Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

कोरोनाबाट ८१८ संक्रमित, ३ को मृत्यु, उपत्यकामा १६६ संक्रमित

काठमाडौं । कोरोना संक्रमण भयावह बन्दै जाँदा आइतबार देशभर कोरोनाका ८ सय १८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको उनले जानकारी दिए। यीसहित हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन्। संक्रमितको कुल संख्यामा निको हुनेको संख्या ५८ प्रतिशत हो।

विगत २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हालसम्म ६ लाख ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ। त्यस्तै विगत २४ घण्टामा थप ३ जनामा मृतकमा कोरोना पुष्टि भएको छ। थप मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला छन्। हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। अब देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा १३ हजार १ सय ५५ सक्रिय संक्रमित छन्।

काठमाडौं उपत्यकामा १६६ जनालाई कोरोना
काठमाडौं उपत्यकामा थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।