Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकामा उङगिलुङ खोलाबाट बूढीगण्डकी नदीमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल र आरुघाटको सोती–मान्बु जोड्ने पुल बगाएको छ। चुमनुब्रीका पैयू र बगर गाउँका ३५ घरसमेत बगेका छन्।
गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार बाढीले माछीखोला बजारमा समेत क्षति पुर्याएको छ। उङगिलुङ खोला किनारमा रहेका चारवटा गोठ र त्यहाँ बाँधिएका १५ वटा याक तथा नाक बगेका छन्। पशुको हेरचाहमा रहेका चार जना गोठाला भने सम्पर्कविहीन छन्।
त्यसैगरी, बूढीगण्डकी नदीमा आएको बाढीले चुमनुब्री गाउँपालिकाका पैयू र बगर गाउँका ३५ घर बगाएको छ। दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा पनि व्यापक क्षति भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्।
आइतबार बिहान करिब ४ बजे बाढी गाउँमा पसेपछि स्थानीय बासिन्दा सुरक्षित स्थानतर्फ भागेका थिए। बाढीको जोखिम बढेपछि सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक आकाश कँडेलले बताए।
हालसम्म बाढीबाट मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। भौतिक क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी छ।
नेपाली सेनाका अनुसार चुमनुब्री गाउँपालिका–३ स्थित फिलिममा पहिरोका कारण बूढीगण्डकी नदी थुनिएको थियो। पहिरोले बनाएको अवरोध खुलेपछि लेदो र गेग्रानसहित अचानक ठूलो बाढी आएको सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई र स्थलमार्गबाट परिचालन गरिएको छ। प्रभावित क्षेत्रको रेकी तथा अवलोकन गर्ने क्रममा पहिरोको जोखिममा रहेको जगत् क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ।
काठमाडौंमा रहेको संयुक्त द्रुत उद्धार टोलीसमेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा पुगेको छ। सेनाको टोलीले नदी तटीय तथा आसपासका क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित र उच्च स्थानमा जान आग्रह गरिरहेको छ।
सम्पर्कविहीन चार गोठालाको खोजी तथा बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
२०८३ आश्विन २५
ताजा नेपाल
२०८३ आश्विन २५
ताजा नेपाल
२०८३ आश्विन २५
ताजा नेपाल