Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

घण्टीसँगै हर्न पनि बज्न थालेपछि…

काठमाडौं । राजनीतिमा आफ्नो विकल्प छैन भन्नेहरुको दिमागमा अहिले घण्टीसँगै हर्नको आवाज गुञ्जिन थालेको छ । स्थापनाको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा कान्छो पार्टी हो। ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनपछि मात्रै रवि लामिछानेले यो पार्टी गठन गरेका हुन्। ‘देश बदल्नका लागि राजनीतिक दल आवश्यक’ हुने भन्दै रविले २०७९ असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे। निर्वाचन आयोगमा दल दर्ता गराउँदै गर्दा यो पार्टीले चुनाव चिह्न घण्टी रोज्यो। रविको राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा केही वर्षअघि अलग मधेस राष्ट्रको माग गर्दै अगाडि बढाइरहेका ‘पृथकतावादी’ आन्दोलनलाई विश्राम दिएर सिके राउतले जनमत पार्टी स्थापना गरे।
नासामा वैज्ञानिकको काम छाडेर आएका सिकेले केही दिन ‘पृथकतावादी’ आन्दोलन चलाएर चर्चा बटुल्न सफल भए। तर, उनको त्यो विचार र दृष्टिकोणले बढी समर्थन पाएन। यहाँसम्म कि मधेसमै पनि। अन्ततः ‘पृथकतावाद’ लाई विराम दिएर सिके खुला राजनीतिमा अवतरण गरेर २०७४ चैत ४ गते जनमत पार्टी गठन गरे। यो पार्टीले चुनाव चिह्न ‘हर्न’ रोज्यो। ३० वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा भाग लिएको यो पार्टीले सप्तरीको एक पालिकामा नेतृत्व जित्न सफल भयो। मधेसका अरू जिल्लाहरूमा यो पार्टीका उम्मेदवारहरूले मत बटुले पनि ठूलो सफलता हासिल गर्न सकेन। तर, ४ मंसिरमा सम्पन्न आमनिर्वाचनमा काठमाडौंमा ‘घण्टी’ र मधेसमा ‘हर्न’ बज्दा पुराना र परम्परागत पार्टीका ‘दिग्गज’ नेताहरूलाई सकस पारिदिएको छ। नयाँ जन्मिएका राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ र जनमत पार्टीको ‘हर्न’ बज्न थालेपछि स्थापित पार्टीका पुराना नेताहरू यसपालिको चुनावमा पछारिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ बजेपछि काठमाडौंमा नेकपा एमाले खुम्चिएको छ भने माओवादी केन्द्र, नेकपा९एकीकृत समाजवादी० लगायतका दलहरू प्रतिस्पर्धामा समेत आउन सकेनन्।
यद्यपि नेपाली कांग्रेस भने एक सिट बढाउन सफल भएको छ। २०७४ सालको निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा एमाले विजयी भएको थियो। बाँकी ४ मा कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए। त्यो निर्वाचनमा एमालेले क्षेत्र नम्बर २, ३, ५, ७, ८ र ९ मा विजयी भएको थियो। २ मा माधवकुमार नेपाल, ३ मा कृष्णबहादुर राई, ५ मा इश्वर पोखरेल, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ र ९ मा गोपालकृष्ण श्रेष्ठ निर्वाचित भएका थिए।
यसपालि माधवकुमार नेपाल र जीवनराम श्रेष्ठ एमाले विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी बाट चुनाव लडेका थिए।
यीमध्ये एमालेले निर्वाचन क्षेत्र नम्बर ९ मात्रै जोगाउन सकेको छ। यो क्षेत्रबाट पुनः कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन्।
बाँकी क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेसका उम्मेदवार विजयी भएका छन्। यसपटक काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले ३ क्षेत्र जितिसकेको छ भने एउटामा अग्रता लिएको छ। यो पार्टीबाट क्षेत्र नम्बर २ मा सोविता गौतम, क्षेत्र नम्बर ७ मा गणेश पराजुली र क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै शिशिर खनाल जित नजिक छन्। पहिलोपटक संसदीय निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले काठमाडौंका पुराना एवं दिग्गज नेताहरूलाई माथ दिएका छन्। कांग्रेसका तर्फबाट क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह, ३ मा सन्तोष चालिसे, ४ मा गगनकुमार थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्।
२०७४ मा जितेको निर्वाचन क्षेत्र नम्बर ६ कांग्रेसले यसपालि गुमाएको छ। अघिल्लोपटक चुनाव जितेका कांग्रेसका भिमसेनदास प्रधान फेरि प्रतिस्पर्धा गरेका थिए। तर, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई उछिन्न सकेनन्। क्षेत्र नम्बर १ मा पुरानै अनुहारबीच भएको मुख्य प्रतिस्पर्धामा कांग्रेसका प्रकाशमान सिंहले बाजी मारे। २०७४ सालको निर्वाचनमा ८१८ मतान्तरले रवीन्द्र मिश्रलाई पराजित गरेका प्रकाशमानले यसपालि मतान्तरलाई झनै घटाउँदै १२५ मतले मात्रै जित निकाल्नसके।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बलमे ४ हजार ११५ मत ल्याएका छन्। यस्तै काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले एमालेका मणिराम फु्याललाई धक्का दिएकी छन्। सोवित १५ हजार २२९ मत ल्याएर यो क्षेत्रबाट विजयी भएकी छन्। यस क्षेत्रबाट राप्रपाकी उम्मेदवार कुन्तीदेवी पोखरेल तेस्रो स्थानमा रहँदा सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी ओनसरी घर्ती चौथौं स्थानमा सीमित हुनुप¥यो। काठमाडौं ३ मा कांग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मत ल्याएर निर्वाचित भएका छन्। उनीसँग प्रतिस्पर्धामा रहेका एमालेका कृष्णकुमार राईले ११ हजार १९६ मत प्राप्त गरेका छन्। तेस्रो भएका माओवादी केन्द्रका बद्रिप्रसाद बजगाईंले ५१८ मत पाए।
क्षेत्र नम्बर ४ मा जित निकाल्दै कांग्रेस महामन्त्री गगन थापाले ह्याट्रिक गरे। गगनले पुरानै प्रतिस्पर्धी एमालेका राजन भट्टराईलाई पराजित गरेका छन्।
क्षेत्र नम्बर ५ मा एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका ईश्वर पोखरेल कांग्रेसका युवा नेता प्रदीप पौडेलबाट पराजित भए। प्रदीपले १५ हजार २३७ मत ल्याउँदा ईश्वर १० हजार १७५ मतमै सीमित भए। यो क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरूको बाढी थियो। स्वतन्त्र उम्मेदवारहरूले खासै प्रदर्शन गर्न नसके पनि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणा ३ हजार १५५ मत ल्याएर तेस्रो स्थानमा रहे। क्षेत्र नम्बर ७ को चुनावी परिणाम झनै रोचक छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले पुराना र स्थापित दलहरूलाई पछाडि मात्रै पारेनन्, गठबन्धनका साझा उम्मेदवारलाई समेत प्रतिस्पर्धामा आउन दिएनन्।
८ हजार ७४३ मत ल्याएर पराजुली जित निकाल्दा एमालेका श्याम घिमिरेले ६ हजार ८ सय मत पाए। पाँचदलीय सत्ता गठबन्धनकी उम्मेदवार मानुषीयमी भट्टराई ६ हजार ६३ मतमै समेटिए। यस्तै पूर्वमन्त्रीसमेत रहेका जसपाका राजेन्द्र श्रेष्ठ २ हजार ४६१ मतमा सीमित भए। क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका विराजभक्त श्रेष्ठले स्थापित दलहरूलाई प्रतिस्पर्धामै आउन दिएनन्। १० हजार १०५ मत ल्याएर विराजभक्त निर्वाचित हुँदा हाम्रो नेपाल पार्टीका सुमन सायमी ६ हजार १७४ मत ल्याएर दोस्रो भए। पर्यटनमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ ४ हजार २६६ मत ल्याएर तेस्रो भए। काठमाडौं ९ र १० मा फेरि पुरानै अनुहार आएका छन्।
९ बाट नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ र १० मा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्। काठमाडौंमा मात्रै होइन अन्य जिल्लाहरूमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले पुराना र स्थापित पार्टीका नेताहरूलाई चुनौती दिइरहेको देखिन्छ। काठमाडौंको तीनवटा निर्वाचन क्षेत्रमा विजयको झन्डा फहराइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवा लालविक्रम थापाले सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा अग्रता लिएका छन्। त्यस्तै ललितपुर निर्वाचन क्षेत्रमा तोसिमा कार्कीको अग्रता निरन्तर कायम छ। चितवन क्षेत्र नम्बर २ मा यो पार्टीका अध्यक्ष रवि लामिछाने निरन्तर अगाडि छन् भने क्षेत्र नम्बर १ मा हरि ढकालले अग्रता कायम राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको ‘घण्टी’ जस्तै मधेस प्रदेसमा जनमत पार्टीको ‘हर्न’ बजेपछि स्थापित पार्टीका दिग्गज नेताहरूलाई ‘धक्का’ लाग्ने देखिन्छ। पहिलोपटक संसदीय निर्वाचन लडेका यो पार्टीका अध्यक्ष सिके राउतले ‘हेभिवेट’ कहलिएका जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवलाई निरन्तर पछाडि पारिरहेका छन्।
मतगणनाको पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादव जनमतका अध्यक्ष राउतभन्दा दोब्बर मतले पछाडि छन्। २०६४ सालमा भएको मधेस आन्दोलनपछि राजनीतिमा उदाएका यादवले अहिलेसम्म चुनावमा हार बेहोरेका छैनन्। तर, यसपटक भने उनलाई सिकेले लगभग हारको नजिकसम्म पु¥याइ दिएका छन्। मतगणनाको अन्तिम परिणाम घोषणा हुन बाँकी रहे पनि रूझानलाई हेर्ने हो भने यसपालि प्रतिनिधिसभासम्म पुग्ने उपेन्द्रको बाटो लगभग बाटो बन्द हुने देखिन्छ। उपेन्द्र जोखिममै रहेका बेला जनमत पार्टीका तीन जना उम्मेदवार प्रदेससभा सदस्यमा निर्वाचित भइसकेका छन्।
उपेन्द्रले प्रतिस्पर्धा गरिरहेको सप्तरी क्षेत्र नम्बर २ को प्रदेससभा १ र २ बाट जनमत पार्टीका उम्मेदवार जितेका छन्। प्रदेससभा क्षेत्र नम्बर १ मा जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेस सरकारका अर्थमन्त्रीसमेत रहेका जसपा नेता शैलेन्द्र साहलाई पराजित गरेका छन्। त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ मा महेसप्रसाद यादवले सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका उमेश यादवलाई पराजित गरे। सप्तरी क्षेत्र नम्बर ३९२० मा पनि जनमत पार्टीका उम्मेदवार शम्भुकुमार साह प्रदेससभा सदस्यमा निर्वाचित भएका छन्। उनले निवर्तमान प्रदेससभा सदस्यसमेत रहेका जसपा नेता विश्वेश्वरप्रसाद यादवलाई पराजित गरेका छन्।
पुराना र स्थापित पार्टीको ‘फरफर्मेन्स’ बाट जनता असन्तुष्ट भएपछि नयाँ आएका पार्टीहरू उदाउन थालेको कतिपय विश्लेषकहरूको बुझाइ छ। परम्परागत पार्टीहरूले जनताको भावनाअनुसार काम गर्न नसक्दा नयाँ जन्मिएका दलहरू जनतामाझ लोकप्रिय भइरहेको राजनीतिक विश्लेषक सुरेन्द्र लाभ बताउँछन्। अहिले देखिएको मतपरिणामले स्थापित भइसकेका पुराना दलहरूलाई आफ्नो बाटो ठीक भएको नभएको सोच्न सन्देश दिएको उनको भनाइ छ। ‘चुनाव भनेको हारजितमात्रै होइन, मतले के सन्देश दिएको त्यो महत्वपूर्ण विषय हो,’ उनी भन्छन्,‘राजनीतिक दल र नेताले आफ्नो बाटो ठीक थियो कि थिएन सोच्नुपर्ने संकेत अहिलेको भोटिङ ट्रेन्डले दिएको छ।’
लाभले यसपालिको मतदान र चुनावको परिणामले पुराना राजनीतिक दलहरूलाई आफ्नो भूमिका र कर्तव्यका लागि सोच्नैपर्ने सन्देश दिएको बताए। ‘राष्ट्रिय स्वतन्त्र पार्टीको होस् वा जनमत पार्टीको वा स्वतन्त्र उम्मेदवारको मतले राजनीतिक दलहरूलाई आफ्नो भूमिकाबारे सोच्नुपर्ने प्रष्ट संकेत दिएको छ,’ उनले भने।