनुपर्‍यो।

हत्यासम्बन्धी मुद्दामा जेलमा रहेका गुन्डा नाइके समीरमान बस्नेतसँगको मिलेमतोमा फिरौती असुली गरेको अभियोगमा गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा समेत जेलमा छन्। नरेश गृहमन्त्री थापाका साँइला भाइ भए पनि दाइले बचाउन सकेनन् वा चाहेनन्१ अन्ततः अहिले पनि जेलमा नै हावा खाइरहनु परेको छ।

गत असोज १ गते जिल्ला अदालत काठमाडौंले उनलाई धरौटीमा छोड्ने आदेश दिएको थियो। तर, उच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीमनकुमार गौतमको इजलासले जिल्लाको आदेश उल्टाउँदै थापालाई थुनामा पठाउने निर्णय सुनाएका थिए। निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्यामा मुछिएका गुन्डा नाइके बस्नेतसँग मिलेमतो गरेर फिरौती असुली गरेको अभियोग थापामाथि लगाइएको छ।

धार्मिक गुरुका अपराध वर्ष

धार्मिक गुरुहरु यसवर्ष अपराधमा जोडिइरहे। राजनीतिक कनेक्सन बलियो भएका ुधर्मगुरुुलाई पनि कसैले जोगाउन सकेनन्। ुसिद्धबाबाु भनिने कृष्णबहादुर गिरी माथि बलत्कारको आरोप लाग्यो।

आफ्नै अनुयायीमाथि बलत्कारबाहेक उनीमाथि अरु आरोप पनि थिए। तर, प्रहरी र अदालतसमक्ष पुर्‍याएको घटना भने ुरेपु नै हो। सरकारी जग्गा हडपेको, दुई वटा नागरिकता लिएको, ठगी जस्ता आरोपलाई सहजै पचाएका सिद्धबाबा बलात्कार केशमा हिरासत नै बस्नु पर्‍यो। तर, अरुले जस्तो प्रहरीको चिसो कारागार होइन, अस्पतालको भिआइपी डिलक्स क्याविनमा।

बलात्कारको आरोप लागेका गिरीलाई जिल्ला अदालत सुनसरीले ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको पुस १४ को आदेशले गिरी धरौटीमा छुटेका थिए। तर, उच्च अदालतले जिल्लाको निर्णय उल्ट्याउँदै जेल चलान गर्न निर्देशन दियो। तर, उनी निर्देशन सुनाउन अघि नै फरार भए। फागुन २० गते उनी अदालतमा हाजिर भए। अहिले उनी पूर्पक्षका लागि थुनामा छन्। गिरीमाथि आफ्नै महिला अनुयायीलाई गत ४ कात्तिकमा करणी गरेको आरोप लागेको छ।

यस वर्ष क्रिश्चियन धर्मका पाष्टरसमेत समातिए। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर कुसुन्तिस्थित आशा विश्वासी मण्डली चर्चका पाष्टर विश्वास जोशी भनिने ध्रुवबाब जोशीलाई समातेको थियो। उनी माथि पनि यौन अपराध नै लागेको हो।

चिनियाँ ह्याकरले सताएको वर्ष

भदौको दोस्रो साता चिनियाँ ह्याकरले कारण त्रासित बनायो। एटिएमको पिन नम्बर ह्याक गरेर बैंकबाट रकम झिके। चीनबाट लुट्नकै लागि उनीहरु नेपाल आएको खुल्यो। पक्राउ परेका चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई थुनामा पठाएको छ। विदेशी नागरिकको साथबाट साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो।

कृषि विकास बैंक पनि लुटेराको आखामा पर्‍यो। बैकको कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिलेसम्म प्रहरीले २० जना भन्दाबढीलाई समातिसकेको छ। केही पुर्पक्षको लागि थुनामा छन्।

पुस ७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र चीनको एनसीबी बेइजिङको संयुक्त अपरेसन गर्‍यो। राजधानीका विभिन्न स्थानबाट १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरे। उनीहरु नेपालमा वित्तिय अपराध गर्न आएको खुल्यो। उनीहरुले नेपालमा अफिस नै खडा गरेर अपराध गरिरहेको देखियो। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारमा जनही एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने आदेश दिएपछि उनीहरुलाई चीन नै फर्काइयो।

बलत्कार, हत्याका घटनापनि यस वर्ष समचार बनिनै रहे। २०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको बलत्कारपछि हत्या गर्ने भने यो वर्ष पनि प्रहरीले पत्ता लगाउन सकेन।

गायिका आस्था राउतको विमानस्थलमा प्रहरीसँगको विवाद, गायक भिटेन, प्रनेस गौतम प्रकरणले प्रहरीलाई सक्रिय बनाइ नै रह्यो। यो वर्ष महिला माथि भएका एसिड आक्रमणका घटना सुनिरहे।  (सविन ढकाल)


सम्बन्धित समाचार