Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केन्द्रले तोकेजस्तो सहज छैन गठबन्धन

  • अर्जुन ज्ञवाली

स्थानीय निकायको निर्वाचन मिति नजिकिँदै जाँदा सत्तारुढ गठबन्धन र प्रतिपक्ष गठबन्धनबीच चर्को बहस र विवाद सिर्जना भएको छ । केन्द्रमा जतिसुकै गठबन्धनको रट लगाए पनि स्थानीय स्तरमा त्यसको प्रभाव झण्डै शुन्य जस्तै देखिन्छ । प्रतिपक्षी दल नेकपा एमालेले अस्तित्व विहीन भइसकेको कमल थापाको राप्रपा नेपाल र एकनाथ ढकालको परिवार दलसँग गठबन्धनको घोषणा गरेपछि पछिल्लो पटक कमल थापाको बहिर्गमनसँगै प्रभाव विस्तार गरेको राप्रपाले स्थानीय स्तरमा आफ्नो अनुकुल गठबन्धन गर्ने संकेत दिएको छ । एमाले अध्यक्ष केपी ओलीले जतिसुकै गठबन्धन बिना एमाले चुनावमा जान तयार छ भन्ने उद्घोष गरे पनि भित्रभित्रै उनी प्रतिपक्ष गठबन्धनका लागि दौडधूप नगरेका होइनन् ।

उनले सबैभन्दा पहिला राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलसमशेर राणासँग भेटघाट गरेका थिए । उनलाई राप्रपाको महाधिवेशनमा कमल थापाले निश्चित रुपमा अध्यक्ष जित्ने र त्यो एमालेको अनुकुल हुने ठहर थियो । त्यसको विपरित परिणाम आएपछि उनले वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई नयाँ बहर भनेर व्यङ्ग्य गरेका थिए । ओलीकै क्षेत्रको दमक नगरपालिकामा एमालेसँग राप्रपा प्रतिस्पर्धामा छ । यसकारण जित सुनिश्चित गर्नका निम्ति राप्रपाले एमाले इतर दलहरूसँग गठबन्धन गर्नुपर्ने हुन्छ । त्यसैगरी पश्चिमको नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको एमाले, काँग्रेस र समाजवादी तिनै दलसँग प्रतिस्पर्धा हुनेछ । यो अवस्थामा त्यहाँ पनि उसले आफ्नो जित सुनिश्चित गर्न एमाले बाहेकका दलहरूसँग गठबन्धन गर्नुपर्ने हुन्छ ।

त्यसैगरी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा राप्रपा एमालेसँग प्रतिस्पर्धामा छ । यो अवस्थामा त्यहाँ पनि एमाले बाहेकका दलहरूसँग जित सुनिश्चित गर्न उसले गठबन्धन गर्नुपर्ने हुन्छ । यो कुरा बुझेका ओलीले कमल थापालाई सूर्य चिन्ह दिएर राप्रपालाई साइजमा ल्याउन सकिन्छ कि भन्ने आशाका साथ कुख्यात मण्डले कमल थापालाई अघोषित रुपमा एमालेमा भिœयाएका छन् । राष्ट्रघाती महाकाली सन्धि गर्ने क्रममा महाकालीबाट १ खर्ब २० अर्ब आम्दानी हुन्छ भन्ने केपी ओली र भारतीय दूतावासको भारु लिएर महाकालीमा समर्थन गर्न पुगेका राष्ट्रवादका खोल ओडेका कमल थापामा तात्विक भिन्नता छैन ।

फरक के हो भने कमल थापा सरदचन्द शाह केन्द्रका घोषित पुत्र हुन् भने केपी ओली अघोषित । अहिलेको कमल थापा र ओलीको घाँटी जोडिनु त्यही पुरानो शरदचन्द शाह लिगेसी हो । निर्मल निवासलाई धोका दिएर बाहिरिएका कमल थापासँग न त यतिबेला पुरानो दरबारको लिगेसी छ नत सेनाको लिगेसी छ । भारतमा पनि सुष्मा स्वराजको मृत्युपछि भाजपाभित्र थापाको लिगेसी रहेको छैन । यो अवस्थामा थापासँग ओलीसँग हारगुहार गरेर एमालेभित्र पस्नुभन्दा अर्को विकल्प थिएन ।

अर्कोतर्फ सत्तारुढ पाँच दलीय गठबन्धन पनि आफैंमा पूर्व, पश्चिम, उत्तर र दक्षिण मुख फर्किकाहरूको समूहबाट केन्द्रमा हल्ला गरेजस्तो तल गठबन्धन गर्न सहज छैन । भरतपुरमा यदि काँग्रेसले केन्द्रबाट माओवादी केन्द्रलाई दिने हो भने काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तनहुँमा नेपाली काँग्रेसका पुराना खम्बा गोविन्दराज जोशीसमूहले स्थानीय तहदेखिनै एमालेसँग गठबन्धन गर्ने निर्णय गरिसकेको छ । यसको सिंगो प्रभाव गण्डकी अञ्चलमा पर्दछ । रोल्पा र रुकुममा घोषित रुपमा अहिले नेत्रविक्रम चन्द विप्लवले टिकट नलिए पनि, चुनावमा भाग नलिए पनि स्वतन्त्र रुपमा सूर्य चिन्ह लिएर लड्ने प्रयत्न भइरहेको छ ।

रोल्पाको थवाङमै जुन ऐतिहासिक ठाउँ हो जुन ठाउँमा पञ्चायतकालदेखिनै हरेक संसदीय र पञ्चायती निर्वाचनहरू बहिष्कार गर्दै आइरहेका थिए त्यहाँबाट विप्लवका कार्यकर्ता सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवारको रुपमा उठ्दैछन् भने अर्कोतर्फ रोल्पा र रुकुममा सत्तारुढ नेपाली काँग्रेस र प्रतिपक्षी एमालेले सत्तारुढ माओवादी केन्द्रविरुद्ध गठबन्धनको प्रयत्न गरिरहेको छ । कुनै समय टाउकाको मूल्य ५० लाख तोक्ने शेरबहादुर देउवा र मूल्य तोकिने प्रचण्डको गठबन्धन केन्द्रमा सहज भए पनि स्थानीय स्तरमा सहज छैन । किनभने १० वर्षको माओवादी हिंसामा सबैभन्दा धेरै नेपाली काँग्रेसका राजनीतिक कार्यकर्ताहरू माओवादीद्वारा हत्या गरिएका छन् भने घरवारविहीन र विस्थापित पनि काँग्रेसहरू नै भएका छन् । यसकारण माओवादी र काँग्रेसको गठबन्धन भए पनि यसरी पीडित परिवार र राजनीतिक कार्यकर्ताहरूले माओवादीलाई मत नहाल्ने कुरा निश्चित जस्तै छ ।

यसकारण यसको फाइदा स्वाभाविक रुपमा प्रतिपक्षी एमालेले लिने देखिन्छ । अर्कोतर्फ प्युठान र बागलुङको एउटा कुनामा सीमित रहेको राष्ट्रिय जनमोर्चा नेपालले आफ्नो हैसियतभन्दा धेरै च्याखे थापेपछि प्युठानमा गठबन्धन गर्न त्यति सहज देखिँदैन । जहाँसम्म एमाले विभाजन गरेर नेकपा समाजवादी गठन गरेका माधव नेपालको प्रश्न छ उनको स्थानीय तहमा सोचेजति प्रभाव देखिँदैन । धादिङ, मकवानपुर र सुदूरपश्चिममा माधव नेपालको प्रभाव केही देखिए पनि अन्य क्षेत्रमा नगन्य छ । यो अवस्थामा उनले पनि आफ्नो हैसियत भन्दा धेरै गठबन्धनमा स्थान खोजेपछि पाँच दलीय गठबन्धन अर्को संकटमा फसेको छ ।

अर्को बिर्सन नहुने कुरा के हो भने प्रतिपक्षी दल नेकपा एमाले पनि माओवादी विहीन एमाले होइन । माओवादी युद्धकालका हस्ति रामबहादुर थापा, लेखराज भट्टदेखि टोपबहादुर रायमाझी र प्रभु साह अहिले पनि एमालेमै छन् । उनीहरूले माओवादीका तल्लो तहका कार्यकर्ताहरू एमाले भिœयाउन पहल गरिरहेका छन् । दाङमा कृष्णबहादुर महराका स्वकिय सचिवदेखि चितवनमा प्रचण्डका साढुभाइसम्म एमालेमा भिœयाउने कार्य बादलकै पहलमा भइरहेको थियो र अन्यत्र पनि त्यसैगरी स्थानीय तहका माओवादीहरूलाई एमालेभित्र भिœयाउने प्रयत्न भइरहेको छ । माथिको गणितमा संख्या जे जस्तो देखिए पनि एमालेले आफूबाट विभाजन भएर गएको माधव नेपाल समूहको संख्या आफूभित्र रहेका माओवादीबाट पूरा गर्न सकिने आँकलन गरिरहेको छ ।

अर्कोतर्फ तराईको दक्षिणी क्षेत्रमा जुन रुपमा बिराटनगरदेखि कपिलवस्तुसम्म एमालेभित्र मानिसहरू प्रवेश गराइएको छ त्यसमा कहिं न नहीं भारतको संस्थापन पक्षको प्रभाव छ भन्ने कुरा स्वाभाविक रुपमा बुझ्न सकिन्छ । यसले पनि सत्तारुढ गठबन्धनभित्र जतिसुकै काँग्रेसले वामपन्थी विभाजनको फाइदा आफूलाई हुन्छ भन्ने आँकलन गरे पनि त्यति सजिलो छैन । नेपाली काँग्रेसको आधारक्षेत्र भनि तराइको दक्षिणी क्षेत्र नै हो । यो अवस्थामा केन्द्रमा जे जस्तो गठबन्धनका हल्लाहरू गरिए पनि स्थानीय तहमा त्यति सहज छैन ।