Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

केन्द्रीय समितिबाटै लिनेछ काँग्रेसले यी निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनका विषयमा पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबाट मात्रै निर्णय गर्ने भएको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले लक डाउनको २ महिनाको स्थिति समिक्षा, सीमा प्रश्नमा धारणा प्रष्टता, केन्द्रीय कार्यसमितिको बैठक बोलाउने लगायतको निर्णय गरेको छ । पदाधिकारी बाहेक बैठकमा विशेष आमन्त्रितका रुपमा नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, राष्ट्रिय सभामा प्रतिपक्षी नेता राधेश्याम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । आगामी जेठ १३ गते बस्ने प्रतिनिधिसभाको बैठकमा कानुनमन्त्री तुम्बाहाङ्फेले सैद्धान्तिक छलफलका लागि विधेयक पेस गर्ने छिन् । सरकारद्वारा संसदमा प्रस्तुत संविधान संशोधन सम्बन्धी विषयमा आवश्यक निर्णय गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय पदाधिकारी बैठकले गरेको छ । बैठकमा उक्त सहमति भए पनि बैठकको मिति भने तय भएको छैन । प्याकेजमै संविधान संशोधनका लागि वाताबरण बनाइ दिन शनिबार विहान ९ बजे जनता समाजवादीका नेताहरु काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नेपालको नयाँ नक्सा समावेस गर्न संविधान संशोधन गर्न गरिएको प्रस्तावको विषयमा केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय हुने विषयमा सहमति भएको बताए ।
यस्तै काँग्रेसले कोरोना भाइरसको विषयमा विषयान्तर भएको सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराउने, क्वारेन्टाइनको मापदण्ड अनुसार व्यवस्थापन गर्न सरकारलाई अपिल गर्ने निर्णय समेत गरेको छ । यस्तै कोरोना परीक्षण पीसीआर प्रविधिबाट मात्रै गर्न समेत माग गरेको छ ।