Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

गुरु गोरखनाथबारे खोजमूलक कृति

सुपरिचित लेखक तथा विश्लेषक श्री अर्जुन ज्ञवालीले मेहनतसाथ तयार गर्नुभएको महायोगी गुरm गोरखनाथ र नेपाल पुस्तकको पाण्डुलिपि सर्सर्ति पढ्ने अवसर प्राप्त भयो । पौरस्त्य समाजमा महासिद्ध गुरm गोरखनाथको योगदान, महत्ता वैशिष्ट्यमाथि प्रकाश पार्न पुस्तक सफल छ भन्ने म ठान्दछु । यस्तो गहन र पठनीय कृतिको निर्माण गर्नुभएकोमा अर्जुनजीलाई हार्दिक वधाई दिन चाहन्छु ।

विश्वका धेरै देशमा नेपाललाई चिनाउने अर्को शब्द हो “गोर्खा” । गो+रक्षा अर्थात् गाईको रक्षा गर्ने हुनाले गोर्खा÷गोरख भनिएको हो । गाई सनातन सँस्कृति र सभ्यताको प्रतीक हो । एकीकरणपछि नेपाल नाम बढी प्रचलित भयो । संसारमा फिरङ्गी साम्राज्य फैलँदा पनि यो देश निरन्तर स्वतन्त्र÷सार्वभौम नै रह्यो, उपनिवेश भएन । त्यसैले बडामहाराजबाट यसलाई “असली हिन्दुस्थाना” हुकूम भयो । यो मौलिकता कायम राख्न राष्ट्रगुरू गोरखनाथको आशीर्वाद र प्रभाव रहेको तथ्य सर्वविदितै छ ।

पछिल्लो समयमा नेपाली राष्ट्रियताको जग हल्लँदै गयो । शासकहरु विधर्मतिर उन्मुख भए । धर्म र संस्कृतिको अनादर बढेर गयो । ऋषि–महर्षि, साधु–सन्त, प्रेरक महापुरुषहरु, गुरmजन–मान्य जनहरुका वचन र उपदेशहरु तिरस्कृत हुन थाले । आदर्श मूल्य–मान्यताहरु लत्याइए । यसै क्रममा गुरू गोरखनाथको महिमा र अवदानलाई पनि ओझेलमा पारियो । आज त तिनको चर्चा गर्नुपनि अपराधसरह मानिन्छ, सत्तामत्तहरुका दृष्टिमा । फलतः हाम्रा समग्र आदर्श र धरोहरहरु दिनप्रतिदिन लुप्त हुँदै जाने खतरा बढिरहेको छ ।

यस परिप्रेक्ष्यमा संस्कृति र राष्ट्रियताका मर्मज्ञ अर्जुन ज्ञवालीले गुरू गोरखनाथका उपदेश र योगदानलाई सुरक्षित गर्ने पावन मनसायले यो गहकिलो पुस्तक तयार पार्नु भएको छ । यसले एकातिर सिद्ध गुरू गोरखनाथले नेपाल राष्ट्रलाई दिनुभएको देनमाथि प्रकाश पार्नेछ भने अर्कातिर समग्र पूर्वीय चिन्तनधारामा नाथ सम्प्रदायको प्रभाव र गरिमा स्पष्ट पार्नेछ । भोलिका अनुसन्धातालाई यो सामग्री अत्यन्तै उपयोगी ठहरिनेछ । लेखक ज्ञवाली विषयको गहिराइमा पुगेर विश्लेषण गर्न खप्पिस हुनुहुन्छ । उहाँ वामपन्थी आन्दोलनको पृष्ठभूमिबाट खारिंदै आएको हुनाले पनि हक्की स्वभावका हुनुहुन्छ र दर्शन र संस्कृतिमाथि खरो विचार राख्नुहुन्छ । त्यसैले जाति, भाषा, सम्प्रदाय, प्रदेशको जञ्जालमा परेर कठिन अवस्थाबाट गुज्रिरहेको राष्ट्रको परिस्थिति दृष्टिगत गर्दै उहाँले यो विषय छान्नुभएको हुनुपर्दछ ।

यस पुस्तकमा श्रीगोरखनाथ सम्बन्धी विविध पक्षमाथि विवेचन गर्नुका साथै लेखकले अनेक सामग्री उद्धृत गरी समावेश गर्नुभएको छ । वास्तवमा यो उदाहरणीय कार्य हो । पुस्तक पठनीय, मननीय र संग्राह्य छ । लोप हुन लागेका ऐतिहासिक राष्ट्रिय महत्वका सामग्री प्रकाशमा ल्याउने प्रेरणा यसबाट अरुले पनि पाउनेछन् । योगी नरहरिनाथले धेरै सामग्री सङ्कलित र प्रकाशित गरिदिनुभएकाले ठूलो मद्धत मिलेको छ । यस पुस्तकका स्वयितबाट अरु पनि यस्ता महत्त्वपूर्ण कृति अभिलेखित र प्रकाशित हुँदै जाउन् भन्ने आशा र विश्वासका साथ प्रस्तुत प्रकाशनको पूर्ण सफलताको कामना गर्दछु ।