Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कुलमानको समूहमा बढ्यो विवाद

काठमाडौं । वैकल्पिक शक्तिहरु एकजुट हुने भनिए पनि रास्वपाले भित्र्याएका दलहरुभित्र आन्तरिक असन्तुष्टि चुलिएको छ । उज्यालो नेपाल पार्टीले केन्द्रीय सदस्यमा रहने नाम बुझाउन ढिलाइ गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता समायोजनको प्रक्रिया रोकिएको छ। उनेपाले पाउने संख्या यकिन नहुँदा नाम पठाउन नसकेको नेता जीतराम वाइबाले बताए। जसकारण रास्वपाको केन्द्रीय कमिटीले पूर्णता पाउन सकेको छैन। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग पुस २३ गते भएको सहमति अनुसार आइतबार साँझ २६ जना केन्द्रीय सदस्य रास्वपामा मनोनीत भएका छन्। तर, कुलमानको समूहबाट केन्द्रीय सदस्यको नाम पठाइएको छैन।रास्वपामा समायोजन हुँदा उनेपाले पाउने संख्यामा कुरा नमिलेको नेता गणेश घिसिङको भनाइ छ। पुस १४ गते भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास मन्त्री कुलमान घिसिङसँग रास्वपाका सभापति रवि लामिछानेले ७ बुँदे सहमति गरेका थिए। रास्वपासँग एकता भएपछि उनेपालाई २० प्रतिशत समानुपातिक र ३० प्रतिशत प्रत्यक्ष उम्मेदवार तथा २६ जना केन्द्रीय सदस्य दिने समझदारी भएको गणेश घिसिङको दाबी छ। सोही अनुसार समानुपातिकमा १८ जनाको नाम पठाए पनि १४ जना मात्र बन्दसूचीमा समावेश गरिएपछि नेताहरू असन्तुष्ट भएको घिसिङ बताउँछन्। त्यसमाथि, केन्द्रीय समितिमा समेत सहमति गरिएभन्दा अत्यन्त कम संख्या दिने प्रस्तावले माहोल बिगारेको उनको भनाइ छ। हामीले २६ जना केन्द्रीय सदस्य पाउनैपर्ने अडान राखेका छौँ, यसबाट पछि हट्न गाह्रो छ, उनले भने। तर, रास्वपाका सचिवालय सदस्य विराजभक्त श्रेष्ठले उनेपालाई १८ जना केन्द्रीय सदस्य दिने समझदारी जुटिसकेको र सोही अनुसार बालेनको तर्फबाट २६ जना मनोनयन गरिएको दाबी गरे। यही कुराले उनेपाभित्र विवाद बढ्न थालेको छ। असन्तुष्ट नेताहरूले छुट्टै पार्टी चलाउने चेतावनी दिएका छन्। रास्वपासँग समायोजन गर्दा सम्मानजनक हुनुपर्छ भन्ने साथीहरूको भनाइ छ, असन्तुष्ट एक नेताले भने, पहिले दिने भनिएको संख्याबाट पनि घटाउने कुरा कसरी मान्न सकिन्छ र ? उनेपाका अर्का नेताले पनि रास्वपाबाट आएको प्रस्ताव अनुसार नै नाम तयार पार्ने काम भइरहेको सूचना पाएपछि केही नेताले असहमति जनाएको बताए। उनेपाका नेता जीतराम वाइबा पनि संख्याकै कारण नेताहरू बिच्किने खतरा भएको बताउँछन्। त्यही भएर अन्तिम सूची बनाउन नसकेको उनको भनाइ छ। उनेपाले झण्डै सय जनाको केन्द्रीय समिति बनाइसकेको र प्रदेश संरचना समेत बनाइसकेकोले नेता व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाइ छ। प्रतिनिधि सभाको प्रत्यक्षतर्फको चुनावको लागि आगामी माघ ६ गते उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको छ। त्यसअघि नै सहमति नजुटे उम्मेदवार छनोटमा समस्या हुने नेताहरू बताउँछन्। समानुपातिक सूचीमा पनि असहमति जनाउँदै नाम फिर्ता लिन उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय आफैँ निर्वाचन आयोग पुगेका थिए। यद्यपि, यसबारे विवाद गरेर जान नहुने पक्षमा केही नेता उभिएपछि उनी फर्किएका थिए।अहिले फेरि केन्द्रीय समितिमा रहने संख्याले उनेपाभित्र विवाद चर्काउन थालेको छ। कुलमानले आन्तरिक छलफल गरेर निकास निकाल्ने प्रयास गरे पनि सकिरहेका छैनन्। नेताहरूका अनुसार यदि उनेपाभित्र कुरा नमिलेको अवस्थामा थोरै संख्यामा नाम पठाएर रास्वपासँग एकता समायोजन थालिहाल्ने विषयमा पनि कुरा भइरहेको छ। कुलमान घिसिङलाई उपसभापति र रवि लामिछानेपछिको दोस्रो वरीयता दिइसकेकोले उनीसहित सानो संख्यामा केन्द्रीय सदस्यको नाम दिने तयारी भइरहेको अर्का नेताले बताए। तर, त्यसअघि रवि र कुलमानबीच कुराकानी भएर सहमति जुट्नेमा उनेपाका नेता वाइबा आशावादी छन्। रास्वपासँगको एकताको निर्णय कुलमान घिसिङले गरेकोले पदाधिकारी, केन्द्रीय समिति लगायत समायोजनबारे उनैले मिलाउनुपर्ने गणेश घिसिङको भनाइ छ।


सम्बन्धित समाचार