Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खाने बेलामा काँग्रेसमा कलह

काठमाडौं । अभागीलाई खाने बेलामा के जाति आउँछ भने जस्तै कम्युनिष्ट कलहको फाइदा उठाउँदै सत्ता सयर गर्ने अवसर पाएको काँग्रेस आन्तरिक खिचातानीमा फसेको छ । नेपाली कांग्रेसको १४ महाधिवेशनका बेलादेखि सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीचको सम्बन्ध ‘सुमधुर’ छैन। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवालमा कांग्रेस एक ढिक्का भएर उभिइरहे पनि पार्टीको आन्तरिक मामिलामा देउवा–कोइरालाबीचको सम्बन्ध तिक्तापूर्ण रहेको छ। केन्द्रीय समितिमा सदस्यहरूको मनोनयनदेखि भातृ संस्थाहरूको नेतृत्व चयनका विषयमा कोइराला पक्ष देउवा रूष्ट बन्यो। सभापतिमा निहीत अधिकार प्रयोग गरेर देउवाले केही महिनाअघि केन्द्रीय सदस्यहरू मनोनयन गरे।
उनले महाधिवेशनमा पराजित आफूनिकट नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गर्दा इतर समूहलाई बेवास्ता गरेको आरोप कोइराला पक्षको थियो। त्यस्तै केही भातृ संस्थाहरूको नेतृत्व मनोनित गर्दा पनि आफूहरूसँग सल्लाह नभएको भन्दै कोइराला पक्ष रूष्ट बन्यो। त्यही बेला बत्तीसपुतलीको अनुपम फुड ल्यान्डमा बसेको कोइराला पक्षको भेलाले सभापति देउवाले ‘एकलौटी’ गरेर अगाडि बढिरहेको निष्कर्ष निकाल्दै ‘रचनात्मक विद्रोह’ गर्ने निष्कर्ष निकालेको थियो।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा आगामी निर्वाचनमा जसरी पनि पाँचदलीय गठबन्धनसँग तालमेल गरेर जानुपर्ने पक्षमा छन्। हुनत सत्ता गठबन्धनसँग तालमेल गरेर चुनावमा जाने निर्णय कांग्रेस केन्द्रीय समितिले नै गरिसकेको छ। सत्ता गठबन्धनमा रहेका दलहरूसँग तालमेल गरी आगामी निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित हुने कांग्रेसको निर्णय छ।
केन्द्रीय समितिको यही निर्णयका आधारमा कोइराला पक्ष सत्ता गठबन्धनमा सिट बाँडफाँट गर्दा कांग्रेसले कम्तिमा १०० सिट लिनुपर्ने अडानमा छ। त्यो भन्दा कम सिट लिँदा पार्टीभित्रै आकांक्षीहरूलाई व्यवस्थापन गर्न चुनौति हुने कोइराला पक्षको भनाइ छ।
कांग्रेसले बढी सिट पाउँदा पार्टीभित्रको भागबन्डामा त्यही हिसाबले टिकट पाउने बुझाइ यो पक्षको छ। गठबन्धनभित्र कांग्रेसले कम सिट लिँदा भागबन्डामा आफूहरूको ‘हिस्सा’ कम हुने कोइराला पक्षलाई लागेको छ। कांग्रेसभित्र सुरूदेखि ६०–४० को भागबन्डा हुने गरेको छ। संस्थापन पक्षले ६० प्रतिशत पाउँदा इतर पक्षले ४० प्रतिशत पाउने गरेका छन्।
अहिले पनि कांग्रेसले पाउने कुल सिटको ४० प्रतिशत आफूहरूले पाउनुपर्ने कोइराला पक्षको नेताहरूको दाबी छ। गठबन्धनभित्र सिटको भागबन्डा मिल्न नसकिरहेको बेला कोइराला पक्षले आफूहरूले पाउनुपर्ने सिटका लागि निरन्तर देउवामाथि दबाब दिइरहेका छन्।
सिट बाँडफाँटका लागि सत्ता गठबन्धनभित्र ‘रस्साकस्सी’ चलिरहेकै बेला समानुपातिकतर्फको बन्दसूचीको विषयलाई लिएर कांग्रेसभित्रको असन्तुष्टिले ‘उग्र’ रूप लिने संकेत देखिएको छ। कांग्रेसभित्र यो असन्तुष्टि जन्माइदिएको छ, समानुपातिकको बन्दसूचीले। बन्दसूचीमा सभापति देउवाले एकलौटी गरेको आरोप इतर पक्षको छ र, त्यसैको विरोध गर्दै इतर पक्ष देउवाको विरोधमा प्रतिकारमा उत्रिने चेतावनी दिएको छ। इतर पक्षले आफूहरूलाई संस्थापन पक्षले उपेक्षा गरेको भन्दै खबरदारी सभा गर्न लागेको छ। कोइराला समूहले शनिबार दिउँसो १ बजे बानेश्वर ब्याङ्कवेटमा खबरदारी सभा गर्न लागेको त्यो समूहका एक नेताले जानकारी दिए।
नेता जगदिश्वरनरसिंह केसीले संस्थापन पक्षले पार्टीभित्र गरिरहेको एकलौटीको विरोधमा खबरदारी सभा गर्न लागेको बताए। सभापति देउवाले समानुपातिकतर्फको बन्दसूची बनाउँदा आफूहरूलाई उपेक्षा गरेको उनको आरोप छ। ‘समानुपातिकतर्फ सभापतिज्यूले एकलौटी गर्नुभयो। हाम्रो समूहका साथीहरूको नाम काट्ने काम भयो,’ केसीले भने,‘सभापतिले एकलौटी गरेपछि हामीले खबरदारी सभाको आयोजना गरेका हौं। पार्टीभित्र मनपरितन्त्र हावी भयो।’

खबरदारी सभाको आयोजना गरेर कोइराला पक्षले सभापति देउवामाथि दबाब सिर्जना गर्न चाहेको छ। अहिले दबाब दिँदा समानुपातिकतर्फको बन्दसूची सच्याउँदा आफ्नो समूहका नेता पर्न सक्ने र प्रत्यक्षतर्फको टिकट वितरण हुँदा सम्मानजनक भागेदारी पाउने बुझाइ कोइराला पक्षको छ। निर्वाचन आयोगले बन्दसूची सच्याउन दलहरूलाई असोज ९ देखि १६ गतेसम्मको समय दिएको छ। यस अवधिमा दलहरूले बन्दसूचीमा पठाइएका नाम हेरफेर गर्न सक्नेछन्।

त्यसो पनि प्रमुख राजनीतिक दलका अधिकांश नेताहरूले बन्दसूचीमा गएका नामहरू हेरफेर हुनसक्ने संकेत गरेका छन्। त्यसैले कोइराला पक्ष खबरदारी सभा गरेर देउवामाथि दबाब सिर्जना गर्न चाहिरहेका छन्। समानुपातिकमा आफ्नो समूहका नेता नपरे जस्तै प्रत्यक्षतर्फको टिकट वितरणमा पनि यस्तै हुनसक्ने भय कोइराला पक्षलाई छ। ‘समानुपातिक सूचीमा संस्थापन पक्षले एकलौटी ग¥यो। प्रत्यक्षतर्फको टिकटमा पनि एकपक्षीय गतिविधि हुने आशंका हामीलाई छ, सिंहले भने। गठबन्धन गरेर पार्टीले पाउनुपर्ने सिट अरू दललाई दिनु परिरहेकोमा पनि इतर समूह असन्तुष्ट देखिएको छ। एक्लै चुनावमा जाँदा कांग्रेसले मात्रै पाउने सिट अरू दललाई पार्टीकै नेताहरूलाई किनारा लगाउने काम भइरहेको यो पक्षको भनाइ छ।

‘अरू दललाई ८०–८५ सिट दिने अनि आफ्नै पार्टीका जिम्मेवार नेताहरूलाई पाखा लगाउने,’ केसीको प्रश्न छ,‘पार्टीभित्रको अर्को समूहलाई समान हैसियत दिनु पर्दैनरु’  सभापति देउवा छलफलका लागि आफूहरूलाई समय दिन नमानेको आरोप पनि कोइराला पक्षको छ। अरू पार्टीसँग लामो छलफल गर्ने गरेका देउवा आफूहरूसँग कुरा गर्न नचाहेको केसी बताउँछन्। ‘अरू दलसँग १८ घण्टासम्म मिटिङ गर्ने। आफ्नै दलका फरक समूहसँग १८ मिनेट पनि कुरा नगर्ने। त्यसैले खबरदारी सभा गर्न बाध्य भएका हौं,’ केसीले भने।


सम्बन्धित समाचार