Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुण्डुमा भूमिगत प्यानल

काठमाडौं । आफ्नो विकल्प नभएको पुष्टि गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लागेका छन् । उनको चाहना सर्वसम्मत अध्यक्ष हुने भए पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दिएको चुनौतीलाई सहजै परास्त गर्ने तयारीमा लागेका छन् । आफ्ना विश्वासपात्रलाई मात्र राखेर आगामी कदमबारे जानकारी दिने उनको बानी रहेको छ । तर, एघारौँ महाधिवेशन नजिकै आइसक्दा पनि यसपटक ओलीले त्यो टोली सक्रिय पारेका छैनन्। जबकि, महाधिवेशन आउन अब ७ दिनमात्र बाँकी छ। महाधिवेशनमा पदाधिकारी बन्नको लागि ३० बढी नेताको दाबी छ। उनीहरूले भटाभट उम्मेदवारी घोषणा गरिरहेका छन्। संकटको समयमा आफूलाई साथ दिएका नेतालाई जिम्मेवारी दिनुपर्ने त छँदैछ। नयाँलाई समेत बढुवा गर्नुपर्ने दबाब ओलीमाथि बढ्दैछ। त्यसमाथि, यसपटक उनलाई टक्कर दिन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मैदानमा उत्रिएका छन्। पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ छ। उनीहरू दुवै जनाले आठौँ महाधिवेशनमा ओलीकै पक्षबाट उपाध्यक्ष र महासचिव जितेका हुन्। पोखरेल त दसौँ महाधिवेशनसम्म ओलीकै खेमाबाट वरिष्ठ उपाध्यक्ष चुनिएका हुन्। अर्थात् लामो समय सहकार्य गरेका नेताले आफूविरुद्ध चुनौती प्रस्तुत गरेपछि ओलीले कस्तो रणनीति लिन्छन् भन्ने चासो छ। तर, यसपटक ओलीले के गर्दैछन् भन्ने कुरा धेरै नेतालाई सुइँको दिएका छैनन्। यही कारण ओलीको सम्भावित कदमबारे नेताहरू खुल्न चाहँदैनन्। यद्यपि, ओली भने भक्तपुरस्थित गुण्डु निवासमै बसेर नेताहरूको नामावली तयार पार्दैछन्। आफ्नो समर्थनमा बोलेका, सामाजिक सञ्जालमा सकारात्मक धारणा व्यक्त गरेका, अन्तर्वार्ताहरूमै आफ्नो कदमको बचाउ गरेका नेतालाई ओलीले अवसर दिने निकटस्थ एक नेताले बताए। महाधिवेशनको उद्घाटन सत्र मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुँदैछ। त्यसपछि बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुनेछ। ओलीले दुई दिनमा बन्दसत्र सम्पन्न गर्न चाहेका छन्। जेनजी आन्दोलन ठिक अघि भदौमा विधान महाधिवेशन गरेर परिवर्तन गरिएको पार्टी विधान ‘नेताहरूको व्यवस्थापन गर्न’ भन्दै फेरि अहिले लगभग पुरानै अवस्थामा ल्याउने तयारी भएको छ। नेताहरूका अनुसार पहिला विधान संशोधनमाथि ओलीले छलफल गराउन सक्छन्। गत भदौ २०–२२ को विधान महाधिवेशनले एमालेको पदाधिकारी संख्या घटाउने, स्थायी समिति नराख्ने र केन्द्रीय समितिको आकार घटाउने निर्णय गरेको थियो। तर, आफ्नै निकटस्थ नेताको व्यवस्थापन गर्न समस्या पर्ने भएपछि ओलीले विधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेका छन्। पदाधिकारी बढाउने प्रस्ताव आएमा विद्या–ईश्वर समूहले पनि साथ दिनेछ। ओली पक्षमा नअटेर असन्तुष्ट भएका नेता तान्न सकिने यो समूहको बुझाइ छ। तर, ओलीले असन्तुष्ट नेतालाई अर्को समूहमा खुल्ने अवसर नै नदिनेगरी कार्यतालिका बनाउँदैछन्। यसो गर्दा कुनै समितिमा नपरेर असन्तुष्ट बनेका नेताले तत्कालै प्यानलमा जाने मौका नपाउने ओली पक्षको बुझाइ छ। उपाध्यक्ष रामबहादुर थापाले शुक्रबार ओलीविरुद्ध उम्मेदवारी घोषणा गर्दै हिँड्न उपयुक्त नभएको बताए। विद्या–ईश्वर पक्षले ओलीको कदम हेरेर मात्र प्यानल बनाउने रणनीति बनाएको छ। यही कारण पनि ओलीले बन्दसत्र सुरु भएको केही घण्टापछि मात्र प्यानल बनाएर उम्मेदवारी घोषणा गर्न सक्ने नेताहरूको भनाइ छ। एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले मतदानका लागि विद्युतीय मेसिन प्रयोग गर्ने बताए। यसपटकको महाधिवेशनमा २२७५ प्रतिनिधिले सहभागिता जनाउने उनले बताए। दसौँ महाधिवेशनमा पनि ओलीले सूची बनाएर नाम पढेका थिए। तर, त्यसमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष भीम रावल, घनश्याम भुसाल लगायतका नेताले माग गरेपछि चुनाव गरिएको थियो। त्यसबेला रावलले पाएको मतले ओलीलाई झस्काएको थियो। झन् अहिले त सुरुदेखि नै विद्या–ईश्वर समूह बनिसकेको छ। महासचिव शंकर पोखरेलले सकभर सहमति र नभए प्रतिस्पर्धा हुने बताएका छन्।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल