Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
डा. नितेश घिमिरे
कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्र नामक सूक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । पहिलो पटक सन् १८७३ मा नर्वेका वैज्ञानिक डा. जीए ह्यानसनले कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनी पत्ता लगाएका थिए । त्यसैले यसलाई ह्यानसेन्स रोग पनि भनिन्छ । प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतवार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ । समाजमा कुष्ठरोगप्रतिको पुरानो धारणामा अझै पूर्णरूपमा परिवर्तन आइसकेको छैन । अझै पनि कुष्ठरोगलाई महारोग, उपचार हुन नसक्ने र अत्यन्त छिटो सर्ने प्रकृतिको सङ्क्रामक रोगको रूपमा लिने गरिन्छ । त्यसैले सबैभन्दा पहिले कुष्ठरोग अत्यन्त कम सर्ने र अन्य रोगहरू जस्तै सजिलै उपचार हुन सक्ने रोग हो भन्ने कुरा सबैले बुझ्नु र सोहीअनुसार उपचारको खोजी गर्नु अत्यन्त आवश्यक छ ।
कुष्ठरोगको चिह्न र लक्षण
शरीरको कुनै भागमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दागहरू देखा पर्नु सुरुको चिह्न हो । यसबाहेक अनुहार र कानका लोतीमा गिर्खाहरू देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौँ झरेर जानु कुष्ठरोगका चिह्नहरू हुन् । अन्त्यमा अपाङ्गता हुन सक्छ । स्नायुमा असर पर्न जाँदा हातखुट्टाहरू लगातार झम–झम गर्नु, स्नायु सुन्निनु, दुख्नु, हातखुट्टा छुँदा थाहा नहुनु, मांसपेशीहरू कमजोर हुनु आदि लक्षण भेटिएमा कुष्ठरोग हो कि भनि शङ्का गर्न सकिन्छ ।
वर्तमान अवस्था
नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । प्रति १० हजार जनसङ्ख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । नेपालमा निवारण भएको घोषणा गरेको अवस्थामा प्रति १० हजार जनसङ्ख्यामा ०.८९ कुष्ठरोगी थिए । जुन निवारणपछिका केही वर्षसम्म घटेको देखिएको थियो र २०७३।०७४ मा बढेर ०.९२ पुगेको र हाल आएर सो सङ्ख्या प्रतिदश हजार जनसङ्ख्या झन्डै २ जना पुगिसकेको छ । माथिको तथ्याङ्कलाई हेर्दा नेपालमा कुष्ठरोग निवारण भयो भनेर ढुक्कसँग बस्ने अवस्था छैन । १८ जिल्लाहरूमा निवारणको अवस्था नहुनु र प्रतिवर्ष ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिनुका साथै स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिरै रहेको जनसङ्ख्या पनि उल्लेख्य छ । कुष्ठरोगप्रतिको नकारात्मक सोच र सही जानकारीको अभावले रोग लुकाउने र समयमै उपचारको खोजी नगर्ने प्रवृत्तिले गर्दा कुनै समयमा यसको प्रकोप भयावहरूपमा देखिन सक्ने सम्भावना टरिसकेको छैन है भन्ने कुरामा हामी होसियार नै रहनुपर्छ ।
कुष्ठरोगका प्रकार
कुष्ठरोगका चिह्न र लक्षणको आधारमा यसलाई दुई भागमा बाँड्न सकिन्छ–
१) बढी किटाणु भएको अर्थात् (एमबी) कुष्ठरोग,
२) कम किटाणु भएको अर्थात् (पीबी) कुष्ठरोग ।
कुष्ठरोगको उपचार के हो ?
यसको उपचार बहुऔषधि विधिबाट गरिन्छ । जसअनुसार बढी किटाणु भएका अर्थात् (एमबी) कुष्ठरोग बिरामीले १२ महिना र कम किटाणु भएका अर्थात् (पीबी) कुष्ठरोग बिरामीले ६ महिना नियमित औषधि सेवन गर्नुपर्दछ । बिरामीले घरैमा बसेर औषधि सेवन गर्न सक्दछन् । बहुऔषधिको १ मात्राले नै ९९ प्रतिशत किटाणु निष्क्रिय बनाइदिन्छ । तसर्थ उपचार गरेका बिरामीबाट रोग अरूलाई सर्दैन । कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । साथै, हाल नेपाल सरकारले उपचार पूरा गरेका तथा विशेष सेवाका लागि अस्पतालमा भर्ना हुँदा यातायात खर्च रू. १ हजार उपलब्ध गराएको छ ।
औषधिको साइड इफेक्ट
कुनै पनि रोगका औषधिको साइड इफेक्ट भए जस्तै कुष्ठरोगको पनि केही साइड इफेक्ट देखिन्छ । जस्तै– खानामा रुचि नहुने, वाकवाकी लाग्ने, कहिलेकाहीँ रुघाखोकी र सामान्य ज्वरो पनि आउने गर्छ । तर यस्तो समस्यामा खासै आत्तिनुपर्दैन । तर बढी नै समस्या देखिन थाल्यो भने नजिकको स्वास्थ्य संस्था जानुपर्दछ ।
सोच्न्नै पर्ने विषय
नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण घोषणापछिको अवस्थामा विश्व स्वास्थ्य सङ्गठनलगायत कतिपय दातृ संस्थाहरूले कुष्ठरोगको उपचार र पुनस्र्थापनाको लागि सहयोग गर्ने काम बन्द गरिसकेका छ्न् । यस क्षेत्रमा तालिम प्राप्त जनशक्तिको अभाव खड्किइसकेको छ । एकीकृत स्वास्थ्य सेवा प्रणालीद्वारा नेपाल सरकारका स्वास्थ्य संस्थाहरूबाटै नियमित औषधि उपलब्ध गराउने व्यवस्था भए तापनि तालिम प्राप्त जनशक्तिको अभाव र समुदायमा जानकारी नभएका कारण सेवाको प्रभावकारितामा प्रश्न खडा भएको छ । जनचेतना जगाउने ः कुष्ठरोगको बारेमा समाजमा अझै पनि अन्धविश्वास व्याप्त छ । समुदायमा पनि व्यापक जनचेतना जगाई कुष्ठरोगीलाई सामान्य व्यक्तिसरह व्यवहार गर्ने, भेदभाव नगर्ने र परिवारमा आवश्यक माया ममता र सहयोगको वातारण हुनु आवश्यक छ । समाजका सबै सरोकारवालाहरू, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, धामीझाँक्री र परम्परागत उपचारमा संलग्न व्यक्ति, सामुदायिक समूह सबैमा कुष्ठरोगका बारेमा सत्यतथ्य जानकारी र सकारात्मक सोचको खाँचो छ । यस्तो भएमा मात्र कुष्ठरोगको निदान र निवारणमा सहयोग पुग्छ ।
२०८१ कार्तिक १८
ताजा नेपाल
२०८१ कार्तिक ८
ताजा नेपाल
२०८१ कार्तिक ७
ताजा नेपाल