Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

खोज तथा उद्धारका लागि ११ सदस्यीय दक्षिण कोरियाली टोली नेपाल आइपुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धारमा सहयोग गर्न दक्षिण कोरियाको ११ सदस्यीय विपद् राहत टोली बुधबार बिहान नेपाल आइपुगेको छ।

खोज तथा उद्धारमा विशेषज्ञता हासिल गरेको कोरियन डिजास्टर रिलिफ टिम (केडीआरटी) को टोली कोरियन विमानमार्फत नेपाल आएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार टोलीले खोज तथा उद्धारका लागि आवश्यक अत्याधुनिक उपकरण र उद्धारमा प्रयोग हुने तालिमप्राप्त कुकुरसमेत साथमा ल्याएको छ।

नेपाल आइपुगेको टोली बुधबार नै बाढी प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार अभियानमा सहभागी हुने तयारीमा छ।

बस्नेतका अनुसार कोरियाली टोलीसँगै नेपाली सेनाको टोली पनि संयुक्त रूपमा खोज तथा उद्धार कार्यमा खटिनेछ। यसबाट बाढी तथा पहिरोका कारण जोखिमपूर्ण बनेका क्षेत्रमा खोजी अभियान थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यसअघि नै चार सदस्यीय दक्षिण कोरियाली उद्धार टोली नेपाल आइसकेको थियो। उक्त टोली अहिले बाढी प्रभावित क्षेत्रमा परिचालन भएर खोज तथा उद्धार कार्यमा संलग्न रहेको नेपाली सेनाले जनाएको छ।

नौ कोरियाली नागरिक अझै सम्पर्कविहीन

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी नौ जना दक्षिण कोरियाली नागरिकसमेत सम्पर्कविहीन छन्।

बाढीपछि उनीहरूको अवस्था अज्ञात रहेकाले खोज तथा उद्धार अभियानमा दक्षिण कोरियाली टोलीको सहभागितालाई महत्वपूर्ण मानिएको छ।

भोटेकोशी बाढीले रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढी र पहिरोका कारण कतिपय क्षेत्रमा पहुँच कठिन बनेकाले नेपाली सुरक्षाकर्मी तथा विदेशी उद्धार टोलीले विशेष उपकरण र तालिमप्राप्त कुकुरको समेत प्रयोग गरी बेपत्ताको खोजी गरिरहेका छन्।

दक्षिण कोरियाली टोलीको आगमनसँगै प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको खोज तथा उद्धार क्षमता थपिएको छ। नेपाली सेना र कोरियाली उद्धार टोलीबीचको समन्वयबाट विशेषगरी भग्नावशेष, नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बेपत्ताको खोजीलाई तीव्र बनाउने तयारी गरिएको छ।