Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गगनलाई सभापतिमा सर्वसम्मति गराउने तयारी, पदाधिकारीमा भने रस्साकस्सी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिबाहेकका पदमा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनमा वर्तमान सभापति गगनकुमार थापा पुनः सभापतिमा सर्वसम्मत हुने अवस्था बन्दै गएको नेताहरूले बताएका छन्।

सभापतिका सम्भावित दाबेदार मानिएका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला महाधिवेशन प्रक्रियामा सहभागी नहुने निर्णयमा पुगेपछि थापाविरुद्ध प्रतिस्पर्धा हुने सम्भावना कमजोर बनेको हो।

गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति बनेका थापा नियमित महाधिवेशनमा पनि निर्विरोध दोहोरिने सम्भावना रहेको कांग्रेस नेताहरूको भनाइ छ।

‘थापासँग प्रतिस्पर्धा गर्ने तयारी छैन’

संस्थापन इतर समूह छाडेर सानेपा पुगेका नेताहरूले समेत सभापतिमा थापासँग प्रतिस्पर्धा गर्ने तयारी नरहेको बताएका छन्।

संस्थापन पक्षमा समाहित भएका नेता श्याम घिमिरेले आफूहरूमध्ये कसैले पनि थापाविरुद्ध सभापतिमा उम्मेदवारी दिने तयारी नगरेको बताए।

उनका अनुसार विशेष महाधिवेशनबाट आएका प्रतिनिधि तथा नेताहरूका लागि थापा स्वाभाविक रूपमा सभापतिको उम्मेदवार हुन्।

यस्तै, नेता सञ्जय गौतमले शेखर कोइरालाले आगामी महाधिवेशनमा सहभागी नहुने निर्णय गरेको बताए। शेखर पक्षका नेताहरू पनि तत्काल महाधिवेशन प्रक्रियामा सहभागी हुने सम्भावना न्यून रहेको उनको भनाइ छ।

पदाधिकारीका १६ पदमा प्रतिस्पर्धाको सम्भावना

कांग्रेसको नयाँ विधानअनुसार सभापतिसहित १७ जना पदाधिकारी रहने व्यवस्था छ। जसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री र एक कोषाध्यक्ष छन्।

सभापति थापा सर्वसम्मत हुने अवस्थामा बाँकी १६ पदमा प्रतिस्पर्धा हुने सम्भावना रहेको कांग्रेसका एक पदाधिकारीले बताए।

उनका अनुसार विशेष महाधिवेशनमा सहभागी भएका र नभएका नेताबीच पदाधिकारी चयनमा कुनै विशेषाधिकार नरहने भएकाले सबै पदमा प्रतिस्पर्धाको वातावरण बन्न सक्छ।

सभापति थापाको नेतृत्वमा पदाधिकारी चयन गर्दा विभिन्न समूहबाट आएका नेताहरूलाई समेट्ने प्रयास हुने ती पदाधिकारीको भनाइ छ।

पूर्वसहमहामन्त्रीहरू किशोरसिंह राठोर, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार र नैनसिंह महरलगायतलाई पदाधिकारीमा समेट्ने सम्भावनाबारे कांग्रेसभित्र चर्चा भइरहेको छ।

विशेष महाधिवेशनबाट आएका पदाधिकारीको अवस्था

विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे तथा सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर, डिला संग्रौला, बहादुरसिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशम्शेर राणा, प्रकाश रसाइली ‘स्नेही’ र मुक्ताकुमारी यादव चयन भएका थिए।

सभापति थापाले कोषाध्यक्षमा उमेश श्रेष्ठलाई निरन्तरता दिएका छन् भने देवराज चालिसेलाई प्रवक्ताको जिम्मेवारी दिएका छन्।

१४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्येका नेताहरू पनि अहिले संस्थापन पक्षमा रहेकाले आगामी पदाधिकारी चयनमा नयाँ र पुराना दुवै समूहलाई व्यवस्थापन गर्नुपर्ने चुनौती थापासामु रहने नेताहरू बताउँछन्।

पुराना समूहका नेताको व्यवस्थापन चुनौती

२०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनमा १३३ जना निर्वाचित केन्द्रीय सदस्यमध्ये ठूलो हिस्सा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट निर्वाचित भएको थियो। पछि मनोनयनबाट समेत देउवा पक्षका नेताहरू केन्द्रीय समितिमा थपिएका थिए।

तर पछिल्लो राजनीतिक घटनाक्रमपछि देउवा पक्षका धेरै नेता संस्थापन पक्षमा फर्किएका छन्। अहिले निवर्तमान केन्द्रीय सदस्यमध्ये करिब ३० जना मात्रै आगामी महाधिवेशनमा सहभागी नहुने पक्षमा रहेको बताइएको छ। शेखर कोइरालासहित थप केही नेता पनि महाधिवेशनमा सहभागी नहुने निर्णयमा पुगेका छन्।

यसले सभापति थापालाई पदाधिकारी चयन गर्दा विभिन्न समूह र भूगोलबीच सन्तुलन कायम गर्नुपर्ने अवस्था सिर्जना गरेको कांग्रेस नेताहरू बताउँछन्।

समानान्तर महाधिवेशनको तयारी पनि जारी

कांग्रेसको संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन, असोज ७ गते पालिका अधिवेशन, असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन र असोज १६ देखि १९ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने कार्यतालिका अघि बढाएको छ।

तर असन्तुष्ट नेताहरूले भने छुट्टै कार्यतालिकाअनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारी गरिरहेका छन्।

पूर्वमहामन्त्री प्रकाशशरण महतले दुवै पक्षको महाधिवेशन प्रक्रिया रोक्दै संवादबाट विवाद समाधान गर्न आफूहरूले प्रस्ताव गरे पनि सहमति नभएपछि आफूहरू छुट्टै महाधिवेशनको तयारीमा अघि बढेको बताएका छन्।

एकताको सम्भावना अझै कायमै रहेको दाबी

यद्यपि कांग्रेसभित्र पार्टी एकताको सम्भावना पूर्ण रूपमा समाप्त नभएको संस्थापन पक्षका नेताहरूको दाबी छ।

सहमहामन्त्री योगेन्द्र चौधरीले असोज १६ गतेसम्म सहमतिको सम्भावना कायमै रहेको बताएका छन्। उनका अनुसार वडा अधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेट्ने विषयमा समेत निर्णय गर्न सकिने अवस्था छ।

सभापति गगन थापाले पनि पूर्वसभापति शेरबहादुर देउवालाई महाधिवेशन उद्घाटनमा सहभागी हुन आग्रह गरेका छन्। केन्द्रीय समिति बैठकमा थापाले देउवाले महाधिवेशन उद्घाटन गरिदिए आफूहरूका लागि सम्मानको विषय हुने बताएका थिए।

जिल्ला र प्रदेश अधिवेशनका क्रममा पार्टीभित्र थप छलफल गर्ने वातावरण बन्न सक्ने भन्दै थापाले सकेसम्म कांग्रेसको एकताका लागि पहल गर्ने बताएका छन्।

यससँगै १५औँ महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाभन्दा बढी ध्यान अब पदाधिकारी चयन, विभिन्न समूहको व्यवस्थापन र पार्टीभित्रको एकता कायम गर्ने प्रयासमा केन्द्रित हुने देखिएको छ।