Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मैले माओवादी आन्दोलनको रक्षा गर्दै बलियो पार्टी बनाउन बिनाकुनै पूर्वाग्रही ढंगले प्रस्ताव गरेको हुँ, शर्माले भने, पार्टी बैठकमा छलफलका लागि राखिएको हो । छलफल र बहसले नै पार्टी बलियो हुन्छ भन्ने मेरो विश्वास हो । शर्माले महाधिवेशन, विधान सम्मेलन र केन्द्रीय समितिमा आफूले राखेका फरक मतका आधारमा अध्यक्ष दाहालले पूर्वाग्रही ढंगले व्यवहार गरेको आरोपसमेत लगाएका छन् । खुमलटारबाट फलानो एमालेमा जाँदै छ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो, उनले थपे, मूल नेतृत्व नै पार्टी फुटतिर उन्मुख छ ।
गत माघमा भएको केन्द्रीय समितिमा शर्माले नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गरेपछि गत जेठमा पोखरामा भएको गण्डकी प्रदेशस्तरीय पार्टी प्रशिक्षणमा दाहालले पार्टी फुटाउने षड्यन्त्र भएको बताएका थिए । दाहालको त्यही अभिव्यक्ति देशभर फैलिएको शर्माको दाबी छ ।
देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने जनार्दनले हो भनेर बालुवाटारबाटै भनिदिएपछि कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ,उनले लेखेका छन्, यस विषयमा देशभरिबाट दैनिक सयौंले फोन गरी पार्टी फुट्दै हो भनी सोध्ने गरेका छन् । यो कुरा अन्य राजनीतिक दल, सुरक्षा निकाय, ब्युरोक्रेसीसमेतमा चासोको विषय बनेको छ । उनले पार्टीभित्रका विवाद र प्रश्नहरूलाई सम्बोधन गर्नुको साटो अध्यक्ष दाहालबाटै नयाँ–नयाँ अन्तरविरोध सिर्जना गर्ने गरिएको समेत दाबी गरेका छन् । ‘स–साना अन्तरविरोध समाधान गर्न झन् ठूलो अन्तरविरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको छ, उनले लेखेका छन् ।
२०७८ पुस दोस्रो साता काठमाडौंमा प्रत्यक्ष निर्वाचित नेतृत्व हुनुपर्ने र नेतृत्व हस्तान्तरणको मागलाई विशेष अधिवेशनको घोषणा गरी दबाएको शर्माको भनाइ छ । त्यसबेला घोषणा भएको विशेष महाधिवेशन अझै हुन सकेको छैन । अध्यक्षमा दाहाललाई चयन गर्दै सकिएको महाधिवेशनले अपूर्ण केन्द्रीय समिति चयन गरेको थियो । केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन भने पदाधिकारी चयन हुन आठ महिना लागेको थियो । आठौं महाधिवेशनको समापनपूर्व नै विशेष महाधिवेशनको घोषणा गरेर महाधिवेशनको महत्त्वलाई हलभित्रै समाप्त पारेकामा दाहालले जवाफ दिनुपर्ने उनको माग छ । गत फागुनमा भएको विधान महाधिवेशनमा पनि नेतृत्व हस्तान्तरण हुनुपर्ने, नेतृत्व प्रत्यक्ष निर्वाचनबाट चयन हुनुपर्ने माग उठेको थियो । त्यसबेला विधानमा केन्द्रीय समिति प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रावधान पारित भएको थियो ।
२०७८ पुसमा सम्पन्न आठौं अधिवेशनमा हालका उपमहासचिवद्वय वर्षमान पुन र शर्मा महासचिवका प्रमुख दाबेदार थिए । तर दाहालले महासचिवमा देव गुरुङलाई ल्याए । दाहालले ‘पार्टी नेतृत्व ठूलो त्याग, विचारबाट मात्र जन्मिने भन्दै आक्रोश पोखेका थिए । २०७९ को आम निर्वाचनपछि प्रधानमन्त्री भएका दाहालले शर्माले पार्टी फुटाउन देशव्यापी अभियान चलाएको निकट नेतासँग भनेका थिए ।
‘सरकारमा रहँदा कहिले जनार्दन त कहिले वर्षमानका विरुद्ध बालुवाटारबाटै गरिएका दुष्प्रचारसम्बन्धी प्रश्न’ को उत्तर दाहालले दिनुपर्ने शर्माको माग छ । उनले ‘जसबारे समीक्षा, स्पष्ट छलफल, आलोचना–आत्मालोचनातिर नलागी पार्टी फुट्दै छ भनेर आम पंक्तिलाई भ्रमित गर्ने, त्रसित गर्ने, सांसदहरूले मेराविरुद्ध हस्ताक्षर गरिसके भनेर अफवाह फैलाउने, जसले पार्टी र नेतृत्वलाई नै ठूलो क्षति पुर्याइरहेको छ, शर्माको प्रश्न छ । शर्माले आफू २०७८ मा अर्थमन्त्री हुँदा एक व्यापारीका नाममा विदेशबाट शंकास्पद रूपमा आएको ४० करोड रुपैयाँबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्र बैंकलाई छानबिनका लागि गरेको आग्रहलाई प्रधानमन्त्री भएका बेला दाहालले प्रतिशोध साध्न राज्य शक्तिको दुरुपयोग गर्न खोजेको भन्दै प्रश्न उठाएको स्रोत बताउँछ ।
अध्यक्ष दाहालले नै नेताहरूलाई फुटाउन समानान्तर कमिटीहरू बनाएको समेत शर्माको आरोप छ । माओवादीनिकट अखिल क्रान्तिकारीको २०७८ असोज राष्ट्रिय सम्मेलनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरे पनि पवन कार्की समूहले समानान्तर समिति बनाएको थियो । आफु समर्थक सिंहको विरुद्ध समानान्तर समिति बनाउन दाहालको हात रहेको शर्माको आरोप छ । २०७९ को निर्वाचनमा कांग्रेससँग गठबन्धन गरे पनि प्रधानमन्त्रीका लागि त्यसलाई तोडेर एमालेसँग सहकार्य र त्यसपछि राष्ट्रपतिमा कुरा नमिल्दा दुई महिनामै कांग्रेससित गठबन्धन र फागुनमा फेरि एमालेसँग मिल्नुको औचित्य पुष्टि गर्न दाहाललाई शर्माले चुनौती दिए । दाहाल संघीयता कार्यान्वयनमा समेत चुकेको शर्माको ठहर छ । २०७९ फागुनमा कोशी प्रदेश नामकरण गर्ने बेलासमेत अध्यक्ष दाहालले किराँत नाम जोड्न असहमति जनाएकामा पनि शर्माले प्रश्न गरेका छन् ।
अध्यक्षको कार्यशैलीप्रति प्रश्न गरेकै कारण कार्यक्षेत्रबाट बेदखल गर्ने प्रवृत्तिप्रति शर्माले तिखो टिप्पणी गरेका छन् । माओवादीले विगतका मुद्दा भुल्दा आन्दोलनमा साथ दिएका वर्ग पनि अलग हुँदै जानुमा मुख्य गरी गलत नीति र व्यवहार जिम्मेवार रहेको उनको भनाइ छ । पार्टीमा परिवारवाद हाबी भएपछि आम जनताबाट अलग हुने अवस्था आएको भन्दै दाहालको नाम नलिई उनले सचिवालयदेखि टिकट वितरण, पार्टी जिम्मेवारीमा दाहालले छोरी, ज्वाइँ, बुहारीलाई अघि सारेको संकेत गरेका छन् । अध्यक्षविरुद्ध फरक मतलाई निषेध गरेको समेत उनको आरोप छ । ‘पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गयो । फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गयो । कम्युनिस्ट स्पिरिटअनुसार सामूहिक छलफल, बहसको परिपाटी कमजोर हुन पुग्यो, शर्मा भन्छन्, पार्टीलाई आम जनताबाट अलगथलग मात्र पारिएन, माथिदेखि तलसम्म परिवारवाद हाबी गराइयो ।
सोमबार स्थायी समिति बैठकपछि पार्टी अन्तरसंघर्षबारे सोधिएको प्रश्नमा दाहालले भने, केही हुँदैन सबै मिलेर जान्छ । तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही हुँदैन, उनको भनाइ थियो । राजनीतिक विश्लेषक श्याम श्रेष्ठले अध्यक्ष दाहालले पार्टी निर्माणका लागि आत्मसमीक्षा गरी पार्टी निर्माणमा लाग्ने कमै सम्भावना भएको बताए । पार्टीभित्र उठेका जायज फरक मतलाई सम्बोधन गरी मूल नेतृत्व अघि बढ्ने देखिँदैन, उनले भने, माओवादीको मूल नेतृत्वले जतिसुकै पार्टी निर्माणका लागि आन्दोलन भने पनि सत्तामोह त्याग्ने देखिँदैन । अब पनि सिंहदरबारमा जाने अवसर आए अध्यक्ष प्रचण्ड नै अघि सर्ने देखिन्छ ।
कुनै बेला दाहालका विश्वासपात्रका रूपमा चिनिन्थे शर्मा । तर, उनै शर्मा अहिले दाहालको कटु आलोचक बनेका छन् । दाहाल र शर्माबीचको सम्बन्ध केही वर्षयता हार्दिकतापूर्ण छैन । २०७८ पुसको महाधिवेशनले दुईबीचको दूरी थप बढायो ।
२०७८ माघमा भएको पार्टी महाधिवेशनमा दाहालले शर्मालाई महासचिव बनाउने भने पनि पदाधिकारी चयन गर्ने बेला देव गुरुङलाई बनाए । त्यसपछि शर्मा दाहालको किचन क्याबिनेट बाट बाहिरिए । रुकुम पश्चिमबाट निर्वाचित शर्मा पार्टीमा जिम्मेवारीविहीन जस्तै छन् ।
फागुन दोस्रो साता स्थायी समितिले नेताहरूको कार्यविभाजन गर्नुअघि उनी वाग्मती प्रदेश इन्चार्ज थिए । कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै शर्माले नोट अफ डिसेन्ट लेखेका थिए । उनले जनप्रतिनिधिले पार्टीको जिम्मेवारी नलिने नीतिमा अध्यक्ष दाहालमाथि नै प्रश्न गरेका थिए । माओवादी विधान अधिवेशनमा शर्माले प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयन हुनुपर्ने लबिइङ गरेका थिए । केन्द्रीय समिति बैठकमा समेत शर्माले नेतृत्वमा रहेका नेताहरूले अवकाश लिएर युवालाई हस्तान्तरण गर्नुपर्ने धारणा राखेका थिए ।
साढे तीन दशकदेखि पार्टीको नेतृत्व गर्दै आएका दाहालको नीति तथा कार्यशैलीप्रति असहमति जाहेर गर्दै शर्माले उनको नेतृत्वमा पार्टी बन्न नसक्ने निष्कर्ष निकालेका छन् । उनले आफ्नो लिखित प्रस्तावमा दाहालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्ताव मात्र गरेका छैनन्, माओवादी कमजोर हुनुको मुख्य जिम्मेवारीसमेत लिनुपर्ने बताएका छन् । उनले ‘यस प्रस्तावलाई कुनै आग्रह पूर्वाग्रहका रूपमा नलिई पार्टी निर्माणका लागि गरिएको बहसको विषयका रूपमा ग्रहण गरिनेछ भन्ने विश्वास लिएको बताएका छन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल