Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनार जोडिएको विवादित अडियो प्रकरणमा थप अनुसन्धान अघि नबढ्ने संकेत देखिएको छ। सुनारले अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गर्नु र पीडित भनिएकी महिलाले समेत औपचारिक उजुरी नदिएपछि छानबिन समिति थप अनुसन्धान गर्ने विषयमा अन्योलमा परेको हो।
सुनारले एक महिलालाई हिंसात्मक शैलीमा गालीगलौज गरेको भनिएको अडियो गत असोज २६ गते सार्वजनिक भएको थियो। त्यसपछि रास्वपाले घटनाको छानबिन गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको थियो।
सुनारले उक्त अडियो आफ्नो नभएको दाबी गरेपछि पार्टीले प्राविधिक परीक्षण गर्नेसमेतको अख्तियारी दिएर असोज २७ गते आयोगका उपप्रमुख अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिले कात्तिक १२ गते सांसद सुनारसँग करिब चार घण्टा बयान लिएको थियो। अहिले समितिले अध्ययन, विश्लेषण र प्रतिवेदन लेखनको काम गरिरहेको छ। तिहारअघि नै अनुशासन आयोगलाई प्रतिवेदन बुझाउने तयारी रहेको समितिले जनाएको छ।
समितिका संयोजक भट्टराईले सुनारसँग बयान लिने काम सकिएको र अहिले निष्कर्षमा पुग्ने चरणमा रहेको बताए।
‘छानबिनको निष्कर्षमा पुग्न लागेका छौँ। अध्ययनको विश्लेषण र राय प्रतिवेदन निर्माणमा जुटेका छौँ। तिहारअघि नै हाम्रो पार्टीको आयोगलाई रिपोर्ट दिन्छौँ। अनुशासन आयोगले धेरै होल्ड गर्दैन होला,’ उनले भने।
समितिका एक सदस्यका अनुसार पीडित भनिएकी महिलाले सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्ताले थप अनुसन्धान अघि बढाउन कठिनाइ भएको छ। न्युज २४ ले ती महिलासँग गरेको अन्तर्वार्ताको भिडियो समितिलाई उपलब्ध गराएको थियो।
‘पीडित भनिएकी महिलाले मेरो आवाज होइन, मलाई नमुछिदिनुस् भन्ने खालको बयान दिएपछि हामीलाई थप अनुसन्धान गर्न समस्या भयो,’ ती सदस्यले भने, ‘उजुरकर्ता नभएपछि यो आवाज तेरै हो भन्दै कहाँसम्म जाने भन्ने भयो।’
सुनारले अडियो आफ्नो नभएको र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर बनाइएको दाबी गरेका थिए। त्यसपछि समितिले आवश्यक परे अडियोको प्राविधिक परीक्षण गर्ने बताएको थियो।
यसका लागि समितिले जनआस्थाले सार्वजनिक गरेको अडियोको सक्कल प्रति सम्बन्धित कार्यालयमै पुगेर प्राप्त गरेको थियो। न्युज २४ ले प्रसारण गरेको महिलाको अन्तर्वार्ताको भिडियोसमेत समितिले मगाएको थियो। समितिमा सूचना प्रविधि (आईटी) विज्ञ सन्तोष विसुङ्खे पनि सदस्य छन्। तर, अब अडियोको प्राविधिक परीक्षणसमेत नगर्ने अवस्थामा समिति पुगेको छ।
समितिका अर्का एक सदस्यले गोपनीयताको हक र कानुनी सीमाका कारण प्राविधिक परीक्षण अघि बढाउन समस्या भएको बताए।
‘आवाजको प्राविधिक परीक्षण गर्न कानुनी समस्या आयो। मेरो निजी कुरामा तपाईंहरू नबोल्नुस् भनेपछि अगाडि बढ्न सकिएन र रोकिनुपर्ने अवस्था देखियो। गोपनीयताको हक संविधानले पनि राखिदिएको छ,’ ती सदस्यले भने, ‘पीडित हुँदै उजुरी आएको भए सार्वजनिक कुरा हुन्थ्यो, कानुनको अधीनमा रहेर सोध्न पनि पाइन्थ्यो। तर, उहाँले उजुरी पनि नगरेको र मेरो बारेमा नबोल्नुस् भनेपछि हामी कुन हदसम्म जान मिल्ने हो भन्ने भयो। हामी सीमाबाहिर जान मिल्दैन।’
अडियो सार्वजनिक भएपछि सांसद सुनारले आफ्नो व्यवहार सुधार गरिसकेको विषयमा पनि समितिभित्र छलफल भएको एक सदस्यले बताए। पार्टीले उनलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएपछि उनी पछिल्लो समय सार्वजनिक रूपमा सक्रिय देखिएका छैनन्।
‘अनुशासनमा जाँदा मात्रै पनि माननीय सुनारजी धेरै हदसम्म करेक्सन भइसकेको देखिन्छ,’ समितिमा भएको छलफलबारे ती सदस्यले भने।
अन्तिम निर्णय रवि र बालेनको हातमा
रास्वपाका अधिकांश सांसदले सुनारको अडियो प्रकरणलाई सामान्य रूपमा लिन नहुने धारणा राख्दै आएका छन्। छानबिन समिति भने थप अनुसन्धान अघि नबढाउने निष्कर्षतर्फ उन्मुख देखिएको छ।
यद्यपि, समितिले प्रतिवेदनमा कस्तो राय दिन्छ र अनुशासन आयोगले के निर्णय गर्छ भन्ने विषयमा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहको भूमिका निर्णायक हुने रास्वपाका नेताहरू बताउँछन्।
समितिले जे निष्कर्ष दिए पनि अन्तिम निर्णय पार्टी नेतृत्वको चाहनाअनुसार हुन सक्ने उनीहरूको भनाइ छ।
रास्वपाका एक सांसदले भने सुनारमाथि कारबाही हुनुपर्ने पक्षमा आफूहरू रहेको बताए। अहिले कारबाही नगरे भविष्यमा यस्ता घटना दोहोरिन सक्ने भन्दै पार्टी नेतृत्वलाई सचेत गराउँदै आएको उनको भनाइ छ।
असोज २८ गतेदेखि काम सुरु गरेको समितिमा संयोजक भट्टराईसहित अधिवक्ता सुशीला सिम्खडा, अधिवक्ता उपेन्द्रनन्दन तिमल्सिना, अधिवक्ता सन्तोष आचार्य, रामचन्द्र कार्की र आईटी विज्ञ सन्तोष विसुङ्खे सदस्य छन्।
२०८३ कार्तिक १७
ताजा नेपाल
२०८३ कार्तिक १७
ताजा नेपाल
२०८३ कार्तिक १६
ताजा नेपाल