Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

काबुल विमानस्थलमा विस्फोटपछि अमेरिकाले दियो बदला लिने चेतावनी

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका छन् । पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि गरेको छ । विस्फोटमा ११ अमेरिकी मरिन र एक नेभीका स्वास्थ्यकर्मी रहेका छन् । सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो । सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो ।
पश्चिमा सरकारले विमानस्थलमा इस्लामिक स्टेटको अफगानिस्तान ब्रान्च आईएस–केले हमला गर्न सक्ने चेतावनी आफ्ना नागरिक जारी गरेको केही घण्टापछि नै विमानस्थलमा विस्फोट भएको थियो । स्थानीय समअनुसार साँझ ६ बजे विमानस्थलसँगै रहेको बारोन होटलको नजिकै पहिलो विस्फोट भएको थियो । उक्त होटलमा बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका थिए ।
त्यसलगत्तै गोलीबारी शुरु भएको थियो भने विमानस्थलको मुख्य द्वारमध्ये एक एबे गेट नजिकै दोस्रो विस्फोट भएको थियो ।
यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल घटनाका दोषीमाथि बदला लिने चेतावनी दिएका छन् । ‘हामी माफी दिने छैनौ । हामी बिर्सने छैनौँ । हामी तिमीहरुलाई खोजेर यसको मूल्य चुकाउन लगाउने छौँ,’ उनले भने । उनले यस्ता आतंकवादी हमलाबाट अमेरिका विचलित नहुने र उद्धारको कामलाई जारी राख्ने पनि स्पष्ट पारे ।